एक वर्ष अघि मकवानपुरको राक्सीराङ जाने मौका पाएको थिएँ । त्यही बेला सुनेको थिएँ, ‘३ च’ बारेमा । चेपाङ, चिउरी र चमेरो । यस विषयमा डिभिजन वन कार्यालय राप्ती, मकवानपुरका प्रमुख विष्णु प्रसाद आचार्यको फेसवुक अपडेटबाट थप जानकारी पाइरहेको थिएँ । उहाँ डिभिजनल वन अधिकृतको भूमिकामा जहाँ रहनु हुन्छ केही न केही पहिचान दिने छाप छाड्नु हुन्छ ।
कुनै बेला डडेल्धुरामा रहँदा त्यहाँको कार्यालयको सजावट, भित्तेलेखन अनी पाठ्यक्रम प्रकाशन गजब लागेको थियो । अहिले मकवानपुरको राप्ती मनहरीमा हुनुहुन्छ । त्यहाँको कार्यालय सजावटको फोटो देख्दा रमाइलो लागिरहन्थ्यो । केही समय अघि त्यहाँ पुग्ने मौका पाएको थिएँ । गजब लागेको थियो । पूर्वपश्चिम राजमार्गको आडैमा भएको त्यो कार्यालयको रौनकले जो कोहीको पनि ध्यान तान्दछ । धेरैले त्यहाँका तस्विर लिन्छन् अनी पोष्ट गर्ने गर्दछन् । वन क्षेत्रका मान्छेकालागि राप्ती डिभिजन वन कार्यालय सानो सानो गन्तव्य जस्तै भएको छ ।
एक साता अघि डिभिजनल वन अधिकृत विष्णु आचार्यको मोवाइलवाट मेरोमा फोन आयो । उठाएँ ‘दाई नमस्कार’ भनें । उताबाट ‘भाईसाहेब कता ?’ । घरमैं छु, मेरो जवाफ थियो । तपाईको घर नजिकै छु, भेटौंन भन्नु भयो । शनिवारको दिन थियो, घरमा पाहुना पनि थिए । के गरौं कसौं गरौं भन्ने भयो । विष्णु दाईले बोलाएपछि नकार्न सक्ने अवस्था थिएन । सोच्दासोच्दै मैले जवाफ दिन ढिला गरेछु क्यार । कुरो वुझ्नु भएछ, ‘म भाईसाबलाई धेरै अल्मल्याउँदिन एक पुस्तक दिनु छ’ ।
मैले हस् भनी दौडेर उहाँ भएको स्थान पुगें । त्यहाँ पुग्न मलाई ५ मिनेट पनि लागेन । एक किताव निकाल्नु भयो, लौ यो उपहार भन्दै मलाई दिनु भयो । ‘यो किताब किन दिएको थाहा छ नी भाइसाब’ भन्नु भयो । हाँसेर ‘पढ्न हैनर दाई’ भनें । उहाँ पनि हाँस्नु भयो । म हतारमा थिएँ धन्यवाद दिएँ, हिंडिहालें । पुस्तकको आकार, कागज, तस्बीर राम्रो लाग्यो । सरर पल्टाउँदै घरतिर लागें । मलाई दिएको पुस्तकको नाम ‘चिउरी, चेपाङ र चमेरो नयाँ आयामको खोजी’ रहेछ । त्यो पुस्तकको पहिलो भित्री पृष्ठमा ‘प्रिय भोला भाई साबलाई स–प्रेम’ लेखेर विष्णु दाईले हस्ताक्षर गर्नु भएको रहेछ । शिर्षक र चित्र मात्रै सरर हेरें तर त्यो बेलामा पढिंन ।
पछि पढें । विश्लेषण तथा समिक्षा गर्ने गरी पढ्न सकिंन । यो पुस्तक दिने बेलामा बिष्णुदाईले ‘यो किन दिएको थाहा छ नी’ भन्ने प्रश्नको उत्तर त्यती बेला मैले जे दिएको भए पनि, उहाँको आशय समिक्षा गरोस्, सुझाव देओस् भन्ने थियो । समिक्षामा के समेटौं के लेखौं सुझाव के दिउँ मनमा दुविधामा भैरह्यो । यो पुस्तकको समालोचना गर्ने मेरो हैसियत छैन भन्ने लाग्यो । मैले पढ्दा समिक्षा गर्ने गरी नजर लगाइन तर ‘३ च’ को बारेमा जान्ने विषयमा उत्साह मन भरी थियो नैं । यस पुस्तकमा ‘३ च’ का वारेमा सङ्घीय सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका विषय देखि चिउरी, चेपाङ र चमेराको वारेमा यथेष्ट जानकारी रहेछ ।
पुस्तकमा जे देखियो
‘३ च’ को अन्तरकुन्तर चर्चा गरिएको यो पुस्तक पठनीय छ । पढ्दा अल्छी लाग्दैन । जाँगर कति लाग्छ पाठकको कुरा हो । ५० पृष्ठ भएको यो पुस्तकमा कागजको गुणस्तर अनी रङ्गिन चित्रले अध्ययन गर्न झनैं सजिलो वनाइ दिन्छ । कुनै पनि पाना छैन जुनमा रङ्गीन तस्वीर नभएको । देख्दै हेरौं हेरौं पढौं पढौं लाग्दछ । यस पुस्तकमा लेखिएको मध्ये केही मलाई मन परेको विषयहरु यहाँ उल्लेख गर्न कोशिस गरिएको छ ।
चेपाङ, नेपालमा रहेका १४२ जाती मध्येको एक । नेपालको पछिल्लो जनगणना अनुसार ८४ हजार ३ सय ६४ मात्र रहेको छ । प्रतिशतमा हेर्ने हो भने कुल जनसंख्याको सुन्य दशमलब २९ मात्र हुन्छ । रैथाने बसोवास चुरे र महाभारतको विकट क्षेत्रमा रहेको पाइन्छ । उद्गम स्थलको कुरा गर्दा दोलखाबाट चितवन, मकवानपुर र धादिङमा आएका हुन् भन्ने पनि गरिंदोरहेछ । सुरुमा बसोबास स्थल छनौट गर्दा जङ्गलको फेदी खोलाको शिरलाई रोजेको देखिन्छ । यिनीहरु भूमिपुत्र हुन् । केहीले थर लेख्दा ‘प्रजा’ लेख्ने गरेको पनि पाइन्छ ।
२०३४ सालमा मनहरीमा भएको चेपाङ सम्मेलनमा तत्कालिन अधिराजकुमारी पिन्सेप शाहले ‘प्रजा भयौ’ भनिदिएको रहेछिन् । उनीहरुको आफ्नैं भेषभुषा, कला, भाषा तथा संस्कृती रहेको छ । उनीहरु साँच्चिकै प्रकृती पूजक हुन् । चिउरी, अंग्रेजीमा ‘बटर ट्रि’ भनिंदो रहेछ । छायाँदार २५ मिटरसम्मको अग्लो १५ फिटसम्मको मोटो हुने चिउरीको रुखको कुनै पनि भाग खेर जाँदैन ।
वहुउपयोगी रुख हो । पात डालेघाँस हो । दुनाटपरी गाँस्न मिल्छ । सुख्खायाममा यो रुख हरियो हुन्छ । मौरीकालागि फूल अति उपयोगी, फूलबाट रस झारेर त्यतीकै खान र रोटीमा समेत प्रयोग गर्न सकिन्छ । फल आकर्षक, गुलियो र पोषिलो हुन्छ । चुसेर खान सकिन्छ । दुधको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ । वियाँबाट घिउ बन्छ । घिउ भनेपनि यसवाट तेल निकालिँदो रहेछ । यी बियाँको तौल मध्ये ४० प्रतिशतसम्म घिउ निस्कनसक्छ । सामान्तया ३ केजी बियाँबाट १ केजी घिउ निस्कँदो रहेछ ।
यसको पिना पनि निस्कन्छ जुन मल, किटनाशक औषधीको रुपमा प्रयोग गरिन्छ । चिउरीको रुखको वोक्रा पनि औषधी हुन्छ । काठदाउरा पनि प्रयोग हुन्छ । भौतिक रुपमा मात्र होइन, प्राकृतिक सौन्दर्य तथा वातावरणीय सेवामा समेत महत्वपूर्ण योगदान रहेको छ । चमेरो, रातमा सकृय हुने दिउँसो टाउको तल तिर पारेर झुन्डिएर वस्ने प्राणी हो । संसारमै स्तनधारी जनावर मध्ये उड्ने सक्ने चमेरो मात्रै हो । चमेरोलाई चरो नैं भन्ने गर्दछौ तर वच्चा जन्माउँछ ।
चिउरीको रस प्रायः रातमा उत्पादन हुने गर्दछ । चमेरो रातमा नैं सकृय हुन्छ अर्थात चारा खोज्छ, खान्छ । उस्को आहारा चिउरीको फूलको रस हो । त्यो खान्छ, उस्को जिउमा टाँसिन्छ अर्को ठाउँमा जान्छ यस प्रकृयाबाट परागसेचन हुने गर्दछ ।
चेपाङले छोरीलाई चिउरीको बोट दाइजो दिने चलन थियो । चिउरीको रुख चेलीको हुने तर जमिनको माइतीको नैं हुन्थ्यो । अहिले यस्तो दाइजो दिने चलन कम हुँदै गएको छ । सरकारी निकायवाट नैं चिउरीको रुख किटान गरेर पुर्जा समेत दिने चलन पनि थियो । यसबाट जमिनको भन्दा चिउरी रुखको महत्व दर्शाउँछ ।
चेपाङहरु आफ्नो व्यबसाय परिवर्तन गर्दैछन् । रोजगारी लगायतका कारण वाहिर फैंलिँदै छन् । चिउरीका रुख र फल्ने क्रम पनि घटेको छ । चमेरा पनि घटेकै छन् । परम्परागत सिप र पद्धतीहरु पुस्तान्तरण नहुने क्रम वढेको छ । सरकारी गैरसरकारी संस्थाले चेपाङ र चिउरीका सन्दर्भमा केही लगानी गरे तर विना अध्ययन गरेकोले वालुवा पानीमा जस्तो भएको छ । भौतिक पूर्वाधार विकास गर्दा चिउरी र चमेरालाई ध्यान नदिएको गुनासा पनि देखिन्छन् । तथापी स्थानीय चेपाङ यूवाहरु आफ्नो संस्कृती जोगाउन केही क्रियाशिल हुन थालेका छन् । चिउरी र चमेरासँग चेपाङको संस्कृती जोडीएको पाउँछन् । यसलाई समृद्धिको आधार वनाउने कोशिसमा पनि लागेका छन् । जहाँ चेपाङ त्यहाँ चिउरी जहाँ चिउरी, त्यहाँ मौरी भन्ने सोचका साथ काम गरिरहेका छन् । चिउरी र चमेरो संरक्षण क्लब वनाएका छन् ।
मेरो वुझाई
यस पुस्तकको अन्त्य तिर लेखिएको छ । ‘चमेरोको शिकार हुनु भनेको चिउरीको पनि शिकार हो । चमेरो नहुनु भनेको चिउरी सकिनु हो । चेपाङले आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु हो’ । यो सन्देश दिन पुस्तिका सफल देखिन्छ । यसकालागि लेखक, प्रकाशक र सहयोग एवं सहकार्य गर्ने सबैलाई धन्यवाद ।
पुस्तकको नाम हेर्ने वित्तिकै मेरो मनमा एक जिज्ञासा आयो । किन चेपाङ, चिउरी र चमेरो लेखिएन ? किन चिउरी, चेपाङ र चमेरो भनियो ? यी तिनैवटाको अन्योन्याश्रित सम्वन्ध रहन्छ । यिनीहरु अलग अलग गरेर हेर्नु हुन्न होला । चमेरोको कुरा एकक्षणलाई थाती राखेर चर्चा गर्ने हो भने चिउरीकालागि चेपाङ कि चेपाङकालागि चिउरी ? वनकालागि मान्छे कि मान्छेकालागि वन भनेजस्तै हो । चिउरीलाई अगाडी राख्नुको कारण सायद यो पुस्तकको प्रकाशक वन कार्यालय भएर पनि होला कि भन्ने मनमा आयो ।
पुस्तक छपाईको सहयोग चाँही राक्सीराङ गाउँपालिकाको रहेछ । यो पुस्तक सबै पढिसक्दा पनि चेपाङ भन्दा अगाडी चिउरी लेख्नुको अर्थ भेट्न सकिन । अघी पछि लेख्नुको कुनै महत्व मानेको जस्तो लागेन । सायद मेरो दृष्टिकोण त्यता गयो होला लेखक र प्रकाशकले त्यस विषयमा ध्यान नैं दिनु भएन होला भन्ने मात्र लागि रह्यो । म, मान्छे प्रति चिन्तन गर्ने भएर होला, चेपाङ पहिला देख्न चाहेको । त्यसैले मैले चाँही यसको शिर्षक नैं ‘चेपाङ, चिउरी र चमेरो’ भनेर जुराएँ । यसको मतलव वनस्पती र वन्यजिव प्रति वेवास्ता गरेको भने पक्कै होइन । म, साध्य भनेको मानिस नैं मान्छु अरुलाई साधान ठान्छु ।
यस पुस्तकमा चिउरी त्रिभुज उल्लेख गरी जीवन्त अन्तरसम्वन्ध देखाउन खोजिएकोे छ । चमेरो र चिउरी विच परागसेचनको सम्वन्ध देखाएको छ । चेपाङ र चमेरो विच खाद्यान्न संरक्षण तर्फको सम्वन्धको संकेत गरेको छ । चेपाङ र चिउरी विचको सम्वन्ध जीविकोपार्जन र सांस्कृतिक पक्षमा रहेको चर्चा गरेको छ । चेपाङ र चिउरी विचको जती सम्वन्ध देखाइएको छ । चमेरो र चेपाङको सम्वन्ध त्यती बलियो देखाउन सकेको पाइन्न । पक्कै प्रगाढ सम्वन्ध होला । परागसेचनको मात्र भूमिका पक्कै होइन होला । यसका विषयमा अझ धेरै अध्ययनको खाँचो देखिएको छ ।
मूख्य लेखक बिष्णु दाईले नैं सुझाव मागेको हुँदा केही न केही त दिनैं प¥यो । यसमा २ वटा कुरा मैले मिस गरें । पहिलो, यो पुस्तक तयार गर्न सहयोग गर्ने स्थानीय सरकार यो अभियानका बारेमा के भन्छ ? उस्को प्रतिवद्धता के छ ? एक पृष्ठमा स्थानीय सरकार प्रमुखको भनाइ भनेपनि राखिदिएको भए, सुनमा सुगन्ध नैं आउने थियो । किनकी यो विषयमा निरन्तर काम गर्न सक्ने र गर्नु पर्ने स्थानीय सरकार हो । सङ्घीय र प्रदेश सरकार भनेका त टिभीमा देखिने रेडियोमा सुनीने मात्र हुन् । जीउँदाका साथी र मर्दाको मलामी स्थानीय सरकार हो । अनी दोस्रो, पृष्ठ नं. सहितको बिषयसूची राखि दिएको भए कति सजिलो हुन्थ्यो होला पाठकलाई । अरु त बयान गरि साध्य छैन, ‘३ च’ का बारेमा जान्न चाहनेलाई यथेष्ट खुराक छ ।
अन्त्यमा, ‘३ च’ सँग सम्वन्धी प्रत्यक्ष अधिकारवाला र सरोकारवालाले निभाएको भूमिका र अब गर्नु पर्ने जिम्मेवारी समेत चर्चा गरेको छ । यो सामाग्री तयार गर्नमा २ वटा सरकारी निकायहरुको सहकार्य देखिएकोले ‘३ च’ ले यसमा लेखिए अनुसारकैं महत्व पाउन सकोस् भन्ने शुभेच्छा राख्न सकिन्छ । प्रकाशक प्रदेश सरकार अन्तरगतको डिभिजन वन कार्यालय र सहयोग स्थानीय सरकार आफैं भएकोले विशेष कार्यक्रम सञ्चालन हुने थप आशा पलाएको छ । यसो गर्दा यहि पुस्तकमा लेखिए अनुसार कैं ‘विना अध्ययनको लगानी, बालुवामा पानी’ नहोस् । साध्य केन्द्रीत अभियानहरु हुन सकोस् । शुभकामना ।(तामाकोशीसन्देशबाट)