सरकारकै कारण अधिकांश विद्यार्थी विदेशी भूमिमा

राजनीति समाचार

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरतासँगै अधिकांश उद्योगधन्दा र व्यापार व्यवसाय ठप्प जस्तै भएका छन् । त्यसको असरले सर्वसाधारणमा परिरहेको छ । यतिखेर अधिकांश विद्यार्थीहरु अध्ययन र रोजीरोटीको लागि १२ कक्षा सिध्याउन नपाउँदै विभिन्न कन्सलटेन्सीहरुमा भाषा सिक्नेको भीड लाग्ने गरेको छ । त्यसमा आएल्ट्स, टोफेल, जापानी र कोरिएनलगायत विभिन्न भाषा सिकेर विदेशिने क्रम दिनप्रतिदिन बढिरहेको छ । भाषा सिक्ने विद्यार्थी संख्या बढेसँगै कन्सल्टेन्सीहरुले पनि महंगो शुल्क असुलिरहेका छन् ।

आयल्ट्स तथा सम्बन्धित देशको भाषा सिकेको भनिए तापनि त्यसरी जाने अधिकांश विद्यार्थीमा विदेशमा गएर कहाँ बस्ने र के काम गर्ने, कुन विषय पढ्ने, कुन विषयमा एप्लाई गरेको भन्ने सामान्य ज्ञान समेत नभएको पाइएको छ । तर, कन्सल्टेन्सीहरुले विभिन्न आकर्षक प्रलोभन देखाएर विद्यार्थीलाई आकर्षित गर्ने, केही महिना भाषा सिकाइसकेपछि अभिभावकहरुलाई तपाईंको बच्चा सबैभन्दा जान्ने भयो । उसको भीसा पनि लागिसक्यो अब यति पैसा चाहिन्छ भनेर तागेता गर्दछन् ।

विद्यार्थीहरुले पनि आफ्ना अभिभावकलाई मेरो सबैभन्दा राम्रो नम्बर आयो । अब यतिदिनभित्र मलाई यतिलाख चाहिन्छ भनेर अभिभावकसँग हारगुहार गर्न थाल्छन् । यसरी कन्सल्टेन्सीको तागेता र छोराछोरीको हारगुहारपछि अभिभावक पनि आफ्नो कामै छोडेर ऋण खोज्नेदेखि नपुगे पैत्रृक सम्पत्ति विक्रीवितरण गरेर भएपनि पैसा जुटाउनतिर लाग्छन् । तर, त्यसरी भएरभरको सम्पत्ति धितोमा राखेर अथवा व्यक्तिगत ऋण खोजेर जम्मा गरेको पैसा एउटा कन्सलटेन्सीको भरमा बुझाउँछन् ।

अनि छोराछोरीको सक्कली डकुमेन्ट पनि कन्सल्टेन्सीलाई नै बुझाइएको हुन्छ । यसरी पैसा, छोराछोरी र उनीहरुका सक्कली कागजात एउटा कन्सल्टेन्सीलाई बुझाइरहँदा तिनीहरुका अभिभावकले आफ्ना छोराछोरी कुन देश जाँदैछन्, कुन विषय पढ्नको लागि एप्लाई गरेका हुन्, त्यहाँ गएर के काम पाउँछन्, बस्ने ठाउँ कस्तो छ ? त्यो काम गरेबापत कति कमाइ हुन्छ भन्ने विषयमा भने बुझ्ने गरेको पाइँदैन । अहिले नेपाली विद्यार्थीहरुको आकर्षणका देश भनेको अमेरिका, क्यानडा, अस्ट्रेलिया, युके, लन्डन, बेलायत, कोरिया, जापानलगायतका मुलुकहरु छन् ।

यी मुलकमा जानको लागि विद्यार्थीहरुले आफ्नो अभिभावकको क्षमता होस् कि नहोस् साथीहरुको लहैलहैमा मनस्थिति बनाउने गरेका हुन्छन् । साथीहरुकै सरसल्लाहमा कन्सल्टेन्सीहरुमा परामर्श लिन पुग्छन् । कन्सल्टेन्सीहरुले पनि विद्यार्थीका अभिभावकको आर्थिक हैसियत नबुझी विद्यार्थीलाई विभिन्न आकर्षण देखाएर परामर्श दिन्छन् ।

अनि विद्यार्थीहरुले पनि साथी र कन्सल्टेन्सीको विश्वासमा परेर अभिभावकलाई दबाब दिन थाल्छन् । अभिभावकले पनि देशको अवस्था र छोराछोरीको ढिपीले गर्दा विदेशमै पठाउने मनस्थिति बनाउँछन् । यसरी विदेश गएका विद्यार्थीहरु नेपालको राजनीतिक परिस्थिति आर्थिक अवस्था देखेर स्वदेश फर्किने सम्भावना न्यून देखिन्छ ।

यसरी कन्सल्टेन्सीको भरमा अन्दाधुन्दा ढंगले विभिन्न देशमा अध्ययन र रोजगारीका लागि अध्ययन भीसामा जाने विद्यार्थीहरु भोलिका दिनमा कतार, दुबई, मलेसिया, साउदी, बहराइन, साइप्रसालगायतका मुलुकमा अलपत्र परेजस्तै नहोला भन्न सकिन्न । त्यसकारणले पनि सम्बन्धित निकायले उपत्यकालगायत देशैभरि च्याउसरी खोलिएका विभिन्न विदेशी भाषा सिकाउने कन्सल्टेन्सीहरुको अनुगमन गरी नियम कानुन संगत छन् कि छैनन् भनेर छुट्याउनु पर्ने देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *