उत्कृष्ट संगीतका सर्जक शंकर थापा ‘स्माइल’

मनोरञ्जन समाचार

निशा ठकुरी
पछिल्लो समय नेपाली संगीत उद्योगमा सर्वाधिक मन पराइएका संगीतकार हुन् शंकर थापा ‘स्माइल’ । थापा संगीतका विभिन्न विधामा उत्तिकै दख्खल राख्छन् । आधुनिक, पप, लोकपप, रकलगायतका विधि जनरामा उनले संगीत सृजना गरेका गीतहरु निकै हिट भएकैले उनी लोकप्रिय संगीतकारका रुपमा स्थापित छन् । उनले संगीत सृजना गरेका अक्सर गीतहरु चर्चामा छन् भने भिडियो साझेदारी सञ्जालमा पनि लाखौं पटक हेरिएका छन् ।

थापाद्वारा संगीतबद्ध ‘सधै सधै’, ‘सेल्फि हानौला’, ‘मंगली’, ‘निरमाया’, ‘क्यालेण्डर’, ‘शख्खर चिनी’, ‘कल्पना’, ‘पहिलो माया’, ‘आँखामा गाजल’, ‘छुट्नु पर्नेसँग’, ‘धेरै पछि’, ‘फनफनी’, ‘चोली’, ‘घामपानी’, ‘हे मन’ लगायत थुप्रै गीतहरु लोकप्रिय छन् । पछिल्लो समय धेरै गायक–गायिका, गीतकार, तथा एरेञ्जरहरु संगीतकार थापाको कम्पोजमा काम गर्न लालायित देखिनुले पनि उनको सफलता र लोकप्रियता अनुमान गर्न सकिन्छ ।

धेरैका आइडल संगीतकार बनिसकेका थापाका धेरै गीत युट्युबको ट्रेण्डिङमा आउनुका साथै लाखौं–करोडौ भ्यूज पाउने गरेका छन् । यद्यपि थापा युट्युब भ्युजका आधारमा मात्र गीत÷संगीतको सफलताको मापन गर्न नहुने बताउँछन् । थापा गीत उत्कृष्ट हुनका लागि शब्दको भाव अनुसारको मेलोडी, मेलोडी अनुसारको बाजाको प्रयोग र गाउने गायक–गायिकाको स्वरको उत्कृष्ट संयोजन आवश्यक ठान्छन् । थापाका अनुसार गीत हिट हुनु र उत्कृष्ट हुनु फरक कुरा हुन् । उत्कृष्ट गीत हिट भएमा सुनमा सुगन्ध हुन्छ ।

थापाकै भनाइलाई आधार मानेर हेर्दा पनि उनलाई लोकप्रिय मात्र नभएर उत्कृष्ट संगीतकार भन्न सकिन्छ । कारण उनले उत्कष्ट संगीतका लागि बिभिन्न अवार्ड समारोहमा कयौं अवार्डहरु प्राप्त गरिसकेका छन् । संगीतका बिज्ञहरुको मुल्याङकनका आधारमा प्रदान गरिने अवार्ड समारोहमा उत्कृष्ट भन्दा उत्कृष्टलाई अवार्ड प्रदान गर्ने गरिन्छ ।

रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगीता २०७७ मा प्रथम भएका थापाले सर्वोत्कृष्ट संगीत सृजनाका लागि ‘योङ्ग माइण्ड इण्टरटेनमेण्ट अवार्ड २०७७’, ‘ओएस नेपाल म्युजिक अवार्ड २०७४’, ‘ओएस नेपाल म्युजिक अवार्ड २०७६’, ‘कालिका एफएम म्युजिक अवार्ड २०७३’, ‘जिनियस म्युजिक अवार्ड २०७८’, ‘नेशनल बक्सअफिस म्युजिक अवार्ड २०२१’, ‘नेशनल राप्ती म्युजिक अवार्ड २०७८’, ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०२२’, ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ लगायतका अवार्ड समारोहमा उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरिसकेका छन् । सरकारी स्वामित्वको रेडियो नेपालको बर्गिकरणमा ‘क’ श्रेणीका संगीतकार थापाले रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगीता २०७९ मा त क्लीन स्वीप नै गरे । प्रतियोगितामा थापाको संगीतमा स्वर दिने ममता गुरुङ, मुना ठटाल र सरोज परियार पहिलो, दोस्रो र तेस्रो विजेता हुँदा थापाले उत्कृष्ट रेकर्ड कायम गरेका छन् । यसअघि एउटै संगीतकारको संगीतमा गीत गाएर प्रथम, द्वितीय र तृतिय भएको रेकर्ड छैन ।

थापा भने आफुले संगीत सृजना गर्दा कहिल्यै पनि चर्चार अवार्डका लागि काम नगर्ने प्रष्ट पार्छन । उनी भन्छन् – ‘सरल तर गहन शब्दको छनौट गरि आम स्रोताहरुले मनपराउनु भएको शैलीमा संगीत सृजना गर्ने गर्छु । मैले आफ्नो संगीतमा नविन प्रयोग गर्दा पनि नेपाली स्रोता दर्शकको भाव बुझेर कहि न कतै मौलिकपनलाई टच गर्ने गरेको छु ।’ उनी अघि थप्छन् –‘मैले जहिले पनि आफ्ना अघिल्ला गीतभन्दा उत्कृष्ट काम गर्ने कोसिस गरेकै हुन्छ । मेरो इमान्दार प्रयासलाई स्रोता – दर्शकले मन पराईदिनुभयो ।’

कविर १५ सय भन्दा बढी गीतमा संगीत दिएका थापाले ‘सधै सधै’, ‘नजर’, ‘मनोकाक्षा’, ‘कादम्बरी कुञ्ज’, ‘असिम’, ‘धड्कन’ लगायतका एल्वममा सोलो संगीतकारका रुपमा स्वर पस्किएका छन् । यसका अलवा थुप्रै कलेक्सन एल्वमहरुमा पनि उनको संगीत सुन्न सकिन्छ । फुटकर गीतहरु गरिरहँदा बि.सं. २०६५ सालमा सार्वजनिक भएको ‘आघात’ एल्वममा समावेश ‘दैवको श्राप हो कि’ बोलको गीतबाट गीतहरु एल्वममा समावेश हुन् थालेका हुन् ।

ईना क्यासेट सेन्टरले बजारमा ल्याएको यो एल्वमा समावेश ‘दैवको श्राप हो कि’ बोलको गीत अत्यन्त चर्चित बन्यो । एल्वमका प्रस्तुतकर्ता डा. मीनबहादुर पौडेल यो गीतको चर्चाका कारण एल्वमको विक्री ह्वात्तै बढेको स्मरण गर्छन् । उनका अनुसार एल्वमको विक्रीबाट एल्वममा समावेश गीत÷संगीतका सर्जकहरुले गतिलो रोयल्टी समेत प्राप्त गरेका थिए । ‘आघात’ मात्र होइन थापाको एकल संगीत रहेका लगभग सबै एल्वमहरु चर्चित छन् । एल्वम विक्री र गीतसंगीतको सार्वजनिक प्रयोग गरेबापतको रोयल्टी बुझ्नेमा थापा अग्र सुचीमा पर्दछन् ।

पछिल्लो समय संगीत सृजनाका साथै संगीतको प्रशिक्षणमा पनि थापा उत्तिकै सक्रिय छन् । अझ यतिबेला त उनी इन्ट्रा नेशनल वेलफेयर फाउण्डेसन अफ अमेरिकाको आयोजनामा जारी गायन रियालिटी शो ‘मेरो भ्वइस कप युनिभर्स’को कोचका रुपमा कार्यरत् छन् । यसअघि उनले गायन रियालिटी शो ‘नेपाल आइडल’मा म्युजिक टिचरका रुपमा काम गरेका थिए । संगीतकार थापामा संगीतको अथाह ज्ञान भएकैले आफूहरुले कोचका रुपमा अनुबन्धन गरेको मेरो भ्वइस कप युनिभर्सका निर्देशक एलिन श्रेष्ठको भनाइ छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *