हामी सानो हुँदा एक भनाइ खुब चल्तीमा थियो । अमेरिकाका बच्चा जन्मदै अंग्रेजी जान्दछन् । त्यहाँका बच्चाले अंग्रेजी खररर बोल्छन् । हामी छक्क पर्दथ्यौं, हामीलाई अति मुस्कील लाग्ने अंग्रेजी कसरी जानेका होलान् भन्ने लाग्दथ्यो । उनीहरुको मातृभाषा नैं त्यही भए पछि वोल्न के गाहे भयोर भन्ने कुरा धेरै पछि मात्र वुझेको थिएँ । यसपाला आलम्पुको वसाईमा त्यस्तै महशुस गर्न पुगें । मलाई त्यहाँको वल्लोपल्लो गाउँको नाम थाहा पाउन सकिरहेको थिइंन ।
नजिकै खोलाको नाम थाहा थिएन जहाँ जलविधुत् आयोजना वन्दै थियो । मैले आलम्पु टोपरडाँडाका २ जना ३ र ४ कक्षामा अध्ययन गरीरहेका भाईहरुलाई भेटें । निरज र आयुष नाम रहेछ । उनीहरुलाई सोधें सवै खरर भनि दिए । एक मनले सोचें कसरी जानेका होलान् । मलाई उनीहरुले भनेको नाम अझै याद आइरहेको छैन । उनीहरुले कुनै कठिनाइ नैं महशुस गरेका छैनन् । उनीहरुले खेतीपातीका कुरा पनि जानेका रहेछन् । कुन मौसममा के लगाउने, कति समयमा पाक्छ भन्ने जसता विषयमा पनि जानकार रहेछन् । ती दुई भाइहरुको सहायताले धेरै कुरा जान्ने मौका मिल्यो ।
दोलखाका ९ वटा पालिका मध्ये जलस्रोतका हिसावले अति धनी हो विगु गाउँपालिका । यहाँ नैं नेपालको चर्चित माथिल्लो तामाकोशी जलविधुत् आयोजना छ । अन्य आयोजना निर्माणाधिन पनि धेरै छन् । भविष्यमा विधुत्को रोयल्टीबाटै यो गाउँपालिकाको समृद्धि संभव छ भन्ने अनुमान गर्न सकिन्छ । विगु गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । पहिलाका गाविस नैं अहिले वडाको आकार लिएका छन् ।
आलम्पु, अर्थात विगु गाउँपालिका वडा नं. ६ मा केही दिन वसाई भयो ।
सिंगटी बजारवाट करिव २८ किलोमिटर जतीको दुरीमा पर्दोरहेछ वडा नं. ६ को केन्द्र आलम्पु । त्यही रहेकोछ वडा कार्यालय, स्वास्थ्य केन्द्र अनी माध्यमिक विद्यालय पनि । दोलखाको सदरमुकामबाट कालोपत्रे सडकबाट सिंगटी वजार पुग्न सकिन्छ त्यहाँवाट कच्चिबाटो झन्डैं २ घण्टाको बोलेरो यात्रावाट त्यहाँ पुगियो । हिउँदका दिनमा सार्वजनिक बसहरु जान्छन् तर वर्षा महिनामा बोलेरेको विकल्प पैदल मात्रै हुन्छ । यी सडकमा टिपरको भने दबदबा नैं रहेछ । खास गरी जलविधुत् निर्माण लगायत विभिन्न आयोजनाकोलागि टिपरको प्रयोग नियमित भैरहँदो रहेछ ।
आलम्पुमा महिलाहरुको समूहले एक सञ्जाल वनाएको रहेछ । २०६६ सालको जात्रामा शेर्पा र थामी विचको ठुलो झगडा परेको रहेछ । झगडा मात्र हैन मारकाट नैं भएछ । त्यो हुनुको मूख्य कारण मादक पदार्थको सेवन रहेछ । आलम्पुका महिलाहरुलाई त्यो कुरोले पिरोलेछ । अनी आलम्पुका १९ जना महिलाहरु जुटेछन् । जात्रा त संस्कृती हो चलाउने तर रक्सी बेच्ने र खाने काम वन्द गर्ने अभियान चलाएछन् । जहाँ जात्रा हुन्छ त्यहाँ १९ जनाको महिला समूह पुगि बेच्न लागेको मदिरा पोख्ने अभियान थालेछन् । त्यस्को प्रभाव राम्रो पर्दैगयो । महिलाहरु उत्साही भए । घरायसी झगडा पनि कम हुन थालेछ । घर परिवारमा पनि हाँसीखुसी छाएछ । अनी २०६८ सालमा सयपत्री महिला समूह सञ्जाल भनी एक संस्था नैं दर्ता गरेछन् ।
यस वडामा ९५ प्रतिशत भन्दा वढि थामीको वसोवास छ । अशिक्षा तथा वेरोजगारको चपेडामा थिएनैं तर थामी मेहनती हुन्छन् । मदिराले विगारी राखेको थियो । महिला समूह संगठित भए पछि घरायसी खेतीपातीमा ध्यान दिन थाले पुरुषहरुको पनि सक्रिय सहभागी हुन थाले । घरमा खाने तरकारी अहिले आफै फलाउँछन् । केही बेच्दछन् पनि ।
महिला सञ्जालले सामाजिक रुपान्तरणकालागि अनेकानेक काम गरिरहेका छ । पहिलो काम त मदिरा नियन्त्रण नैं गरे । यो संस्था नैं मदिराको पिडाको गर्भबाट जन्मेको हो । यस संस्थाको आरम्भमा १९ जना दिदीवहिनीहरुले जनही ४ सय उठाएका रहेछन् । रक्सी विहिन जात्रालाई अभियानकैं रुपमा स्थापित गराएछन् । आफैले उठाएको पैसाबाट आफै भित्रका सुत्केरीलाई पोषणमा सहयोग पुगोस् भनी सुत्केरी भत्ता वाँडेछन् । कृषिमा व्यवसायीकरणकोलागि कुखुरा तथा वाख्रा पालन तालिम आयोजना गरे ।
४५ दिने सिलाई कटाइ तालिम दिएर उद्यमी वनाउने कोशिस गरे । दुध खाने भनेको नौलो कुरो थियो । वाहिरबाट कर्मचारीहरु आउँदा यो गाउँमा दुध पाउँदैन भनेको सुन्दा पिडा भएछ । अनी २ जनालाई गाईको अनुदान व्यवस्था गरी दुध व्यवसाय तिर लाग्ने लगाउने काम भएछ । असार १५ यहि वेलामा परेको थियो, दहि च्यूरा खान पाइयो । एक दशक अघि यो अवसर सितिमिति पाइन्नथ्यो रे ।
समाजमा परेको कठिनाईमा अग्रपंक्तिममा रहि सहयोग गर्दा रहेछन् । स्थानीय धनविर थामीको एक आँखा गुमेछ । उपचारमा रकमको अभाव भएछ । सञ्जालमा रहेका महिलाहरु सवै गाउँमा चाहारेर सहयोग संकलन गरेछन् । महिलाहरुको सकृयता देखेर वृद्धवृद्धा, भिक्षुहरुले २ रुपैया देखि सहयोग गरेछन् । केही दिनको कसरतमा ९३ हजार रकम संकलन गरी उपचारमा सहयोग गरेछन् । ती विरामी सुकविर अहिले एक आँखा त गुम्यो तर ज्यान वचेछ ।
यो अभियान नियमित सञ्चालन गर्ने सञ्जालको अध्यक्ष ४ जना भैसक्नु भएछ । नेतृत्व हस्तान्तरणको उदाहरण यहाँ राम्रो देखियो । पहिलो अध्यक्ष सनीमाय थामी, दोस्रो कृष्ण थामी, तेस्रो मनमाया थामी र अहिले दिलु थामी हुनु हुँदोरहेछ । महिलाको क्षमता विकासकालागि विभिन्न काम गर्ने सिलसिलामा यस पटक गाउँपालिका तथा वडा कार्यालयसँगको सहकार्यमा लेखन सिप अभिवृद्धि तालिम आयोजना गरिएको थियो । त्यही तालिमको सिलसिलामा म त्यहाँ पुग्ने मौका पाएँ । नजिकवाट थामी समाज र त्यहाँको गतिविधि नियाल्ने मौका मिल्यो ।
तिन दिनसम्म चलेको यस तालिममा सामुदायिक संस्थाहरु खास गरी आमा समूहका अध्यक्ष, सचिव लगायतका नेतृत्व तहका २५ जना महिलाहरुको सहभागीता रहेको थियो । निर्णयपुस्तीका, निवेदन, सामान्य प्रस्ताव पत्र, प्रतिवेदन लेख्ने सिप अभिवृद्धिको लागि तालिम आयोजना गरिएको थियो । त्यस केन्द्रीत अभ्यासमुलक छलफल गरियो । सहभागीहरुको सहभागीता अनुकरणीय थियो । सवैजसो सहभागीहरु थामीहरु नैं थिए । उनीहरु मेहनती थिए । तालिम त औपचारिक विषय भयो । त्यस वाहेक समाजसँग सम्वन्धीत अन्य विषयहरु माथि औपचारिक तथा अनौपचारिक छलफल भयो ।
यहाँका मानिसको प्रमुख पेशा नैं खेती हो । खेतीलाई अलि व्यवस्थीत र प्रविधिसँग जोड्ने कोशिस गरिरहेका छन् । भएका उत्पादनको उचित मूल्य सहितको वजार अभाव रहेको छ । यसलाई सम्वोधन गर्न यस वडामा एक साप्ताहिक हाट वजारको व्यवस्थापन गर्ने सोच विकास यहि तालिमको अवधीमा सहभागीहरुले गरे । त्यसका लागि एक प्रस्ताव पत्र तयार गरी गाउँपालिकामा पेश गर्ने सोच समेत विकास गरेका छन् । आलम्पुका मानिसको परम्परागत पेशा भनेको ढुँगा खानीमा काम गर्नु पनि हो ।
यो उनीहरुको पूख्र्यौली पेशा पनि हो तर यस माथी गौरीशंकर संरक्षण क्षेत्रले अवरोध गरेको प्रति आक्रोस सहितको गुनासो पनि सुनियो । त्यही भएर नैं होला विगु गाउँपालिकाले संरक्षण क्षेत्र हटाइ पाउँ भनी संस्थागत निर्णय समेत गरिसकेको रहेछ ।आलम्पुका महिलाहरु संगठित भैं एक आपसमा सहकार्य गर्ने प्रयास आफैमा अनुकरणीय देखिन्छ । यो अभ्यासलाई आर्थिक सशक्तिकरण र सामाजिक रुपान्तरण गर्ने सत्प्रयासको रुपमा समेत हेर्न सकिन्छ ।(तामाकोशीसन्देशबाट)