पछिल्लो समय नेपालबाट विदेसिने युवा जमातको लर्काे लाग्ने गरेको छ । मुलुकमा अर्थतन्त्रको असमान सूचकले नेपालको अर्थतन्त्र कति कमजोर भन्ने देखाइसकेको छ । महंगीले सीमा नाघ्नु, खर्चको तुलनामा आम्दानी निकै कम हुनु, विदेशमा बढी अवसर र आम्दानी देख्नु, राज्यभित्रको बेथिति र भ्रष्टाचारले युवा जनशक्तिलाई नैराश्य बनाउनु, मुलुकमा शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत आर्थिक, सामाजिक पक्षहरु सुधार हुन नसक्नु र झनै खस्कँदै जानु, जताततै राजनीति र राजनीतिक शक्तिलाई प्रश्रय दिनु, सरकारले मुलुकमा अवसर सिर्जना गर्न नसक्नु जस्ता विविध कारणले गर्दा नेपालबाट युवा जनशक्ति पलायन भएको देख्न सकिन्छ ।
पछिल्ला पुस्ता किशोर किशोरीहरु आफ्नो प्रारम्भिक शिक्षा सकेलगत्तै विदेशमा शिक्षा आर्जन र अवसरका लागि जान चाहनेको भिड लाग्ने गरेको छ । एक त पछिल्लो समय सरकारल अवसर पनि सिर्जना गर्न सकेको छैन । आफ्नो प्रारम्भिक शिक्षा सम्पन्न गरिसकेपछि श्रम बजारमा विद्यार्थीले रोजगारीको अवसर नै पाउँदैन । अवसर पाएता पनि शैक्षिक योग्यताअनुरुपको नहुने र सामान्य खर्च धान्न पनि नसक्ने किसिमको हुने गर्दछ । महंगी आकासिएको अवस्थामा साधारण खर्चले धान्न नसकेपछि राम्रो अवसर र आम्दानीका लागि युवा श्रमशक्ति विदेशतर्फ लालायित भएको पाइन्छ ।
पछिल्लो समय साना उद्यमी र व्यवसायीहरु पनि विदेसिन थालेका छन् । मुलुकको अर्थतन्त्र खस्किँदै जाने र सरकारले विभिन्न कठिनाई सिर्जना गरेर व्यवसायीलाई समेत पलायन बनाउने अवस्था बनाएको छ । नेपालको अर्थतन्त्रमा एउटा यस्तो दुष्चक्र सिर्जना भएको जसले अर्थतन्त्रका सबै पक्षलाई दीर्घकालीन रुपमा कमजोर बनाउँदै गएको छ । नेपालको अर्थतन्त्रमा देखिएको दुष्चक्रको प्रमुख पक्ष भनेको सरकारले आयातलाई गरेको सहजीकरण हो । आयात सहजीकरणकै कारण मुलुकमा लघु उद्यम र औद्योगिक कलकारखानाहरु बन्द हुँदै गए ।
यसले सरकारको आफ्नो आम्दानीमा त असर ग¥यो नै मुलुकमा महंगी सिर्जना भयो र मुलुकको आफ्नो उत्पादन नै हुन छाड्यो । उत्पादनमुलक व्यापारीहरु बिचौलिया व्यापारीको रुपमा मौलाउन थाले । आफुलाई प्रमुख व्यापारीहरु भन्नेहरु पनि विदेशबाट आयातित वस्तुहरु बजारमा बेच्न व्यस्त छन् । मुलुकमा उद्यम नहुने, औद्योगिक कलकारखाना नचल्ने, कृषि उत्पादनहरु विस्थापित हुँदै जाने अवस्था सिर्जना भएपछि मुलुकमा महंगीले सर्वसाधारणलाई च्याप्दै गयो ।
फलस्वरुप युवा तथा किशोर जनशक्तिहरु मुलुकमा आम्दानीले खर्च धान्न नसकेपछि र आयातले सबै विस्थापित गरिदिँदा अवसर नदेखेर विदेसिन बाध्य भए । अहिले यो दुष्चक्र अझ गम्भीर बन्दै गएको छ । विदेसिएकाले पठाएको रेमिट्यान्सले विदेशमै उत्पादिन वस्तु किनेर खानुपर्ने अवस्था छ । यो खराब स्थिति सर्वसाधारणमा लागु भएको छ भने एकाध बिचौलियाले यसको फाइदा उठाएका छन् । समग्रमा मुलुक आर्थिक रुपमा निकै कमजोर बनेको छ भने सर्वसाधारण जनता कमजोर अर्थतन्त्रका मारमा परेका छन् ।
अझ यसमाथि पनि सरकारको बिचौलिया व्यापारी पोस्ने नीतिका कारण मध्यम र साना व्यापारीहरुको पनि उठिबास लागेको अवस्था छ । त्यसैकारण पनि उच्च शिक्षाका नाममा किशोर किशोरी र व्यापार व्यवसायबाट च्यापिन पुगेका युवा जमात विदेसिन लर्काे लागेको छ ।
मुलुकको अर्थतन्त्रमा बिचौलियाको भूमिका खेल्ने तिनै राजनीतिज्ञ, राजनीतिक नेताहरुका आसेपासे, उद्योग कलकारखाना बन्द गरेर आयातलाई व्यापार बनाएका ठूला व्यापार, भ्रष्ट कर्मचारीहरु रहेका छन् ।
यिनै स्वार्थी व्यक्तिहरुकै हालीमुहालीका कारण आर्थिक नीति पनि मुलुकको आर्थिक हितभन्दा पनि व्यक्तिगत स्वार्थ मेल खाने गरी निर्माण गरिएको छ । केही मुलुकका हित हुने खालका नीतिमाथि पनि कुल्चिएर आफु अनुरुपको व्याख्या गरिन्छ । मिलिभगत पनि यतिसम्मको छ कि न्यायपालिकाले केही गर्न सक्दैन । न्यायपालिका आफैंमा भ्रष्टहरुको संरक्षक बनेको छ । भ्रष्टहरुलाई नै मुलुकको संवैधानिक अंगहरुको जिम्मा दिइन्छ । भ्रष्टहरुको सञ्जाल नेपालमा जस्तो छ त्यही अनुरुपकै दुष्चक्र नेपालको अर्थतन्त्रमा देखिएको छ ।
जबसम्म यस्ता भ्रष्टहरुबाट नेपाल मुक्त हुँदैन र कठोर निर्णय लिइँदैन, तबसम्म नेपालमा देखिएको यो खराब आर्थिक दुष्चक्र तोडिनेवाला छैन । र, जबसम्म यो दृष्चक्र र बेथितिको अन्त्य हुँदैन, तब सम्म आर्थिक सुधार हुने देखिँदैन । आर्थिक सुधार र मुलुकमा सम्भावना नदेखेसम्म युवापुस्ता र किशोर किशोरी नेपालमा रोकिनेवाला पनि छैनन् ।
पछिल्लो समय एउटा भनाइ निकै प्रख्यात बनेको छ, ‘यदि विदेशी मुलुकले नेपालीलाई सहजै भिसा दिने हो भने नेपाल खाली हुने सम्भावना छ’ । हो, पछिल्लो समय यस्तै अवस्था सिर्जना भएको छ । कुनै पनि युवायुवती र किशोर किशोरीहरु नेपालमा बस्न चाहँदैनन् । मध्यम व्यापारी र उद्यमीहरु पनि बजार नदेखेपछि सामान्य आम्दानीका लागि भएपनि विदेसिन चाहन्छन् । नेपालको अस्थिर राजनीतिले सिर्जना गरेको यो घृणालाई जनताबाट मेटाउन निकै मुस्किल देखिन्छ । अस्थिरता, बेरोजगारी, बेथिति र भ्रष्टाचार, राजनीतिक शक्तिको दुरुपयोग जबसम्म हट्दैन, तबसम्म अर्थतन्त्रमा भएको व्यवधानहरु पनि हट्न सक्दैनन् ।
अब मुलुकले कठोर नेताको गुहार गरेको छ । दीर्घकालीन रुपमा मुलुकलाई दिशानिर्देश गर्दै विश्वका समृद्ध अर्थतन्त्र भएको मुलुकमा समावेश गराउने उद्देश्य बोकेर जनयुद्ध गर्दै सरकारमा आएकाहरु पनि सुख, सुविधा र राजनीतिक शक्तिको सुखसयलमा मुलुकको भन्दा पनि आफ्नै स्वार्थमा लिप्त हुँदा अर्थतन्त्र अझ पछाडि धकेलिएको छ ।
४५ वर्षको अन्तरालमा मुलुकको अर्थतन्त्र कायापलट गरेको नेपालसँग एकै अर्थतन्त्र भएको कोरियासँग नेपाललाई दाँज्ने हो भने नेपाल अर्थतन्त्रको उल्टो दिशातर्फ गएको देख्न सकिन्छ । समय सापेक्ष प्राविधिक, वैज्ञानिक परिवर्तन विश्वमा नै भएको छ । तर समग्र अर्थतन्त्रको मूल्यांकन गर्ने हो भने सापेक्ष रुपमा नेपालको अर्थतन्त्र अझै कमजोर बन्दै गएको हो । अब यसको सुधारका लागि कठोर हस्तक्षेप र दण्डात्मक कानून जरुरी छ र यो कार्यान्वयनका लागि कठिन संघर्ष पनि गर्नुपर्ने देखिन्छ । (तामाकोशीसन्देशबाट)