श्री बौद्धनाथ क्षेत्र विकासले रोपाइँजात्रा (घोनाइ) मनाउँदै

समाचार

काठमाडौंं । नेपाललाई परापूर्वकालदेखि विभिन्न धार्मिक संघसंस्थादेखि मठमन्दिरको देश भनेर विश्वमा चिनिँदै आएको छ । त्यसमा अधिकांश मठमन्दिरहरु मर्मतसम्भार गर्ने र त्यसको रेखदेख नेपाल सरकार र सम्बन्धित गुठी संस्थानले गर्ने गरेको थियो । तर, नेपालमा संघीयता लागु भएसँगै स्थानीय सरकार गठन भएपछि ती मठमन्दिरको रेखदेख र मर्मतसम्भार सम्बन्धित गुठी संस्थान र स्थानीय तहले गर्ने भएको छ । स्थानीय सरकारको आन्तरिक स्रोत, गुठी संस्था र विभिन्न दाता संघसंस्थाहरुसँग समन्वय गरी परम्परागत धर्म, संस्कार, संस्कृति, भेषभुष र मौलिक चाड पर्वहरु मनाउँदै आएका छन् ।

त्यस्तै काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको विश्वसम्पदा सूचिमा सूचिकृत बौद्ध स्तुपालाई भगवान गौतम बुद्ध तथा बौद्ध धर्मको रुपमा मानिँदै आएको छ । धार्मिक मूल्यमान्यता संस्कार, संस्कृति र समुदायहरुबीच अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसँगै पर्यटकीय दृष्टिले पनि बौद्ध स्तुपालालाई महत्वपूर्ण तीर्थस्थल मानिन्छ । काठमाडौंमा परम्पराकालदेखि नै विभिन्न जात्रा, पर्व मनाउने गरिँदै आइएको छ । त्यसरी मनाइने पर्वमध्ये गाईजात्रा पर्व पनि महत्वपूर्ण रहेको छ ।

गाईजात्रा पर्वको भोलिपल्ट मनाइने बौद्धको रोपाइँजात्राको पनि छुट्टै महत्व रहेको छ । बौद्धको रोपाइँजात्रा कहिलेदेखि मनाउन थालियो भन्ने एकिन नभएपनि पूर्खाहरुले मृतात्माको चीरशान्तिको कामना गर्दै यो जात्रा मनाउँदै आएका थिए । किसानहरुले रोपाईँ सम्पन्न भइसकेपछि रोपाहार, बाउसे र हलीको प्रतिक स्वरुप श्रृंगार एवं अभियन गरी रोपाईँजात्रा मनाउने गर्दै आएका थिए ।

रोपाइँजात्रालाई तामाङ समुदायले तामाङ भाषामा घोनाई जात्रा पनि भनिन्छ । यस जात्रामा हास्यव्यङ्ग्य, झाँक्री, नाचगान, लाखे घोनाई नाच आदि समावेश गरिन्छ । उक्त जात्रामा विद्यमान विकृति, विसंगतिहरुको व्यङ्ग्य गरिँदै आएको छ । विगतमा श्री बौद्ध घ्याङ गुठी, स्थानीय सामाजिक संघसंस्था र क्लबहरु हुँदै बौद्धनाथ क्षेत्र विकास समितिमार्फत मनाउने गरिँदै आइएको थियो ।

तर, यसपटक भने काठमाडौं महानगरपालिका वडा नम्बर ६ ले समेत जात्रा व्यवस्थापनको लागि सहयोग गरेको छ । दुवै सरकारी निकायको सहयोगमा यसपटकको रोपाइँजात्रा मनाउने तयारी हुँदै छ । बौद्धको रोपाइँजात्रा यही भदौ १५ गते मनाउन लागिएको छ । सो जात्रामा बाउसे, रोपाहार, हली, झाँक्री, हास्यव्यङग्य, हल गोरु, घोडा, घोनाई नाच, बाल रोपाहार र बाल बाउसे आदिरको सहभागिता रहने छ । जात्रामा ब्यापक सहभागिता बढाउनको लागि विभिन्न आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने बताइएको छ । जात्रा व्यवस्थापनको लागि काठमाडौं महानगरपालिकाको पर्यटन सम्पदा विभागले रु. १५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

त्यस्तै बौद्ध घ्याङ गुठी, काठमाडौं मनागरपालिका वडा नम्बर ६ र विभिन्न दाता संघसंस्थाहरुको सहयोगमा उक्त जात्रा सम्पन्न गर्ने भनिएको छ । जात्रा सम्पन्न गर्नको लागि आयोजक कामनपा वडा नं. ६ बौंद्ध श्री बौद्धनाथ क्षेत्र विकास समिति र मुख्य संयोजक श्री बौद्ध कल्याण तामाङ कल्याण गुठी रहेको छ ।

त्यसैगरी मूल समारोह समितिहरुमा ओम तामाङ सुखदुःख सेवा गुठी, छारडान महिला समाज, सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र, तीनचुली भज्यू गुठी, खोस्ती नेवा पुचः, बौद्ध फुटबल क्लब, टुसाल युवा क्लब, स्तुपा युवा क्लब, सितोरियो कराते डोजो शाखा बौद्ध, आनन्दपुर महिला समाज, चुच्चेपाटी दिदी बहिनी समूह, बौद्ध एकल महिला समूह, जोरपाटी एकल महिला समाज, ह्याल्सा महिला समूह, बिहानी महिला समूह, प्राचीन अनुवाद एकमात्री समाज र श्री लर्ड बुद्ध सेकेन्डरी सूकललगायत रहेका छन् । मूल संयोजकको रुपमा जयमंगल लामा रहेका छन् भने आयोज श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा र काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामा रहेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *