बालेन्द्र शाहबाट दलका नेताहरुले पाठ सिक्ने कि ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
सरकार बनेको ६ महिना पुरा नहुँदै त्यसलाई ढाल्ने खेल हुन थालेको छ । यदि यो चर्चामा सत्यता छ भने दलहरुको काम खाली सरकार बनाउने र ढाल्ने मात्रै हो ? देश र जनताको चाहना अनुसारको काम गर्नुपर्दैन ? तर, बाहिर हल्ला गरेजसरी यति सजिलै यो सरकार ढल्ने देखिँदैन । राजनीतिक दलका नेताहरुमा यस अगाडि घटनाहरुले पनि चेतना भएकै हुनुपर्छ ।

गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा पाँचदलीय गठबन्धन गरेर होमिदाँसमेत बहुमत ल्याउन नसकेका दलहरुले अहिले आएर यति छिटै सरकार ढाल्ने खेलमा लागेर देश र जनताको धज्जी उडाउने काम गरिहाल्छन् भन्ने देखिँदैन । अहिले राजनीतिक दलहरु भन्दा स्वतन्त्रहरु बढी हावी भएका छन् । सरकार ढाल्ने आफू सत्तामा पुग्ने खेल खेलिरहँदा त्यसको पनि दलहरुले ख्याल गर्नुपर्ने देखिन्छ ।

त्योसँगै अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गे्रटर नक्सा र आदीपुरुष नामक हिन्दी चलचित्रको विषय उठाएर नेपालदेखि विश्वसामु चर्चा कमाएका छन् । शाहको क्रिकलापले केन्द्र सरकारलाई पनि टाउको दुखाइको विषय बनेको छ । उता न्यायालयभित्र पनि मेयर शाहको विषयले खैलाबैला मच्चाएको छ । शाहले राष्ट्रिय स्वाधिनतामाथि आँच आउने काम भएमा त्यसविरुद्ध जस्तोसुकै सजाय भोग्न तयार छु तर त्यस्ता क्रियाकलाप हुन दिन्न भनेर सामाजिक सञ्चालमा स्टाटस लेखेका थिए ।

त्यसले गर्दा अधिकांश नेपालीहरुले भन्ने गरेका छन्, ‘मेयर बालेन्द्र शाह जस्ता नेताको खाँचो मुलुकलाई आवश्यक छ भनेर ।’ अहिले शाहले पनि भित्री रुपमा आगामी ०८४ निर्वाचनमा दल दर्ता गरेर नआउलान् भन्न सकिन्न । किन की मेयर शाहले स्थानीय निकायमा ३५ वटा एम्बुलेन्स निःशल्क दिएका कारण पनि उनी दल दर्ता गरेर आउने पक्का जस्तै देखिन्छ ।

त्यसकारणले पनि राजनीतिक दलका नेताहरु झन् कमजोर हुने देखिएको छ । त्यसलाई चिर्नको लागि पनि राजनीतिक दलहरु एका ठाउँमा आएर राष्ट्र, राष्ट्रियता र जनताप्रति उत्तरदायी हुनुपर्ने देखिन्छ । राजनीतिक दलका नेताहरुलाई लागेको भ्रष्टाचार र अनियमितताको काण्डहरुले पनि मेयर शाहको एजेन्डा जनतामाझ स्थापित हुँदै गएको पाइन्छ ।

त्योसँगै विगतमा दलहरुले महानगरभित्र राष्ट्रिय रुपमा फोहोरको राजनीतिक गर्दै आएका थिए । मेयर शाह महानगरमा आएपछि त्यो फोहोरको राजनीति पनि लगभग अन्त्य जस्तै हुन थालेको छ । किन भने हरेक छ÷छ महिनामा काठमाडौंका सडक, गल्ली र चोकचोकमा थुप्रिएको फोहोरले जनता आजित थिए । तर, मेयर शाह काठमाडौंमा आएपछि विगत एक वर्षदेखि सडकमा फोहोर थुप्रिएको देखिँदैन । त्योसँगै अधिकांश बिजुलीका पोलहरुमा बिद्युत, फोन र इन्टरनेटका तारका गुजुल्टाले काठमाडौं शहर कुरुप देखिन्थ्यो । त्यस्तै सडक र फुटपाथमा विभिन्न व्यापार व्यवसाय गर्नेहरुले सवारी साधनदेखि मान्छेको आवतजावत नै अवरुद्ध हुने गरेको थियो ।

अहिले आएर त्यो समस्या पनि हल भएको देखिन्छ । सडकमा जथाभावी पार्किङ गर्नाले घण्टौंसम्म सडक जाम हुँदा समयमा मानिसहरु गन्तव्यमा पुग्न सकेका थिएनन् । त्यस्तै सरकारी जग्गा जथाभावी व्यक्तिले कब्जा गरेर विभिन्न सामाजिक भवनदेखि क्लब खडा गर्ने र कतिपय सरकारी जग्गा व्यक्तिगत भोगचलन गर्ने गर्दै आएका थिए । त्यो पनि करिबकरिब अन्त्य हुने देखिन्छ ।

महानगरभित्रका विभिन्न सरकारी स्कुल, कलेजहरुमा पढाइ लथालिङ अवस्थामा थिए । स्कुलको आय आम्दानीमा पनि भ्रष्टाचार र अनियमितता हुँदै आएको थियो । अस्पतालहरुमा पनि फोहोर समयमा नउठ्ने, समयमा बिरामीको उपचार नगर्ने र सरकारी अस्पतालमा जागिर खाएर निजीमा काम गर्ने जस्ता लापरबाही हुने गरेका थिए त्यसको पनि अन्त्य हुँदै छ ।

यीलगायत मेयर शाहले अन्य थुप्रै राम्रा कामको थालनी गर्ने संकेत देखिएको छ । एउटा महानगरका मेयरले चाहँदा यति धेरै राम्रो कामको थालनी हुँदो रहेछ भने देशको राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने राष्ट्र प्रमुखहरुले किन गर्न सकेनन् ? (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *