राजनीतिक पार्टी निकट पत्रकारहरु तितरवितर

राजनीति समाचार

काठमाडौं । नेपालमा राजनीतिक दल जति जन्मिन्छन् त्यसका भ्रातृ तथा सुभेच्छुक संघसंगठन पनि त्यत्तिकै जन्मिँदै जान्छन् । त्यसरी जन्मिएका संगठनहरुले पार्टीको लागि मरिमेट्ने भन्दा पनि व्यक्तिगत स्वार्थतिर केन्द्रित हुँदै जान्छन् । चाहे त्यो पेशागत महासंघ होस्, चाहे कर्मचारी संगठन होस् अथवा पत्रकारहरुको संगठन होस् ।

यसरी जन्मिएका भ्रातृ तथा सुभेच्छुक संघ, संगठनहरुले सधैं पार्टी विस्तार गर्नको लागि मरिहत्ते गर्नुभन्दा पनि आफू कसरी पदमा पुग्ने भनेर लागिपर्ने गरेको देखिन्छ । यतिबेला यस्तै उदाहरण बनेको छ, नेकपा एकीकृत समाजवादी पार्टी निकट पत्रकारहरुको छाता संगठन ‘समाजवादी प्रेस संगठन नेपाल’ । त्यस ‘समाजवादी प्रेस संगठन नेपाल’ले यही जेठ २६ र २७ गते प्रथम राष्ट्रिय भेला काठमाडौंको थापा गाउँमा सम्पन्न गरेको छ ।

भरखरै प्रथम राष्ट्रिय भेला सम्पन्न गरेसँगै ‘समाजवादी प्रेस संगठन नेपाल’ भित्र स्पष्ट दुईदेखि तीन गुट देखिएको थियो । सो प्रथमले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि दुई, तीन गुट बनेर निर्वाचनमा होमिएको थियो । दुई, तीन बनेर निर्वाचनमा होमिएको भएपनि प्रतिस्पर्धा भने संस्थापन र इतरपक्ष दुई गुटको भएको थियो । दुई गुटको प्रतिस्पर्धा भएपनि संस्थापन पक्ष कमजोर देखिएको थियो । यसले के देखाउँछ भने भर्खरै जन्मिएको ‘समाजवादी प्रेस संगठन नेपाल’भित्र पनि संगठनलाई अनुशासित, विधिसम्वत र प्रेस स्वतन्त्रताको पक्षमा लड्ने भन्दा पनि व्यक्तिगत स्वार्थको लागि लाग्ने भिड नै हावी भएको देखियो ।

त्यसो हुँदा पाँचदलीय गठबन्धन गरेर चुनावमा होमिएको एकीकृत समाजवादी पार्टीले दश सिटमा प्रत्यक्षतर्फ जित हासिल गर्न सफल भएको थियो तर समानुपातिक मत कम आउँदा राष्ट्रिय पार्टी बन्न सकेको थिएन । एकीकृत समाजवादी पार्टी यो अवस्थामा आइपुग्दा पनि नेतृत्वले ध्यान दिन सकेको छैन । यसो हेर्दा चाहे समाजवादी प्रेस संगठन होस्, चाहे एकीकृत सहकारी कर्मचारी संगठन होस् चाहे पेशागत महासंघ होस् ।

त्योसँगै एकीकृत समाजवादी पार्टीको संघसंगठन हेर्दा र त्यसमा रहेका पदाधिकारीहरुले संगठनलाई बलियो बनाउँछन् भन्ने कुनै आधार देखिँदैन । किन कि अहिले जुनसुकै पेशा, व्यवसायमा आवद्ध संगठनलाई हेर्दा पनि व्यक्तिगत स्वार्थ बोकेका व्यक्तिहरु हावी भएको पाइन्छ । यो रोग सामाजवादी प्रेस संगठनमा मात्रै नभएर नेकपा एमाले निकट पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपाल, नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन, माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाललगायतका संघसंगठन भित्रपनि पेशागत मर्यादा र पार्टी संगठनलाई बलियो बनाउने भन्दा व्यक्तिगत स्वार्थमा लाग्नेहरुकै भिड हावी भएको देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *