शीर्ष नेताको सम्पत्ति छानविन गर्ने निकाय खोई ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेपालका राजनीतिक दलका नेताहरुले जतिसुकै आदर्श, सिद्धान्त र निष्ठाका कुरा गरेतापनि ‘मुखमा राम राम ! बगलीमा छुरा’ भन्ने भनाई चरितार्थ भएको छ । नेताहरु सत्ताबाहिर हुउन्जेल आदर्श र निष्ठाका कुरा गर्छन् । जब उनीहरु सत्तामा पुग्छन् अनि आदर्श र निष्ठा बिर्सेर कमाउ धन्दातिर लाग्छन् । त्यसभन्दा बाहेक आफ्नो तानागोतालाई जागिर खुलाउने र आसेपासेको बन्दोबस्ततिर ध्यान दिन्छन् ।

अहिलेसम्म नेपालमा जुनसुकै पार्टीका नेताहरुले देश र जनताको कुरा उठाउने भनेको सत्ताबाहिर हुँदा मात्रै हो । जुनसुकै पार्टीका नेता हुन् उनीहरु सत्तामा पुग्नासाथ आदर्श, सिद्धान्त र निष्ठा बिर्सन्छन् । यसको ज्वलन्त उदाहरण हुन् पटक–पटक देशको जिम्मेवार पदमा पुगेका नेताहरु । त्यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जो पाँच पटक देशको प्रधानमन्त्री बने । त्यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि तीन–तीन पटक प्रधानमन्त्री भइसकेका छन् ।

त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल पनि यो देशको प्रधानमन्त्री भइसकेका छन् । नेपाली कांग्रेसका नेता रामवरण यादव र नेकपा एमाले नेतृ विद्यादेवी भण्डारी राष्ट्रपति बनिसकेका छन् भने सभामुखदेखि विभिन्न मन्त्रालयको मन्त्री भइसकेका कांग्रेस नेता रामचन्द्र पौडेल अहिले यो देशको राष्ट्रपति बनेका छन् । यसरी राजनीतिक पार्टीको आडबाट देशको प्रतिष्ठित पदमा पुग्दा पनि एकपटक देश र जनताको पक्षका काम गरेको देखिएन ।

नेपालका शीर्ष नेताहरु जहिले पनि सत्तास्वार्थ र कुसीको लागि भिडन्त गरेको देखिन्छ । यसरी लामो समयदेखि पटक–पटक देशको जिम्मेवार पदमा पुगेर सेवासुविधा र अनियमितता गरेर कमाएको अकुत सम्पत्तिको छानविन कसले गर्ने ? यो प्रश्न अहिले सबैतिरबाट उठिरहेको छ । उनीहरुको सम्पत्ति छानविन गर्ने स्वतन्त्र निकाय पनि छैन । नियमक निकाय सम्पत्ति शुद्धिकरण आयोग र अख्तियार दूरपयोग अनुसन्धान आयोगमा शीर्ष नेताहरुले आफ्नो बचाउको लागि सञ्जाल फिजाएका छन् ।

नेपालमा खडा गरिएको सम्पत्ति शुद्धिकरण आयोग ठूलाबडाको सम्पत्ति जोगाउने अखडा जस्तै बनेको छ । हुँदाहुँदा राजनीतिक दलका नेताहरुले बुझाउनुपर्ने सम्पत्ति विवरणसमेत सरकारलाई बुझाउन छाडेका छन् । यो मेसोबाट हेर्दा नेपालका संवैधानिक निकायहरु ‘सानालाई एने र ठूलालाई चैन’ जस्तै भएका छन् ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *