सरकारी कार्यालयहरु विचौलियाको अखडा

राजनीति समाचार

काठमाडौं । उद्योगी, व्यावसायी तथा बैंक वित्तीय संघसंस्थाहरुले निजी कानुनी सल्लाहकार राख्ने गरेका हुन्छन् । त्यसरी राखिएका कानुनी सल्लाहकारहरुले ती उद्योग, व्यापार, व्यावसाय तथा संघ, संस्थाहरुमा कानुनसम्बन्धी काम गर्नुपर्नेमा उल्टै विचौलियाहरुसँग मिलेर कमाउ धन्दा चलाइरहेका छन् । उनीहरुले अधिकांश सरकारी कार्यालयहरुमा पनि विचौलियाको भूमिका खेल्दै आएका छन् । ती अफिसहरुमा अधिकांश सेवाग्राहीले कानुनी सल्लाहकारबाट काम लिनुपर्नेमा विचौलियामार्फत हुँदै आउनुपर्ने हुन्छ ।

अहिले कानुनी सल्लाहकार भनेर राखिएका व्यक्तिहरुले लेखनदासको काम गरेर सेवाग्राहीलाई ठगेर सरकारी कर्मचारी पनि पाल्ने र आफू पनि पालिने काम गर्दै आएका छन् । त्यस्तै अधिकांश लेखनदासहरु अहिले सरकारी वकिलको कार्यालयपरिसरदेखि नेपाल प्रहरी प्रभागपरिसर र विभिन्न सेवाग्राहीको भीड लाग्ने सरकारी कार्यालय छेउछाउ बसेर सेवाग्राहीहरुलाई सेवा दिने नाममा महंगो शुल्क लिएर ठगी गर्दै आएका छन् । त्यस्ता देखनदासहरुलाई यति सानो कामको पनि कति धेरै पैसा लिनुभएको भनेर प्रश्न गर्दा भित्रदेखि बाहिर र तलदेखि माथिसम्म मिलाउनुपर्ने भएकाले महंगो पर्न गएको हो भन्ने जवाफ पाइन्छ ।

यस्तो काम गर्ने लेखनदास मालपोत, नापी, कम्पनी रजिष्ट्रारको कार्यालय, विभिन्न राजश्व  कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, यातायात व्यवस्था विभागका विभिन्न कार्यालय, परराष्ट्र मन्त्रालयअन्तर्गत पर्ने राहधानी विभागलगायतका कार्यालयहरुमा भीड लाग्ने गर्दछ । यस्ता सरकारी अफिसहरुमा ती विचौलिया लेखनदासहरुले बाहिरैबाट प्रक्रिया मिलाएर कार्यालय प्रमुखहरुकोमा फाइल र कमिसन पु¥याउने गर्दछन् ।

यदि कथमकदाचित सरकारी कार्यालय प्रमुखहरुले सिधै सेवा सेवाग्राहीलाई पठाइदिनुहोस् भन्ने जवाफ दिएमा सो कार्यालय प्रमुखलाई सबैतिरबाट घेराबन्दी गरेर काम गर्न नदिने र गल्ती पत्ता लगाउनसाथ जेलसम्म पठाउने गर्दछन् । अहिले तिनै तहका सरकारी कार्यालयमा कामकाजको लागि कुनै सेवाग्राही आएमा उनीहरुको काम हुन नदिने र विचौलियामार्फत त्यही काम आउँदा गरिदिने चलन छ । त्यसकारण अहिले सरकारी कार्यालयदेखि प्राइभेट रुपमा सञ्चालित कार्यालयहरुमा बिनाविचौलिया कुनै काम नहुने गरेको छ । त्यसमा पनि अझ सरकारी कार्यालयमा त विचौलियाले हाकिमसमेत घुमाउने गरेको पाइन्छ ।

त्यस्तै लेखनदासका छोराछोरीलाई सरकारी अड्डामा लेखानदासको काम गर्न खटाउने गरिन्छ । उनीहरुको सबै सरकारी कार्यालयहरुमा बिहान १० बज्न नभ्याउँदै भीड लाग्न थाल्छ । त्यसरी भीड लाग्ने विचौलियाहरुले पाँच हजारमा हुने कामलाई सेवाग्राहीसँग १०, १५ देखि २० हजारसम्म असुल्ने गर्दछन् । त्यसकारण पनि सेवाग्राहीले सिधैं लगेको काम हुँदैन । आफूले लगेको काम सिधै नभएपछि सेवाग्राहीहरु लेखनदाससँग जान वाध्य हुन्छन् । त्यसरी आफूले गर्न नसकेको काम लेखनदासले गरिदिएपछि सेवाग्राहीहरु उनीहरुले जति पैसा माग्छन् त्यति दिन वाध्य हुन्छन् । अहिले हरेक सरकारी कार्यालयहरुमा विचौलियाहरुको धन्दा फस्टाएको छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *