काठमाडौं । नेपालका प्रशासकहरुलाई पैसा भए पुग्ने हो ? उनीहरुलाई इज्जत भन्दा पैसामात्र प्यारो हो ? होइन भने पछिल्ला केही उदाहरण हेरौं सोमलाल सुवेदीपछि मुख्यसचिव सेटिङको आधारमा बनाइदै आएको छ । यो सिलसिला वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालसम्म देखिएको छ । पूर्व मुख्य सचिव शंकरदास बैरागीले आफूले आफ्नै लागि कानुनले समेत नचिन्ने पद श्रृजना गरेर राष्ट्रिय सुरक्षा सल्लाहकारको पद बनाएर र बैकुण्ठलाई मुख्यसचिव बनाउने बाटो खोलिदिए ।
निजामती किताबखानाको विवरण अनुसार,पूरै कार्याकाल काम गरेको भए उनी असोज मसान्तमा मात्र अवकाश हुन्थें र खेल अर्कै विकास हुन्थ्यो । अघिल्ला मुख्य सचिवहरुझैं पुरा कार्यकाल पूरा नगरी अवधि बाँकी रहँदै राजीनामा दिएर गलत प्रक्रियाबाट मुख्य सचिव बनाउने गलत अभ्यासलाई मलजल गरे । उनकै कारण तीन दिनपछि अनिवार्य अवकाशमा जाँदै गरेका सचिव बैकुण्ठ अर्याल जस्केलाबाट मुख्यसचिव बन्न सफल भए । यस्लाई प्रशासन संयन्त्रभित्र ठूलो अपराध भन्दैछन् ।
यस अघि पनि षड्यन्त्रबाटै मुख्यसचिव भएका उनले घर हिड्न लागेका समयमा पनि षडयन्त्रबाटै बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउन बाटो खोलिदिए । त्यसबापत राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरेर मन्त्रीस्तरिय सुविधा खाइरहेका छन् । शुरुमा गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउन उमेरहदले अनिवार्य अवकाशमा जान लागेका राजेन्द्रकिशोर क्षेत्रीलाई तीन महिनाका लागि मुख्य सचिव बनाइएको थियो । क्षेत्रीलाई मुख्य सचिव बनाउन समयअवधि बाँकी रहँदै सोमलाल सुवेदीले मुख्यसचिवको पद त्याग गरे ।
कागतालीले मुख्यसचिव भएका क्षेत्रीले तीन महिनामा अवकाश पाएपछि लोकदर्शन रेग्मीलाई मुख्य सचिव बनाइयो । उनै लोकदर्शनले समयावधी पुरा गरेर अवकाश लिएको भए परिस्थिती अर्कै हुन्थ्यो । तर रेग्मीले कार्यकाल पूरा नहुँदै राजीनामा दिएर बैरागीलाई मुख्य सचिव बनाउने षड्यन्त्रमा साझेदारी गरे । त्यसवापत उनले बेलायतको राजदूतको नियुक्ति पाए । सार्वजनिक प्रशासनमा मुख्य सचिव जस्तो गरिमामय पद पाएर पनि सुवेदी, क्षेत्री, रेग्मी, बैरागी जस्ता पूर्वप्रशासकहरुले उच्च नैतिकता देखाउन सकेनन् ।
उसो त निजामतीभित्र आर्दशवान मानिएका विमल कोइरालालाई मुख्य सचिव बनाउँदा पनि यसैगरी विवाद भएका थियो । ७ असोज २०५९ मा वरिष्ठतालाई मिचेर विमल कोइरालालाई मुख्यसचिव नियुक्ति गरिएको थियो । वरिष्ठता मिचिएको भन्दै मुख्यसचिवको लाइनमा रहेका श्रीकान्त रेग्मीले राजीनामा गरेका थिए । तर, अहिले त्योभन्दा भिन्न कार्यकाल नसकिँदै राजीनामा गराएर अन्यत्रै नियुक्ति दिएर चाहेको व्यक्तिलाई मुख्यसचिव बनाउने प्रवृत्ति मौलाएको छ । (तामाकोशीसन्देशबाट)