सचिवालयमा बसेर करोडौं कमाउँदै यी कर्मचारी

राजनीति समाचार

काठमाडौं । कोही कर्मचारी किन मन्त्रीको सचिवालयमा बस्नका लागि मरिहत्ये गर्दछ ? यस्का उदाहरण र कारण खोज्न गुल्मीका भीमकान्त भण्डारीको थोरै पृष्टभूमि र उनको अकासिएको आर्थिक हैसियत खोतले पुग्छ ।

करारका कर्मचारी भण्डारी जागिरे जीवनका माओवादीका मन्त्रीहरु स्थानीय विकास मन्त्री हितराज पाण्डे,महिला बालबालिका मन्त्री आशा कोइराला,अर्थमन्त्री कृष्णबहादुर महरा र उर्जामन्त्री बर्षमान पुनको सचिवालयमा बसेर काम गरे । कोभिड उत्कर्षमा पुगेपछि जागिर छाडे र विथ ल्याव नामक कम्पनी खोले । निर्वाचनको समयमा झण्डै ११ करोडको सिसि क्यामरा बेच्ने ठेक्का मिलाए प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको सेटिङमा,रसायनिक मल ल्याउने ठेक्का पनि उनैको कम्पनीले पाएको हो ।

कुपण्डोलमा रहेको हिमालयन होटलभित्रै कार्यालय खोलेर कारोवार गर्दै आएका उनका पार्टनर हिमालय होटलका मालिक पनि हुन भन्ने गरिन्छ । उनै भण्डारीले मन्त्रीका पिए हुँदा ६ करोड २४ लाख ४ हजार अकुत आर्जन गरेको अभियोग सहित अख्तियारले विशेषमा दायर गरेको मुद्धामा १२ लाख तिरेर क्लिन चिट पाएका छन् । विशेषको फैसला चित्त नबुझेर अख्तियार सर्वाेच्च पुगेको छ ।

मन्त्रीको पिए बसेर कसरी अकुत आर्जन गर्न सकिन्छ यो त एउटा सानो उदाहरण मात्र हो । अहिले प्रचण्ड नेतृत्वका २२ मन्त्री र ३ राज्यमन्त्रीका थरी थरी निजामती कर्मचारीहरु निजी सचिवका रुपमा कार्यरत छन् ।जसमध्ये कोही त आठ पटकसम्म मन्त्रीका सचिवालयमा बसेर काम गरेकाहरु छन् । एउटै व्यक्ति मन्त्री फेरिएपिच्छे सचिवालयमा बसेर काम गर्ने अवसर कसरी र किन पाउँछ ? के अद्भुत कला छ होला त्यस्तो ती कर्मचारीसँग ?

अर्जुन भण्डारी अहिलेसम्म पाँच जना मन्त्रीको सचिवालयमा बसेर तर मार्न सफल कर्मचारी भित्र पर्दछन् । जनार्दन शर्माको गाउँले भएकै कारण अर्जुन भण्डारीले मन्त्रीहरूको सचिवालय छाडेर अन्यत्र जानुपरेको छैन । तीन पटकसम्म जनार्दनको सचिवालयमा रहेका उनी केही समयदेखि प्रचण्डको परिक्रमा लगाउने ठाउँमा पुगे ।

जनार्दन गृहमन्त्री हुँदा रसुवाको प्रमुख जिल्ला अधिकारी बन्ने सौभाग्य पाए । त्यहाँबाट लागुऔषध नियन्त्रण महाशाखामा केही समय बसेका उनी जनार्दन अर्थमन्त्री नियुक्त भएसँगै पिए मात्र भएनन्, टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण केन्द्रको हाकिम खाए । सहसचिवमा बढुवा हुनुअघि प्रधानमन्त्री प्रचण्डको सचिवालयमा थिए । उपसचिवबाट सहसचिवमा उक्लिए पनि प्रदेशतिर झर्न परेन । सीधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पोस्टिङमात्र पाएनन्,नवराजलाई पुल्चोकतिर पठाएर फेरि प्रचण्डको नीजि सचिव खाने मौका पाएका छन् । यसरी मन्त्रीहरुकै परिक्रमा लगाएर भक्तपुरमा अलिसान महल जोडेका छन् भण्डारीले ।

अहिले चन्द्रागिरीको जमिन्दार उपसचिव शोभाखर रेग्मी पनि मन्त्रीहरुकै परिक्रमा लगाएर अकुत आर्जन गर्न सफल अर्का कर्मचारी हुन । रेग्मी यस अघि बालकृष्ण खाँण गृहमन्त्री हुँदा उनको निजी सचिव थिए । अहिले रक्षामन्त्रीको सचिवालयमा कार्यरत छन् । गृहमा दरबन्दी राखेर रक्षामा पुगेका उनको सरुवा भएर अहिले रक्षामै पठाइएको छ । यस्तै यस अघि प्रचण्डको सचिवालयमा बसेर तर मारेका र अहिले एयरपोर्टमा कार्यरत झंक ढकालले आफ्नो बुहारीलाई आफ्नै कार्यालयमा मात्र तानेका छैनन कि भाइ ज्ञाननाथलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी नीजि सचिव बनाएर कर्मचारी सरुवामा खेतीपाती चलाइरहेका छन् ।

अहिले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको सचिवालयमा कार्यरत रामहरि शर्मा अहिलेसम्म ९ जना मन्त्रीको सचिवालयमा बसेर तर मार्न सफल कर्मचारीभित्र पर्दछन् । यस्तै प्रकाश अधिकारी पनि अहिलेसम्म सात जना मन्त्रीको सचिवालयमा बसेर काम गर्न सफल अर्का कर्मचारी हुन । भौतिक राज्यमन्त्री नन्दा चपाईको सचिवालमा कार्यरत सीता गुरुङ पनि पटक पटक मन्त्रीको सचिवालयमा घुम्न सफल अर्काे कर्मचारी हुन ।निजामतीमा यस्ता तरमारा कर्मचारीहरुकै बोलबोला छ भनिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *