खुला सीमानाको कारण अवैध धन्दा फस्टाउँदै

समाचार

रामचन्द्र बस्नेत
बिगत लामो समयदेखि नेपालका राजनीतिक दलहरु एकअर्काप्रति आरोप प्रत्यारोप गर्नमै व्यस्त रहेका छन् । उनीहरु देश र जनताको हितमा काम गर्ने भन्दा पनि एक पार्टीले अर्को पार्टीको नेताको धज्जी उडाउने काममा लागिपरिरहेका छन् । नेताहरु नेपाल–भारतबीचको खुल्ला सीमानासम्बन्धी न कुरा उठाउँछन् न त विकास निर्माणमा नै ध्यान दिन्छन् । नेपाली राजनीतिमा यो परम्परा २०४६ सालको परिवर्तनपछि सुरु भएको हो । र, अहिलेसम्म त्यो परम्परा कायमै छ ।

राजनीतिक दलहरुकै कारण सुरक्षा निकाय फितलो हुँदै गएको विश्लेषकहरुको भनाइ छ । विश्वका विकसित देशहरुमा सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बल र सेनाले लिएको पाइन्छ । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पनि अन्य देशबाट आपराधिक गतिविधि नबढोस् भनेर सशस्त्र प्रहरी बल र सेनाले सीमा सुरक्षा गर्ने जिम्मा लिएको हुन्छ ।

तर, नेपालको हकमा त्यो नियम लागु भएको पाइँदैन । नेपालको खुल्ला सीमाका कारण विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरु खुलमखुला अवैध धन्दा चलाइरहेका छन् । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गरिरहेको भनिए तापनि उक्त क्षेत्रबाट हुने चोरीतस्करीका घटनाहरु रोकिएको पाइँदैन । त्यस्तै नेपालबाट विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरु पनि नेपालको खुला सीमानाको फाइदा उठाउँदै भारतको बाटो भएर विश्वका विभिन्न देशमा अवैधानिक रुपले पुग्ने गरेका छन् ।

विश्वका विभिन्न देशमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरु पनि भारतको बाटो हुँदै नेपाल छिर्ने र यहाँ बसेर अवैध धन्दा सञ्चालन गर्ने गरेका थुप्रै उदाहरणहरु छन् । राष्ट्रिय सुरक्षा जस्तो सम्वेदानशील विषयमा न त राज्यले ध्यान दिन्छ न त सुरक्षा निकायले नै । नेपालमा छिमेकी मुलुक हुँदै विभिन्न देशका नागरिकहरु नेपाल छिर्ने र अवैध धन्दा चलाउने गरेको पाइन्छ ।

यसरी विदेशबाट आएर मनोमानी ढंगले अवैध र आपराधिक गतिविधि सञ्चालन गरिरहँदा नेपालको सुरक्षा निकाय भने बेखबर जस्तै बनेर बसेको छ । यदि त्यो होइन भने सरकारले नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएर फरार सुचीमा रहेका व्यक्तिलाई किन पक्राउ गर्न सक्दैन ? बालुवाटार जग्गा काण्डका नाइके शोभाकान्त ढकाललाई अहिलेससम्म नेपाल प्रहरीले पक्राउ गर्न सकेको छैन । त्यसकारणले पनि नेपालको शान्तिसुरक्षा कमजोर हुँदै गएको आभास हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *