नयाँ नेपाल र चमत्कारिक विकास

समाचार

नेपाली जनताले परिकल्पना गरेको नयाँ नेपाल र चमत्कारिक बिकास दलका नेताहरुले बाँडेको सपना भन्दा धेरै फरक भएको यथार्थ अहिले ऐनामा हेरेको झै प्रष्ट भईसकेको छ । दलहरुको पछि लागेको त्यो बेलामा नयाँ नेपाल कस्तो होला र चमत्कारिक बिकास भनेको के हो भन्ने जिज्ञासा प्रत्येक नेपालीको मनमा थियो । दलका नेताहरुले उठाएका नयाँ नेपाल र चमत्कारिक बिकासका मुद्दाहरु नेपाली जनताले आफ्नै हिसाबले बुझेका थिए र त्यो अहिले नेपालको वास्तविक यथार्थ भन्दा आकस पातलले नै फरक थियो । दलका नेताहरुले नेतृत्व गरेको जनआन्दोलन ताका नेपाली जनतालाई दलहरुले जोडतोडका साथ प्रचार प्रसार गरेको नयाँ नेपाल र चमत्कारिक बिकासको परिकल्पनाहरु भ्रान्ती मात्रै हो कि यथार्थ नै हो भन्ने कुरा एकिन थिएन । सबैले आआफ्नो क्षमता र ज्ञान अनुसार फरक फरक हिसाबले बुझेका र सोचेका थिए । नेपाली जनता दलहरुले जनवादको सम्मान गर्दै नयाँ नेपालको निर्माण गर्ने र जनपक्षिय चमत्कारिक बिकास गरी देखाउनेमा ढुक्क थिए । त्यसकारण नेपाली जनता दलका नेताहरु प्रति समर्पित भएर घोर बिश्वासका साथ जनआन्दोलनमा सहभागी भएका थिए । प्रत्येक नेपाली जनताले बुझेको र सोचेको नयाँ नेपाल र चमत्कारिक बिकासको परिकल्पनालाई समन्वय गरी साकार तुल्याउने जिम्मा दलका नेताहरुको काँधमा थियो ।

यसको विपरित दलका नेताहरुले अहिले के गरेका छन र के गर्दैछन भन्ने कुरा सर्वबिदित नै छ । अहिले नेपालको अवस्था देखीसके पछि नेपाली जनता छाङोबाट खसेको झै महशुस गर्दैछन । पुरानो नेपाल र दलहरुले रुपान्तरण गरेका नयाँ नेपालको अन्तर के हो भन्ने कुरा अब नेपाली जनतालाई प्रष्ट भइसकेको छ । पुरानो नेपाल आत्मनिर्भर थियो भने नयाँ नेपाल परनिर्भर बनिसकेको छ । पहिलेको आत्मसम्मान गौरव नयाँ नेपालमा शिला खोज्दा पनि पाउन सकिन्न । यसरी दलका नेताहरुले नयाँ नेपाल निर्माणको झाँसा दिएर मुलुकलाई ध्वस्त पर्नेछन भन्ने परिकल्पना नेपाली जनताले जनआन्दोलन ताका विलकुलै गरेका थिएनन् । नेपाली जनता अहिले दाना दानाको लागि संघर्ष गर्नुपर्ने अवस्था पुगेका छन । दलका नेताहरुले चमत्कारिक बिकासको नाममा नेपाल राष्ट्रलाई बिदेशीको ऋणबाट कहिले उक्सिन नसक्ने गरी चुरलुम्मै डुबाईदिएका छन । नेपालको अमुल्य युवा जनशक्तिलाई आफ्नो परिवार पाल्न र घरवार चलाउनको निमिक्त बिदेशी मुलुकमा भौतारिन बाध्य दलहरुले पारेका छन । नेपाली युवा जनशक्तिहरु आफु जति सुकै योग्य भएपनि नेपालमा रोजगारी नपाउने भएको हुँदा मानव तस्करहरुको सजिलो सिकार बन्दै आएकाछन । युद्धले गर्दा ध्वस्त भएको मुलुक युक्रेनको झै हालत अहिले नेपालमा उत्पन्न भएको छ । त्यसैलाई दलका नेताहरुले नयाँ नेपाल र चमत्कारिक बिकास भन्दैछन । एक पछि अर्को श्रृंखलावद्ध तरिकाले भएका भ्रष्टाचार र अपराधका काण्डहरु माथि दलहरुले नै विगतमा लगाएका पर्दाहरु बिस्तारै हट्दैछन । दलहरुले भ्रान्ती फैलाएर नेपाली जनता बिरुद्ध गरेका अपराधहरुको पर्दाफास हुने अवस्था नेपालमा निर्माण भएको छ । राजतन्त्र र हिन्दूराष्ट्रलाई हटाउने नयाँ नेपालको परिकल्पना सबै नेपाली जनताको थिएन भन्ने कुरा पनि अहिले प्रष्ट हुँदै आएको छ ।

नेपाल राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र बनाएर ठुलो काम गरेको सोच्ने दलका नेताहरुले नेपालको चमत्कारिक बिकास गर्ने मुद्दालाई भने भुसुक्कै बिर्सेकाछन । लोकतन्त्रको महत्व राजतन्त्रमा पनि थियो र अहिले चलेको गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण छ । नेपालको पूर्व राजाहरु सबैले जनभावना अनुसार नै शासन गरेको दाबी गर्ने गरेका छन । आफैलाई महान जनवादी ठान्ने दलहरुले भने नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउदा नेपाली जनताको जनमत बुझ्ने चेष्टा सम्म पनि गरेनन् । दलहरुको नीति र नेतृत्व कहिले जनपक्षिय भएको छैन । भ्रष्टाचार र अपराधले थिलथिलो पारीसकेको नेपाल राष्ट्रलाई अब दलहरुले नै कसरी उकास्न सक्ला भन्ने सन्देह नेपाली जनताको मनमा बढेको छ । दलका नेताहरुले राष्ट्रको ठुलो लगानी गरी संबिधान सभाबाट नै बनाएको नेपालको संबिधान २०७२ अनुसारको संघियता र गणतन्त्र नेपाली जनताले त्रुटीपूर्ण र अव्यवहारिक ठहराएका छन् । राष्ट्रको आम्दानीले नधान्ने संघियता र गणतन्त्र चलाउनकै लागि सरदर ३ खरब बिदेशी ऋण प्रतिबर्ष लिनु पर्ने राजनीतिक व्यवस्था दीगो नहुने कुरा सर्वबिदित नै छ । यस्तो प्रष्ट हुँदा हुँदैपनि दलहरु संघियता र गणतन्त्रलाई जोगाउने खेलमा लागेको लागेकै छन । संविधानमा उचित संसोधन गरी राज्य संचालन गर्ने शासकिय स्वरुपलाई बदलेर प्रतिबर्ष १२ खरबको हाराहारी पुगीसकेको सरकारी चालुखर्च कम गर्ने वा गराउने तिर दलहरुले आफ्नो ध्यान केन्द्रित गर्न सकेको छैन । नेपालको राजनीतिमा दलहरुको एकाधिकार र मनोमानी अब लामो चल्न वा टिक्न सक्दैन किनकि युवा पुस्ताहरु फरक सोच र सिद्धान्त भएको राजनीतिक पार्टीहरु खोलेर राजनीतिको मैदानमा उत्रिसकेका छन् । उमेरले ७० बर्षको आसपास पुगिसकेका बुढा नेताहरुको बर्चस्वलाई चुनौती युवा नेताहरुबाट फरक ढंगले आइसकेको छ ।

नेपालको राजनीतिमा परजीवी झै टाँसिर बसेका सक्रियता हिन बुढो नेताहरुलाई विस्थापित गर्न सक्ने संभावना भएका नेताहरु राप्रपा र रास्वपा जस्ता नयाँ राजनीतिक दलहरुमा प्रशस्तै देखिएका छन । नेपाली जनताले सोचेको जस्तो नयाँ नेपाल बनाउन पुराना दलका नेताहरु नराम्रो सित असफल भएका छन । सुन तस्करी काण्ड, ललितानिवास सरकारी जग्गा अपचलन काण्ड र भुटानी नक्कली सरणार्थी काण्डले दलहरु माथिको नेपाली जनताको बिश्वासको जगलाई नै भत्काईसकेको छ । अझै दलका ठुला नेताहरुले गरेका यस्ता धेरै भ्रष्टाचार काण्डहरुको फाईल खुल्न नै बाँकी छन । सबै काण्डहरुको अनुसन्धान खुल्दै र कानुनी कार्यबाही चल्दै गएमा दलका शीर्ष नेताहरु समेत जेल पर्न सक्ने निश्चित देखिएको छ । दण्डहिनता बढेर कानुनी राज समाप्त भएको अवस्थाबाट नेपाल राष्ट्र गुज्रिरहेको छ । नेपाली जनताले देखेको नयाँ नेपालको सपना यस्तो हुन सक्दैन । नेपाली जनतालाई दलहरुले भ्रान्ती फैलाएर नयाँ नेपालको सपना देखाउँदै माछा माछा भ्यागुता पारीदिएका छन । नेपालको चमत्कारी बिकास गरी देखाउँछौ भन्ने राजनीतिक दलहरुले विकासको नाउँमा मुलकको विनाश नै गरी दिएका छन । २२ खरबको राष्ट्रिय ऋणको भारी नेपाली जनताको टाउकोमा थप्ने दलका नेताहरुले राष्ट्रको चमत्कारिक विकास झै कता गरेका छन भनि दिनमा नै सिट्टा बालेर खोज्नु पर्ने अवस्था अहिले मुलुकमा विद्यमान छ । ऋण गरेको राष्ट्रको महत्वपूर्ण लगानी फजुलको परियोजनाहरुमा दलका नेताहरुले खर्च गरी मुलुकलाई डुबाउने काम गरेका छन । दलका नेताहरुको ठोश काम गर्ने ढंग छैन र परियोजनाहरुको छनौट गर्दा अनुभवी विज्ञहरुको सहायता पनि लिने गरेका छैनन् । अनुभवहिन आफ्नै राजनीतिक कार्यकर्ताहरुलाई आफ्नो विज्ञ सल्लाहकार बनाएर उसैको सल्लाहमा राष्ट्रलाई नै आतेपाते स्वाह पार्दै आएकाछन । नेपालमा दलहरुले रोजगारीको अवसरहरु श्रृजना गर्न सकेको छैन । नेपालको सबै आर्थिक हिसाबले सक्रिय युवाशक्तिलाई वैदेशिक रोजगारीमा जानको लागि बाध्य पारेका छन । दलहरुले नेपालको स्थिति यति सम्म बिगारेका छन कि नेपालका परियोजनाहरुमा काम गर्ने दक्ष र अदक्ष जनशक्तिको ठुलो अभाव उत्पन्न भएको छ ।

चमत्कारिक बिकासको कुरा गर्दै जाँदा नेपालको म्यानुफ्याक्चरीङ उद्योगको विकास बारे पनि दुईचार हरफ लाख्नै पर्ने हुन्छ । नेपालले यो उद्योगको क्षेत्रमा अति बिकसित चीन र भारत सित प्रतिश्प्रधा गर्न सक्दैन । उक्त मुलुकहरुको म्यानुफ्याक्चरीङ उद्योहरुका उत्पादनले नेपाली बजार भरीभराउ भएकाछन । नेपालका व्यापारीहरु र व्यवसायीहरु उक्त मुलुकहरुबाट आयात गरिने समानहरु बचेर बस्ने मात्रै हुन । भाटभटेनी जस्ता ठुला व्यापारिक मलहरुले अनेक शाखा प्रशाखाहरु खोलेरे बिदेशी समानहरु नेपालमा बेच्ने धन्दा चलाउदै आएकाछन । त्यसकारण नेपालमा म्यानुफ्याक्चरीङ उद्योगहरु खोलेर चीन र भारत सित प्रतिश्प्रधा गर्न सकिन्न । त्यो भन्दा नेपालले कृषी उद्योगको क्षेत्रमा नै ध्यान केन्द्रित गर्न सकेमा यसैबाट कालन्तरमा राष्ट्रको कायापलट हुने चमत्कारिक बिकासको सुरुवात गर्न सकिन्छ । त्यसको लागि भूमिव्यवस्थापन अहिले नेपालमा चलेको जस्तो लापरबाहीलाई रोक्नु पर्छ । दलहरुले भू–माफियालाई नेपालमा प्रोत्साहित गरेको हुँदा नेपालमा कृषी योग्य जमिनहरुको बिनास भएका छन । वास्तविक किसान सित खेती योग्य जग्गा जमिन छैन भने घर जग्गाका दलालहरु र भू–माफियाले नेपालका भूमिपतिहरु सित मिलेर जग्गा जमिनको बिनास गर्दैछन । यसको सबै भन्दा ताजा उदाहरण दमकको गिरीबन्धु टी स्टेट नै हो जसमा ओली सरकारको पालामा ठुलो भ्रष्टाचार भएको आरोप लागेको छ । नेपामा दलहरुको यस्तै रवैया कायम हुने र चल्दै जाने हो भने कालन्तरमा नेपालको पहिचान र अस्तित्व नै मटिन सक्ने हालत उत्पन्न हुन सक्ने संभावना बढ्दै गएको देखिन्छ । बाहिरी दुष्मणहरुलाई सजिलै देखिन्छ र चिनिन्छ पनि तर सरकार भित्रै घुसेका नाफाखोर दलाल तस्कर माफियाहरुलाई सजिलै चिन्न र जान्न सकिन्न । दलहरु भित्र घुसेका त्यस्ता अपराधी मनोवृत्ति भएकाहरुले दलका शीर्ष नेताहरुलाई नै गुमराहमा पारी राजसत्तालाई कमाई खाने भाँडो र व्यापार व्यवसाय तुल्याएका छन । त्यस्ता तत्वहरुलाई चिनेर दलका नेताहरुले आफैलाई सुधार्न सकेन भने नेपालबाट संघियता र गणतंत्र समाप्त हुन कुनैबेर लाग्ने छैन । नयाँ नेपाल नरामा मात्रै सीमित राखी नेपालमा कुनै ठोस चमत्कारिक बिकास गर्न नसकेका दलहरुले नेपालको पहिचान नै मेटाउँलान कि वा राष्ट्रको अस्तित्व नै समाप्त पर्लान कि भन्ने कुरामा नेपाली जनता सधैं सजग र सक्रिय भएर प्रतिरोध गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *