रामचन्द्र बस्नेत
जब नेपालमा लोकतन्त्र स्थापना भयो अनि नेताहरुको हालीमुहाली चल्दै गयो । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक एक हप्तासम्म चलेर अस्ति समाप्त भएको छ । उक्त बैठकमा राजनीतिक प्रतिवेदन आउनुको सट्टा कुनै एनजिओ, आइएनजिओको प्रतिवेदन आएको भन्दै केन्द्रीय सदस्य आरजु राणाले बोलिरहँदा महामन्त्री गगन थापा भने निरिहजस्तै देखिएका थिए । कांग्रेस केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यदेखि पदाधिकारीसमेतले महामन्त्री थापाको आलोचना गरेर समय बिताएका थिए ।
उता सभापति शेरबहादुर देउवाको भने उनीहरुले बचाउ गरेका थिए । त्योसँगै कांग्रेस केन्द्रीय समितिमा बोल्ने अधिकांश वक्ताहरुले नक्कली भुटानी शरणार्थी काण्डमा दोषी ठहरिएका बालकृष्ण खाँडलाई पार्टीले जोगाउनुपर्नेमा अहिलेसम्म त्यसो नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए । उता महामन्त्री थापाले भने भुटानी शरणार्थी काण्डमा मुछिएका नेता खाँडलाई पार्टीबाट निश्कासन गर्नुपर्ने धारणा राखेपछि केन्द्रीय समितिभित्र विरोध भएको थियो । अझ खाँडको मुद्दा अदालतमा विचारधिन रहेको र पार्टीमा नेतालाई कारबाही गर्ने परम्परा नभएको भन्दै संस्थापन पक्षले उनको भरपुर बचाउ गरेका थिए ।
कांग्रेसको यो केन्द्रीय समिति बैठकमा अधिकांश युवा पुस्ताले उठाएका मुद्दा ओझेलमा परेका छन् भने पुरानै पुस्ताले उठाएका अधिकांश मुद्दा हुबहु लागु भएका छन् । भ्रष्टाचारजस्तो जघन्य अपराधलाई पनि पार्टीमा लगेर ढाकछोप गरिरहँदा आगामी दिनमा नेपाली जनताले कुन अवस्थामा पु¥याउने हुन् त्यो भने एकिन भइसकेको छैन । यसरी विभिन्न नेताहरु भ्रष्टाचारमा मुछिँदै जाने त्यसको दोष पार्टीले लिने र बचाउँ गर्दै जाने हो भने कांग्रेसको भविष्य कतातिर जाने हो भनेर सर्वसाधारणले चिन्ता व्यक्त गर्न थालेका छन् ।
झन्डै वर्षदिनपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको एजेन्डाभन्दा पनि नेताहरुबीचको आन्तरिक तेजोबधमै समय खेरा फालेका थिए । हप्तादिन लगाएर सम्पन्न गरिएको कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको सिद्धान्त, निष्ठान र पार्टी संगठनलाई चुस्तदुरुस्त बनाएर अगाडि बढाउनुपर्ने कुनै रचनात्मक योजना देखिएन । खाली एउटा गुटले अर्को गुटलाई खुइल्याउने, एउटा नेताले अर्को नेताको तेजोबध गर्ने, आफ्नो गुटभन्दा अर्को गुटले उठाएको जतिसुकै राम्रो एजेन्डा उठाए पनि त्यसको आलोचना गर्नेजस्ता तुजुकमै कांग्रेस केन्द्रीय समिति बैठक समाप्त भएको छ ।
हुन त नेपाली कांग्रेसको नेतृत्वमा मात्रै यस्तो विकृति र विसंगति आएको होइन । कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुमा कांग्रेसको भन्दा झन् डरलाग्दो विकृति र विसंगति छ । किन भने नेकपा एमालेभित्र पनि पार्टी अध्यक्ष केपी ओलीको हालीमुहाली चलिरहेको छ । ओली पनि दुई पटक अध्यक्ष भइसकेका छन् । अध्यक्ष ओली पार्टीभित्र आफूले भनेकोभन्दा अरु नेताले बोलेको कुरा सुन्दैनन् । ओलीकै घमण्डको कारण माओवादीसमेत मिलेर बनेको नेकपाले झन्डै दुई तिहाई बहुमत ल्याएको थियो ।
सो बहुमत ओलीले एकलौटी गर्न खोज्दा उल्टै नेकपा पार्टी नै भंग भएर एमाले र माओवादी छुट्टिए । त्यसपछि त्यही एमाले पनि फुटेर एकीकृत समाजवादी बन्न पुग्यो । अहिले नेकपा एमालेका कार्यकर्ताले पार्टीको क्रियाशील सदस्यसमेत नविकरण गर्न छाडिसकेका छन् । पार्टी नेतृत्वले यस्तै रहवैया देखाइरहने हो भने नेपाली कांग्रेसभित्र पनि भोलिका दिनमा एमाले र माओवादी केन्द्रको जस्तै दूर्दशा नहोला भन्न सकिँदैन । उता मधेसवादी दलहरुको हालत पनि त्यो भन्दा कम छैन ।
उनीहरुमा पनि पार्टी नेतृत्वले एकलौटी हालीमुहाली गरिरहँदा नेता, कार्यकर्तामा ठूलो असन्तुष्टि देखिएको छ । पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रको लागि मरिहत्त गरेर लागिपरेका नेताहरुको दम्भ र हेपाह प्रवृत्तिको कारण राजनीतिक दलहरु स्वतन्त्रको अगाडि घुँडा टेक्न वाध्य भएका छन् । (तामाकोशीसन्देशबाट)