समाजवादी मोर्चाले गर्ला त चमत्कार ?

राजनीति समाचार

अधिकांश दलका कार्यकर्ता स्वतन्त्रतिर आकर्षित
काठमाडौं । नेपाली कांग्रेस र वामपन्थी शक्तिहरु मिलेर २००७ सालमा राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध डलेका थिए । यसरी लड्ने क्रममा उनीहरुले राणाशासन र पञ्चायती व्यवस्था ढालिदिएका थिए । २०१५ सालर्मा बहुमत ल्याएर नेपाली कांग्रेसले सरकार पनि चलायो । २०१७ सलामा राजा महेन्द्रले कांग्रेस ढालेर नेता प्रतिवन्ध लगाए ।

त्यसपछि कांग्रेस र कम्युनिस्ट मिलेर ०४६ मा बहुदलीय व्यवस्था पुनःस्थापना गराए । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि नेपालमा विभिन्न विचार बोकेका दलहरु दर्ता गर्ने क्रम सुरु भयो । अहिले २०८० सालसम्म आइपुग्दा पनि नयाँ–नयाँ विचार बोकेका दलहरु विभिन्न नाममा दल दर्ता गर्ने क्रम जारी छ । ०४६ यता स्थापित भएर पटक–पटक सरकारको नेतृत्व गरिसकेका दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलेले समेत राजनीतिक स्थायित्व र सुशासन नेपाली जनतालाई दिन नसकेपछि नयाँ दलप्रति आकर्षण बढेको हो ।

यसरी राणाशासन र निरंकुश राजतन्त्रसँग लडेर आएका दलहरुले पनि जनअपेक्षा अनुसारको काम गर्न नसकिरहेको बेला नयाँ दलहरु दर्ता गरेर खाली मुलुकलाई आर्थिक भार थप्ने र राजनीतिक दलहरुलाई उथपुथल बनाउने बाहेक अन्य केही काम गरेको देखिँदैन । ठूला भनिएका स्थापित दलहरुले देश विकास र जनताको लागि कुनै पनि ठोस काम गर्न नसकेपछि त्यसको विकल्पको रुपमा नयाँ दलहरु दर्ता हुन थालेका थिए । त्यसरी नयाँ–नयाँ नारा दिएर दर्ता भएका दलहरुले पनि कुनै राम्रो काम गर्न सकेका छैनन् । बरु उल्टै स्थापित दलहरुलाई पछि पार्ने र आफू सत्तामा पुगेर राज्यसत्ताको दोहन गर्ने दाउ ती नयाँ दलहरुको पनि देखिन्छ ।

अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र माओवादीबाट विद्रोह गरेर बाहिर बसेको विप्लव समूह मिलेर समाजवादी मोर्चा गठन गरेका छन् । यो मोर्चाले नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा र लोसपाजस्ता पुराना पार्टीहरुभन्दा भिन्न तरिकाले देश विकास जनताप्रति उत्तरदायी भएर काम गर्छ या बीचैमा यो पनि फेरि फुटेर टुक्राटुक्रा हुने त्यो भने अहिले एकिन छैन ।

अहिले राजनीतिक शक्तिको रुपमा हेर्दा राजनीतिक दलहरुमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो छ भने असार ४ गते गठन भएका चारदलीय समाजवादी मोर्चा तेस्रो शक्तिको रुपमा उदाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी अहिले चौथो स्थानमै कायम छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा रहेको छ । यी पाँच शक्तिमध्येमा कसको संगठन बलियो हुने हो त्यो भने एकिन छैन । अहिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी, राप्रपाको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीमा जनताको आकर्षण बढेको देखिन्छ ।

रास्वपामा विभिन्न राजनीतिक पार्टी छोडेर प्रतिव्यक्ति एक हजार तिरेर सदस्य बन्ने होडवाजीनै चलेको छ । त्योसँगै रास्वपाले ७४ वटा जिल्लामा आफ्नो पार्टी संगठनको सञ्जाल फिजाइसकेको छ । विश्वका विभिन्न मुलुकमा बसोवास गर्ने नेपालीहरुको पनि रास्वपामा आकर्षण देखिन थालेको छ । तर, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेशवादी दलहरुप्रति भने जनताको वितृष्णा छ ।

त्यसैगरी अहिलेका अधिकांश युवायुवतीले पनि पुराना दललाई छाडेर नयाँ दल रास्वपातिर आकर्षित भएको पाइन्छ । त्योसँगै आगामी पाँच वर्षभित्रमा आर्थिक मन्दीलाई चिर्दै आर्थिक समृद्धि, विकास निर्माण र भ्रष्टाचार अन्त्यको लागि जुन दलले देखिने गरी काम गर्न सक्छ उसैले वाजी मार्ने देखिन्छ । अन्यथा जनताले पुराना दलहरुलाई जति गठबन्धन गरेर चुनावमा गएपनि पत्याउनेवाला छैनन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *