जनतासँग नजोडिएको राजनीति र विकास

समाचार

राजनीतिको मुख्य आधार भनेको जनता नै हो । त्यसकारण जनता सित नजोडिएका राजनीतिक दलहरु फैलिन सक्दैन । जसरी रुख बोट बिरुवाहरुको लागि जीवित रहन र फैलिनको लागि संधै माटो सित जोडिएर बस्नु पर्ने हुन्छ त्यसरी नै राजनीतिक दलहरुले पनि राजनीतिलाई जीवित राखी फैलाउनको निमिक्त जनता सित संधै जोडिएर बस्नु पर्ने हुन्छ । जनतासँग नजोडिएका राजनीति माटो सित नजोडिएका रुख बोट बिरुवाहरु झै चाँडै ओइलाएर मर्ने गर्दछन । राजनीति र जनताको संबन्ध माछा र पानीको जस्तो हो जो जीबित रहनकै लागि एक आपसमा संधै जोडिएर रहनु पर्ने हुन्छ । नेपालमा माओवादी राजनीति पनि त्यसरी नै सुरु भएको थियो । नेपाली जनताको दैनिकी र सुःख दुःखमा जोडिएका थिए । मेलोपात देखि लिएर मर्दा पर्दा सम्म नेपाली जनतालाई सघाउँदै र सहयोग गर्दै माओवादीहरुले नेपालमा आफ्नो बिशाल राजनीतिक आधार तयार पारेको थियो । नेपालको गाउँ गाँउमा भएको सामाजिक कुरीति, भेदभाव र अन्यायको बिरुद्ध खडा भएर माओवादीहरुले नेपाली जनताको मनमा आफ्नो फरक स्थान बनाएको थियो । नेपाली समाजमा व्यप्त जुवातास र जाँड रक्सीको प्रकोपलाई समाप्त पार्न नेपालको कुनाकाप्चा सम्म पुगेर भाटे कार्यक्रम चलाएका थिए । जुवातास खेल्नेहरुलाई खोजी खोजी तास नै खुवाएर तह लगाएका थिए । जाँड रक्सी पिएर आफनै घर परिवारको नास पारी रहेकाहरुलाई सुधार्नको निमिक्त जाँड रक्सीको उत्पादन र बिक्री वितरणममा प्रतिबन्ध लगाएका थिए । आमा समूह बनाएर त्यसलाई समाज सुधार गर्ने र गराउने कार्यमा परिचालित गरिएको थियो । त्यसको नमुना आजसम्म पनि नेपालको कुना काप्चाका गाँउ घरमा परिचालित नै छन । सुरुवाती चरणमा त्यस्तो जनहितको काम गरेको माओवादीहरु अहिले सत्तामा पुगेपछि भ्रष्टाचारीहरु र अपराधीहरु सित जोडिएका छन । यो कुरा माओवादीहरु सित मात्रै सीमित भएको बिषय होइन । नेपालका सबै राजनीतिक दलहरुले सुरुवाती चरणमा नेपाली जनता सित जोडिएर जनहितमा उदाहरणीय काम गर्दै फैलिएका हुन । तत्कालिन समयमा नेपाली जनता माथि चलेको अन्याय र अत्याचरहरुका बिरुद्ध नेपाली काँग्रेसले पनि हतियार उठाएकै हो । त्यसैगरी एमालेहरुले पनि झापाका जमिन्दार सामन्तीहरुका बिरुद्ध हतियार उठाएका नै हुन । सबै दलहरुले तत्कालिन समयमा नेपाली जनताको पक्षमा उभिएर नेपालमा राजनीतिक परिवर्तन ल्याएर सामाजिक बिकास गर्नको निमिक्त आआफ्नो तर्फबाट महत्वपूर्ण योगदान गरेका छन । त्यही योगदानहरुको भरमा नेपाली काँग्रेस, एमाले र माओवादीहरु अहिले सत्तामा पुगेर राज गर्दैछन । तर सत्तामा पुगेपछि उक्त दलहरुको नेपाली जनता सित रहेको पुरानो नाता संबन्ध कमजोर बन्दै गएको छ । त्यसलाई ताजा बनाएर राख्ने काम दलहरुले गरेको छैन । उल्टै राजनीतिक दलहरुले आफ्नो सम्बन्ध नाफाखोर , सुद्खोर, कमिसनखोर, दलाल तस्कर माफिया व्यापारीहरु र व्यवसायीहरु सित बढाएर राष्ट्रलाई लुट्ने काम गर्दै आएका छन । त्यसको ताजा ताजा उदाहरणहरु एक होइन अनेक छन् । त्यसबारे नेपाली जनतालाई एक एक हिसाब किताप थाहा भएको हुनाले यहाँ लेखी राख्नु र भनी राख्नु जरुरी छैन । दलका नेताहरु नेपाली जनता सित जोडिएर बस्नुको साटो भ्राष्टाचारीहरु र अपराधीहरु सित जोडिएर बसेका छन् । आफै सत्तामा भएको वा बसेको बेलामा आफ्नो सन्तानको सात पुस्तालाई पुग्ने गरी धन सम्पत्ति जुगाड गर्न तल्लिन भएर दलका नेताहरु लागेका लागेकै छन् ।
अहिले नेपालमा मच्चिएका भ्रष्टाचार र अपराधका काण्डहरु सबै त्यसकै परिणाम हुन । राष्ट्रलाई सबै दलका नेताहरु मिलेरै लुट्ने अनि सात पुस्तालाई पुग्ने गरी अकुत धन सम्पत्ति कमाउने होड नै चलेको छ । दलका नेताहरुले आफैलाई नेपालको ऐन नियम कानुन भन्दा माथि राखेर लोकतन्त्रको खिल्ली उडाएका छन । यस्तो लोकतन्त्र, संघियता र गणतन्त्र नेपाली जनताको लागि के काम जसमा दलका शीर्ष नेताहरुको मोजमस्ती चल्ने र नेपाली जनताले भने सास्ती मात्रै भोग्नु पर्ने ! दलका शीर्ष नेताहरु किन आफैले गरेका कामहरु प्रति र नेपाली जनता प्रति जबाफदेही बन्न तयार छैनन् ? उहिले राजपरिवारहरु कानुन भन्दा माथि भयो भनी होहल्ला गर्ने दलका नेताहरु किन अहिले आफै नेपालको ऐन, नियम र कानुनलाई मान्न तयार छैनन् । दलका यति धेरै नेताहरु सबैलाई राजपरिवारलाई जस्तै नेपालको ऐन, नियम र कानुन भन्दा माथि मान्नु परेपछि दलहरुले ल्याएको लोकतंत्रको कुनै अर्थ छैन । दलका शीर्ष नेताहरुले नेपाली जनता सित जोडिएर बस्ने सोचलाई नै त्यगीसकेका छन । उहाँहरु अब सुन तस्कर, मानव तस्कर, मुद्रा तस्कर, लागु पदार्थ तस्कर आदि सित जोडिएका छन । तिनीहरुकै दानापानी खाएर नेपाल राष्ट्रलाई नै भष्म तुल्याउने अभियानमा सक्रिय भएर लागिरहेका छन । नेपालको धर्म, सँस्कार, परम्परा र सँस्कृतिलाई समाप्त पारीसकेका छन् । नेपाल संसारमा एकमात्र हिन्दूराष्ट्र भएको पहिचान र राजतन्त्रको इतिहासलाई दलका नेताहरुले नेपालको संबिधान २०७२ लागु गरी खतम पार्ने प्रयास गरेका छन । तर नेपाली जनताको मनमष्तिकबाट भने दलका नेताहरुले कहिले पनि मेटाउन नसक्ने कुरा अहिले नेपालमा उत्पन्न बिकट राजनीतिक परिस्थितिले प्रमाणीत गरीसकेको छ । नेपालमा उत्पन्न गम्भिर आर्थिक संकट पनि दलका नेताहरुले अहिले सम्म गरेका हचुवा बिकास कै परिणाम हो भन्ने कुरा नेपाली जनताले बुझीसकेका छन । नेपाली जनता सित नजोडिएका दलका नेताहरुको राजनीति र बिकासले नेपालको भविष्य अन्धकार तुल्याईसकेको छ । नेपालका युवा पुस्ताहरुले आफ्नो राम्रो भविष्य नेपालमा नदेखेपछि विदेशमा आफ्नो सुन्दर भविष्य बनाउने र खोज्ने उद्देश्य लिएर हुलमा पलायन भएका छन् ।
विदेशी सित ऋण गरी गरी दलहरुले बनाएका बिकासका पूर्वाधारहरु अहिले नेपालको लागि खोटा साबित भएकाछन । कमिसन खाने र खुवाउने उद्देश्यले बनेका त्यस्ता पूर्वाधारहरुले नेपालको राष्ट्रिय आम्दानी बढाउन कुनै योगदान नहुने देखीएका छन । उल्टै त्यस्ता बिकास पूर्वाधारहरुको मर्मत संहार र सञ्चालन गर्न पनि थप राष्ट्रिय ऋण लिनु पर्ने बाध्यता बढेको छ । दलहरुले अहिले सम्म गरेका बिकासका कामहरु राष्ट्रिय ऋणबाट गरेको लगानी मात्रै डुबाउने र राष्ट्रिय आम्दानी भने सुको नबढ्ने खालका मात्रै छन । यस्ता नेपाली जनताको सुन्दर भविष्य सित नजोडिएको राजनीति र बिकास कै कारण नेपालमा गम्भिर खाले आर्थिक संकट उत्पन्न भएको कुरा ऐनामा हेरको झै छर्लङ्ग नै छ । दलका नीतिहरुकै कारण नेपालमा सामाजिक संकट पनि गंभिर बन्दै गएको छ । नेपाली युवापिढीको रोजगारीको लागि बिदेश पलायनले नेपालमा सामाजिक समस्या उत्पन्न गरेको छ । नेपालको परिवारिक बनोट र जीबिकोपार्जनको पद्धति अब पहिलेको जस्तो रहेन । नेपाल द्रुतगतिले एक आत्मनिर्भर मुलुकबाट परनिर्भर मुलुक बनीसकेको अवस्था नेपालमा आज बिद्यमान छ । नेपालको मौलिक सामाजिक संरचनाहरु दलहरु कै नीतिको कारण तहसनहस भईसकेका छन । नेपाल र नेपाली जनतालाई अहिले सम्म जोडी राखेको हिन्दूधर्मलाई पनि दलका नेताहरुले धर्मनिरपेक्षता नीति ल्याएर बिथोलेका छन । यतिमात्र कहाँ हो र दलका नेताहरुले ईशाई धर्मलाई नेपालमा बढावा दिएर नेपाली जनतालाई बिखण्डनको बाटोमा धेरै अगाडि बढाई सकेका छन । राष्ट्रको राजनीतिक नेतृत्वले यसरी जोड्ने भन्दा पनि बिखण्डन गर्ने काममा जोड लगाएको हुँदा नेपाल आवाद होइन बर्बाद हुदै गएको छ । त्यसकारण नेपाली जनतालाई अहिले पुरानो राजतन्त्रको याद आउन थालेको छ । दलका नेताहरुलाई लगाम लगाउने सक्ने कोही भएन भन्दै नेपाली जनता बिद्रोही बन्दैछन । राजाले नेपाली जनतालाई जोडेर राख्ने काम गरेको थियो । मियो झै बनेर राजाले नेपालको राजनीतिलाई सन्तुलित र राष्ट्रवाद सित जोडेका थिए । नेपाली जनताले पनि राजतन्त्रलाई नेपाल राष्ट्रको एकताको प्रतिक र संरक्षक मनेका थिए ।
दलहरुले त्यो राजनीतिक अवस्थालाई बदले पछि नयाँ राजनीतिक विकल्प दिन सकेनन् । फलस्वरुप नेपाल राष्ट्र बिघटन हुन सक्ने मार्गमा धेरै अगाडि बढीसकेको छ । समयमा नै नेपाली जनता सचेत भएर दलहरुको उक्त खतरनाक कदमलाई रोक्न सकेन भने नेपाल राष्ट्रलाई बर्बाद हुनबाट कसैले बचाउन सक्ने छैन । नेपाली जनता सित जोडिएको राजनीति र बिकासबाट मात्रै अब नेपाल राष्ट्रलाई जोगाउन र नेपालको सुन्दर भविष्य निर्माण गर्न सकिन्छ । अन्य उपाय नास्ति । मौलिक बिकासले मात्रै नेपाल जोगिन्छ । बिदेशीको लहैलहैमा लाग्न नेपाल राष्ट्रको लागि आत्मघाती कदम मात्रै हो भन्ने कुरा दलका नेताहरुले जति चाँडो बुझ्यो उति नै चाँडो नेपाली जनता र नेपाल राष्ट्रको लागि राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *