काठमाडौं । ‘कहीं नभएको जात्रा हाँडीगाउँ’मा भनेजस्तै नेपालको कर्मचारीतन्त्रले राजनीतिक पार्टीको आडमा विश्वलाई चकित बनाएको छ । विकसित मुलुकहरुमा राजनीतिक पार्टी निकट कर्मचारी युनियनहरु सञ्चालित हुँदैनन् । तर, नेपालका कर्मचारीहरु भने राजनीतिक दल निकट कर्मचारी युनियन खडा गरेर कार्यालयको कामभन्दा पार्टीको काममा व्यस्त हुने गर्दछन् ।
कर्मचारी नेताहरु सेवाग्राहीको काम गर्नुभन्दा पार्टी र नेताको काममा देश दौडाहा गरिरहेका हुन्छन् । त्यति मात्रै होइन राज्यका अधिकांश मालदार ठाउँमा बस्ने र हैकम चलाउने गर्दछन् । त्यस्ता मालदार ठाउँमा बसेर पार्टी संगठन मात्रै होइन आफ्नो चुनावी खर्च जुटाउनको लागि पनि मरिहत्ते गर्ने गर्दछन् । त्यस्ता मालदार ठाउँमा आफू बस्न अनुकूल नमिले आफ्ना आसेपासेलाई घुमाएर पु¥याउने र उनीहरुबाट कमिसन असुल्ने गर्दछन् । त्यसको उदाहरण बनेका छन् नेपाली कांग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल । उनी अर्थमन्त्रालयमा बसेको पनि अहिले २०, २२ वर्ष भइसकेको छ ।
नेताहरुको दाहिने हात भएका कारण उनलाई अर्थमन्त्रालय छोडेर कहीं जानु परेको छैन । त्यस्तै कांग्रेस निकट कर्मचारी संगठनका सचिव श्रीराम पौडेल कम्पनी रजिष्ट्रारको कार्यालयमा हालीमुहाली चलाइरहेका छन् । उनले अधिकांश उद्योग र कम्पनीहरुको रेखदेख गर्ने गरेका छन् । त्यस्तै कम्पनी रजिष्ट्रारका सहायक रजिष्टर अर्जुन खड्काको हालीमुहाली पनि कम छैन । उता, नेकपा एमाले निकट आधिकारिक ट्रेड युनियनका कावा अध्यक्ष भोलानाथ पोखरेलको पनि तुजुक कम छैन ।
उनी त संसारकै कर्मचारी नेताहरुको अध्यक्ष जस्तै आफूलाई महसुस गर्दछन् । त्यस्तै नेकपा एमाले निकट कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला सरकारी कार्यालयलाई आफ्नो पेवा जस्तै ठान्ने गर्दछन् । उनी जहिले पनि मालदार ठाउँमा बस्ने र काठमाडौं उपत्यकाबार जान चाहँदैनन् । कोइराला प्रायःजसो स्वास्थ्यमन्त्रालय अन्तर्गत पर्ने स्वास्थ्य सेवा विभागदेखि हाल खारेजी भएको शान्ति मन्त्रालयको लेखा फाँटहुँदै अहिले निजामति अस्पतालको लेखा फाँटमा हामीमुहाली गरिरहेका छन् ।
त्यस्तै एमाले कर्मचारी संगठनका उपाध्यक्ष रेवन्त गौतमको त कुरै नगरौं । उनको दरबन्दी काठमाडौं उपत्यकाबाहिर रहे तापनि विगत लामो समयदेखि काठमाडौंमै बसेर मोजमस्ती गर्ने र श्रीमतीलाई जागिरमा पठाएर आफू छोराछोरीको रेखदेख गर्दै आएका छन् । त्यस्तै संगठनकै महासचिव जीवन काफ्लेको त दरबन्दी नै कहाँ हो थाहै छैन । उनी पनि राजनीतिक आडमा देश दौडाहामा हिड्ने र संगठनको कार्यालयमा बसेर कर्मचारी तर्साउनमै व्यस्त रहेका छन् ।
त्यस्तै अर्का कर्मचारी नेता आरसी अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तरमार्ने र आफूविरुद्ध सञ्चार माध्यममा समाचार आएपछि केही पत्रकारहरुलाई मुखबुझो लगाउने काममा व्यस्त छन् । उतातिर एकीकृत समाजवादी पार्टी समर्थक कर्मचारी संगठनका नेता मोहन घिमिरे मन्त्री र सचिवविरुद्ध गालीगलौज गर्ने र आफू ठूलो मान्छे भएको दावी गर्दै आएका छन् ।
उनी पनि सरकारले खटाएको ठाउँमा काम गर्न गएका छैनन् । खाली केन्द्रमा बसेर राजनीतिक पार्टीको आडमा कर्मचारीलाई तर्साउने कमिसन खाने काम गर्दै आएका छन् । उता मधेशवादी दल निकट कर्मचारी नेता भुवनेश्वर चौधरीको पारा पनि त्योभन्दा कमको छैन । उनी मधेसवादी दल निकट कर्मचारीहरुलाई तर्साउने, आफू सरुवा भएको ठाउँमा सेवा गर्न नजाने र काठमाडौंमै रमाएर अकुत सम्पत्ति कुम्ल्याउनमै व्यस्त छन् । उता माओवादी निकट कर्मचारी नेताहरुको कुरा गरिसाध्ये छैन । नेपालमा कर्मचारी युनियनका नेताहरुले गर्दा सधैं सरकार धरापमा पर्दै आएको छ । (तामाकोशीसन्देशबाट)