संघीय मन्त्रालयमा ‘मोदी आउट शाह इन’

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सरकार बनेको आठ महिनामा १२ औं पटक मन्त्रिपरिषद् हेरफेर भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलला मोदीलाई फिर्ता बोलाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले उनको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाएका छन् ।

अमनलाल मोदी मन्त्री भएको बेलादेखि उनीमाथि विभिन्न टिकाटिप्पणी हुँदै आएका थिए । मोदीमाथि कहिले कर्मचारी सरुवा, बढुवा गरेको आरोप त कहिले सुरुवा, बढुवा गरेबापत घुस मागेको आरोप र कहिले संघीय निजामति ऐन ल्याउन नसकेको आरोपल लाग्दै आएको थियो । ढिलै भएपनि संघीय निजामति ऐन ल्याउन मन्त्रीे मोदी लागिपरेका थिए । तर, पार्टी केन्द्रीय कार्यालयले मोदीलाई मन्त्री पदबाट फिर्ता बोलाएपछि उनले ल्याउन लागेको संघीय निजामती ऐन पनि अलपत्र पर्ने देखिन्छ ।

मोदीको मन्त्री पद खुस्किएसँगै साउनको अन्त्यसम्ममा नियमपूर्वम गर्नुपर्ने कर्मचारीहरुको सरुवा, बढुवा पनि ओझेलमा पर्ने निश्चित छ । मोदीले कर्मचारी सरुवा, बढुवाको खाका पनि करिवकरिव तयार गरिसकेका थिए । त्यो पनि त्यसै खेर जाने देखिन्छ । कर्मचारी सरुवा बढुवामा विवाद भइरहँदा मन्त्री मोदीको जागिरै चैट भएको छ । मन्त्री मोदीलाई असफल बनाउने काम माओवादीकै कार्यकर्तादेखि कांग्रेस निकट कर्मचारी संगठन र एमाले समर्थित कर्मचारी संगठनले गरेका थिए ।

अहिले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरुद्ध गरेजस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विभिन्न पार्टी निकट कर्मचारी संगठनहरुले घेराबन्दी गरेकै कारण मन्त्री मोदीको जागिर खुस्किन पुग्यो । हाल नियुक्त भएकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले कर्मचारीहरुलाई कसरी चलायमान बनाउँछिन् ? कर्मचारीहरुको पनि भेउ पाउन सक्ने क्षमता देखिँदैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले कर्मचारीतन्त्र भित्र गर्नुपर्ने काम थुप्रै हुन्छन् । कर्मचारीको वृत्ति विकास, क्षमता, दक्षता र कार्यकौशल हेरी उपयुक्त जिम्मेवारी दिनुपर्ने हुन्छ ।

त्यस्तै सबै दलनिकट कर्मचारी संगठनहरुलाई पनि मिलाउन सक्नुपर्छ । कर्मचारी संगठनका नेताहरुलाई मिलाउन नसक्दा नै मन्त्री मोदी असफल भएका हुन् । कर्मचारीतन्त्र भनेको स्थायी सरकारको अंग हो । कर्मचारी राष्ट्रिय, अन्तर्राष्ट्रिय अध्ययनदेखि विभिन्न तालिम हासिल गरी पोख्त भएका हुन्छन् । कर्मचारीहरु संस्थागत भ्रष्टाचार गर्न पनि त्यत्तिकै माहिर हुन्छन् ।

विभिन्न पार्टी निकट भएर राजनीतिक रुपमा त्यत्तिकै दख्खल राख्छन् । तर, राजनीतिक दलका नेताहरु आफ्नो पार्टीको बखान गर्ने र जनता झुक्याउनेबाहेक अन्य ज्ञान हुँदैन । यसरी चारैतिर बराबर आँखा लगाउन सक्ने कर्मचारीहरुको अगाडि पार्टीले टपक्क टिपेर ल्याएका मन्त्रीहरुसँग त्यो क्षमता हुने कुरै भएन । त्यसैले पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले खासै जस पाउन सक्दैनन् । नवनियुक्त मन्त्री साहले कत्तिको जस पाउने गरी काम गर्न सक्छिन् त्यो आगामी दिनले बताउने छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *