काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै सर्वसाधारण नेपालीले ज्यान गुमाउनु पर्दैन भनिरहँदा सरकारी अस्पतालहरु भने निजी अस्पतालमा बिरामी खोजिदिने एजेन्ट जस्तै बनेका छन् । पैसा नभएका सर्वसाधारणहरु सरकारी अस्पतालमा उपचारको लागि जाने गर्दछन् ।
तर, सरकारी अस्पतालले भने विरामीको साधारण चेकजाँच गरिसकेपछि यो रोगको उपचार गर्न यहाँ उपकरण छैन, त्यसको लागि फलानो निजी अस्पताल जानु भनेर नामै तोकी पठाउने गर्दछन् । यसको उदाहरण बनेको छ देशकै पुरानो अस्पताल भनेर चिनिने वीर अस्पताल । वीर अस्पतालमा देशैभरिका सर्वसाधारणहरु बिरामीहरु उपचारको लागि भीड लाग्ने गर्दछन् । त्यसरी भीड लागेसँगै बिरामीहरु अलपत्र पर्ने गरेका छन् । कतिपय विरामीहरु साधारण उपचार गरेर घर फर्कन्छन् भने कतिपयलाई जटिल रोग लागेको हुन्छ । त्यसको चेकजाँचको लागि सिटीस्क्यान, एमआरआई, एक्सरे, अल्ट्रासाउन्ड गर्नुपर्ने हुन्छ ।
त्योसँगै अन्य रगत, दिशा, पिसाबलगायतको जाँच गर्नुपर्ने हुन्छ । भित्री रोगको चेकजाँच गर्नुपरेपछि यस रोगको उपचारका लागि यहाँ उपकरण छैन भनेर निजी अस्पतालमा पठाउँछन् । यसरी सरकारी अस्पतालले निजीमा पठाउने आफ्ना कन्ट्याकका अस्पतालहरु हुन्छन् । जस्तो वीर अस्पतालका डाक्टरहरुले प्रायःजसो त्रिपुरेश्वरमा रहेको ब्लूकर्स अस्पतालमा पठाउने गर्दछन् । त्यस्तै वीर अस्पतालकै अन्य स्वास्थ्यकर्मीहरुले पनि आफ्नो लगानीमा खोलिएका अथवा कमिसन दिने विभिन्न निजी अस्पतालहरुमा पठाउने गर्दछन् । देशै ठूलो र पुरानो वीर अस्पतालमा सिटीस्क्यान र एमआरआई गर्ने मेसिनसमेत छैन भनिन्छ ।
यदि भइहाले पनि सार्वसाधारणलाई तीन महिनापछि आउनु भन्छन् । कतिपय बिरामीहरु पैसा कम भएको तर तत्काल उपचार गर्नुपर्ने हुन्छन् । त्यस्ता हैसियत भएका बिरामीहरुको उपचार कसले गर्ने ? तर, स्वास्थ्यमन्त्री भने विपन्न परिवारका बिरामीका लागि उपचारदेखि बेडसमेत फिरी गरिएको भाषण गर्दै हिड्छन् । अधिकांश सरकारी अस्पतालको हाल अहिले वीरको जस्तै छ । त्यसमा शिक्षण अस्पताल महाराजगञ्ज, कान्ती बाल अस्पताल महाराजगञ्ज, प्रसुती गृह थापाथली, पाटन अस्पताल ललितपुर र निजामति अस्पताल बानेश्वर रहेका छन् । यी सरकारी अस्पतालहरुले आफूलाई कमिसन आउने र आफ्नो लगानी भएका निजी अस्पतालमा बिरामीहरु रिफर गर्ने गर्दछन् ।
त्यसमा निजीमति अस्पतालले गौतमबुद्ध अस्पताल कोटेश्वरमा पठाउने गर्दछ । त्यस्तै अन्य सरकारी अस्पतालहरुले पनि विभिन्न निजी अस्पतालमा बिरामी रिफर गर्ने गरेका छन् । यसरी सरकारी अस्पतालहरुले आफ्नो अस्पतालमा आएका बिरामीहरुलाई यहाँ तपाईंको पालो तीन महिनामा आउँछ । तपाईंको बिरामी सिरियस छ, त्यसैले फलानो निजी अस्पतालमा जानु तुरुन्त उपचार हुन्छ भनेर रिफर गरिदिन्छन् । सरकारी अस्पतालबाट निजीमा रिफर गरिएका बिरामीबाट भएको आम्दानी आधा–आधा बाड्ने गरेको गुनासोसम्म आउने गरेको पीडितको भनाइ छ ।
तर, स्वास्थ्यमन्त्री बस्नेत भने मिडियावाजी गरेर आफ्नो प्रचारवाजी गर्नमै व्यस्त छन् । मन्त्री बस्नेत अस्पताल अनुगमनको नाममा घुमफिरमै रमाउने गर्दै आएका छन् । मन्त्री बस्नेतले आफूले मन्त्रालय सम्हालेदेखि विभिन्न अस्पतालको अनुगमन गरेजस्तो पनि गरे । सरकारी अस्पतालका डाइरेक्टर फेर्नेदेखि कर्मचारी सरुवा बढुवा पनि लिप्छन् । त्यसैगरी उनले विभिन्न औषधि उद्योग र औषधि सप्लायर्स कम्पनीहरुको अनुगमन पनि गरेजस्तो गरेर कमिसन बटुल्न भ्याएकै छन् ।
पैसा नभएकै कारण सर्वसाधारण उपचारबाट बिमुख हुनुपर्दैन भनेर फोटो खिचाउने र प्रचारवाजी गर्ने काम पनि गरिरहेका छन् । तर, मन्त्रीले जतिसुकै भाषणवाजी गरेतापनि स्वास्थ्यमन्त्रालयको मातहतमा रहेका सरकारी अस्पतालले भने पहिलादेखि चलेको आफ्नो चलन छोडेका छैनन् । अहिले पनि वीर अस्पताललगायत सरकारी अस्पतालमा उपचारको लागि आएका सर्वसाधारणले सास्ती खेपिरहनुपरेको छ । स्वास्थ्यमन्त्री बस्नेतको भाषण ‘काग कराउँदै गर्दछ पिना सुक्दै गर्दछ’ भनेजस्तै भएको छ । (तामाकोशीसन्देशबाट)