सशस्त्र प्रहरी बलमा मल्लको खेतीपाती मौलाउँदै

राजनीति समाचार

काठमाडौं । सशस्त्र प्रहरी बलभित्र अहिले आर्थिक प्रशासनका लेखापालहरु सरुवाको तयारी गर्दैछन् । त्यो रेसमा विगत लामो समयदेखि सशस्त्र प्रहरी बल हेडक्वाटर हलचोकमा रजाइँ गर्दै आएका गणेश मल्ल अहिले हलचोक छाडी सशस्त्र प्रहरी बल अस्पतालमा सरुवा हुन लागिपरेका छन् । मल्लले हेडक्वाटरको केन्द्रीय लेखा शाखामा बसेर अकुत सम्पत्ति आर्जन गरेको विशेष स्रोतको भनाइ छ ।

उनले सशस्त्र प्रहरीका अधिकांश बाहिनी र गुल्ममा कार्यरत लेखा अधिकृतहरुसँग पहिलादेखि नै कमिसनको मोलमोलाइ गर्दै आएका थिए । मल्लले खासगरी लत्ताकपडा, खाद्यान्न, स्टेशनरी, सवारी साधान खरिद मर्मत, इन्धन, भौतिक संरचना निर्माण र मर्मतको लागि केन्द्रीय लेखाबाट बजेट विनियोजन गर्दा कमिसनको बार्गेनिङ गर्ने गरेको स्रोतको दावी छ ।

त्यही कमिसनबापत लिएको पैसाले विभिन्न शक्तिकेन्द्रको मुखबुझो लगाउने र आफूले कुम्ल्याउने काम गर्दै आएका थिए । उनी हेडक्वाटरमा बसेर सातवटै प्रदेश अन्तर्गत रहेका बाहिनी र गुल्मका लेखा फाँटका कर्मचारीहरुलाई भनेअनुसारको कमिसन नदिएमा थर्काउने कामसमेत गरेको गुनासो नाम नबताउने सर्तमा एक लेखा अधिकृतले तामाकोशी सन्देशलाई बताएका छन् । तर, मल्ल हेडक्वाटर हलचोकबाट सशस्त्र प्रहरी बल अस्पतालमा सरुवा भएपछि उनको व्यवहार कस्तो देखिन्छ त्यो भने हेर्न बाँकी नै छ । तर, ‘धन देखेपछि महादेवका पनि तीन नेत्र’ भनेझैं अस्पतालमा पनि हेडक्वाटरको भन्दा कम बजेट हुँदैन ।

त्यसकारण पनि उनी हेडक्वाटरबाट अस्पताल सरुवा हुनलागेको स्रोतको भनाइ छ । अस्पताललाई पर्ने आवश्यक विभिन्न उपचारका उपकरणदेखि औषिध, भौतिक पुनर्संरचना, फर्निचर सप्लाई, ढुवानी, सवारी साधन खरिद, र्ममत, इन्धनलगायतमा अर्बौंको चलखेल हुने भएकाले पनि मल्लले हेडक्वाटर छाडेर अस्पतालतिर आँखा गाडेको समाचार स्रोतको भनाइ छ । मल्लकै कारणले गर्दा कतिपय अधिकांश लेखा अधिकृतहरु पीडित भएका छन् भने कतिपय लेखा अधिकृतहरु मल्लको सिकोले मालामाल पनि भएका छन् ।

मल्ल चाकडी र चाप्लुसी गरेरै अहिलेसम्म हलचोकमा डेरा जमाउन सफल भएका छन् । मल्लको कार्यकालमा आफूलाई मननपराउने दुई÷चार जना आइजीपी पनि फेरिसकेका छन् । तर, हालका आइजीपी राजु अर्याल प्रहरी संगठनलाई चलायमान बनाउन र विश्वायोग्य बनाउन भनेर लागिपरेका छन् । सरुवा बढुवामा पनि पहिलाका आइजीपीले जस्तो नगरी निष्पक्ष ढंगले काम गर्न लागे तापनि आइजीपीकै सहयोगीहरुले भित्री रुपमा घुमाउने काम गरिराखका छन् । तर, राजु अर्याल आफ्नो कार्यकालसम्ममा कति सफल हुन्छन् कति असफल हुन्छन् त्यो भने एकिन छैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *