सत्ता लक्षित खेलमा नयाँ खिचडी पाक्ने सम्भावना

राजनीति समाचार

रामचन्द्र बस्नेत

सरकारले गत जेठ १५ मा आर्थिक ०८०/८१ को बजेट सार्वजनिक गरेसँगै सरकारमा सामेल दल एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी दलका नेता उपेन्द्र यादवले त्यसको विरोध गरेका थिए । त्यसमा प्रतिपक्षी दल नेकपा एमालेले खेलेर उपेन्द्र यादव अथवा रवि लामिछानेलाई प्रधानमन्त्रको लोभ देखाएर गठबन्धन भाड्न खोजेको देखिन्थ्यो ।

उता नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न अफ नगरेको होइन । कांग्रेस सभापति देउवा सिंगापुर भ्रमणमा गएको मौका छोपी सरकार फेरबदल गर्नेसम्मको खेल पनि एमालेबाट भइरहेको थियो । अझै पनि एमालेले उक्त खेल जारी नै राखेको छ । किन कि नेपाली कांग्रेसका सभापति देउवाको छोराको बिहे आगामी मंसिरमा हुँदै छ । त्यो विवाहमा शेरबहादुरलाई प्रधानमन्त्रीको छोराको विवाह भनेर चिनाउनुपर्ने छ ।

त्यसकारणले पनि नेकपा एमालेले शेरबहादुरलाई प्रधानमन्त्री बनाउन सहयोग नगर्ला भन्न सकिँदैन । त्योसँगै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले समाजवादी मोर्चा गठन गरेर एमालेको उक्त खेललाई रोक्ने काम गरेको देखिन्छ । त्यसकारणले पनि सरकारको आयु कति लामो छ भन्ने कुरा स्पष्ट छैन । राजनीतिक विश्लेषकहरुको भनाइ अनुसार यो सरकारले लामो फड्को मार्न सक्ने देखाएका छन् । किन कि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर सन्धी, सम्झौतादेखि विभिन्न आयोजना, योजनामा हस्ताक्षर गरिसकेका छन् । उनले गरेका सम्झौतामध्ये कतिपयले राम्रो पनि भनेका छन् भने कतिपयले त्यसको विरोध पनि गर्दै आएका छन् ।

जे होस् प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला भारत सरकारले उनलाई रुचाएको पाइन्छ । अहिलेसम्म नेपालमा सरकार बनाउने र गिराउने खेल भारतकै डिजाइन हुने गरेको थियो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर फर्किएपछि भारतीय राजदूतहरु पनि नेपाल नआएका होइनन् । त्यस्तै उता छिमेकी मुलुक चीनबाट केही प्रतिनिधिहरु नेपाल आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका छन् । तर, त्यस भेटमा के कस्तो कुराकानी भयो त्यो भने बाहिर आएको छैन ।

एकतिर प्रतिपक्षी दलले सरकार बदल्न खोज्नु अर्कोतिर चार खेमा मिलेर समाजवादी मोर्चा बन्नु ‘स्याल कराउनु र बाख्रो हराउनु’ एउटै हो भनेजस्तै भएको छ । तर, कांग्रेस सभापति देउवा सिंगापुरबाट कहिले स्वदेश फर्किने हुन् र उपचारको नाममा त्यहाँ बसेर के खिचडी पकाएर आउने हुन् त्यो भने एकिन भइसकेको छैन ।

तर, सभापति देउवा नेपाल फर्किएपछि केही न केही खिचडी भने पाक्ने देखिन्छ । तर, सरकार पक्ष र प्रतिपक्षी बीच कस्तो सम्बन्ध बन्ने हो त्यसमा भरपर्छ । अहिले नेपाली कांग्रेस, नेकपा एमाले मिलेर सरकार बनाएपनि उता समाजवादी मोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, लोसपालगायत साना पार्टीहरु मिलेर सरकारको दावी नगर्लान भन्न सकिँदैन । तर, सरकारमा जानको लागि सबै दलहरुको रवैया यस्तै रहीरहने हो भने नेपाली जनताले दलहरुलाई बहिस्कार नगर्लान् भन्न सकिँदैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *