लौ पढ्नुस् मुख्य सचिव अर्यालको रामकहानी

राजनीति समाचार

काठमाडौं । अवकासको अघिल्लो दिन बैकुण्ठ अर्यालले कसरी मुख्य सचिव पदमा बाजी मारे ? कसैले एनसेलको लगानी भनेका छन् त कसैले पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीदेखि विना मगरसम्मको अथक प्रयासको बल भनिरहेका छन् ।

जे होस,झण्डै एक लाख निजामती कर्मचारीको अभिभावकको जिम्मेवारीमा बैकुण्ठ अर्याल पुगेका छन् जसरी दुई दशकदेखि ‘सेटिङ’मा मुख्य सचिव बन्दछन्,उही ढंगले । ०५६ बाटै मख्य सचिव नियुक्तिमा प्रणालीको हत्या गर्ने कामको सुरुवात भएको बताउँछन् पूर्व प्रशासकहरु । तत्कालीत मुख्य सचिव बलराम सिंह मल्लबाट सुरु भएको प्रणालीले अझैं लय समात्न नसकेको कतिपय जानिफकारहरु बताउँछन् । सिंह ०५३ मंसिर २७ गते मुख्य सचिवमा नियुक्त उनी ०५६ मंसिर २७ गते अवकाश हुँदै थिए । तर उनी आफूभन्दा अघि अवकाश हुने तीर्थमान शाक्यलाई मुख्य सचिव हुने बाटो खोलिदिन चाहन्थे ।

उनको यही व्यक्तिवादी सोचको परिणाम ०५६ साउन २९ गते मल्लले मुख्य सचिवबाट राजीनामा दिए । शाक्य नयाँ मुख्य सचिवमा नियुत्त भए । सट्टामा मल्ल राजदूत बने । त्यहाँबाट भत्किएको मुख्य सचिव नियुक्तिको प्रणालीले लय समाउन नसकेको पूर्वप्रशासकहरू सुनाउँछन् । सार्वजनिक प्रशासनमा आदर्श छवि बनाएका विमल कोइराला, माधव घिमिरे, लीलामणि पौड्यालले पनि वरीयता मिचेर मुख्य सचिवको पद हात पारेका थिए । त्यसपश्चात प्रणाली बिगार्नेमा लोकदर्शन रेग्मी सबैभन्दा धेरै बदनाम भए ।

त्यही पथलाई अवकाशको मुखैमा पुगेका बैकुण्ठ अर्यालले बलियोसँग अँगालेका छन् । यस अघि शंकरदास बैरागी हुन वा लोकदर्शन रेग्मी अर्थात सोमलाल सुवेदी,राजेन्द्र कुमार क्षेत्री यी सबै बरिष्ठतालाई मिचेर प्रणालीलाई भत्काउँदै मुख्य सचिव बनेका हुन । अहिलेका मुख्य सचिव बैकुण्ठ अर्याललाई माओवादीले मन नपराएर सञ्चारबाट घर जाने बेलामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘डम्प’ गराएको थियो ।

माओवादीले नै मन नपराएका अर्याल माओवादीलाई रिझाएर कसरी मुख्य सचिव बन्न सफल भए ? मुख्य सचिवका अर्का प्रतिष्प्रर्धीले ‘एनसेलको लगानी’देखि पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका भाइ लोकेन्द्रबहादुर र प्रधानमन्त्री प्रचण्डको बुहारी बिना मगरको इन्ट्रीले उनको भाग्योदय हुन पुगेको दाबी स्रोतको छ । यद्यपि जुन प्रयत्नबाट उनी मुख्य सचिव बने पनि यस अघि लीलामणि पौडेलदेखि विमल कोइरालाहरुले बचाएको साख जोगाइराख्न सक्छन कि सक्दैनन्,त्यो चाहिँ चासोका साथ हेरिएको छ । (तामाकोशीसन्देशबाट)
०००

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *