कुलतमा फस्ने र सम्बन्ध विच्छेदको ताँती

राजनीति समाचार

नेपालमा रोजीटोरी अभाव भएपछि अधिकांश मानिसहरु विदेसिने क्रम बढेसँगै पारिवारिक सम्बन्ध पनि खलबलिएको छ । अध्ययन र रोजीरोटीको अभावमा विदेसिएका जोडीहरु दिनप्रतिदिन घरबारबिहीन बन्दै गएका छन् । एक तथ्यांकका अनुसार आर्थिक वर्ष २०७९÷८० मा मात्रै ३८ हजार हाराहारी जोडीहरुको सम्बन्ध विच्छेदको मुद्दा दर्ता भइसकेका छन् ।

यो क्रम अझ बढ्दै जाने देखिन्छ । यसो हुनुमा आर्थिक अभाव, वैदेसिक रोजगारी, महत्वकांक्षी जीवनशैली, बेरोजगार, सामाजिक सञ्जालको प्रभाव र नयाँ साथी÷संगीको देखासेखी नै प्रमुख कारण बनेको छ । कतिपयका श्रीमती विदेशमा हुने र त्यहाँ अन्य पुरुषसँग सम्बन्ध राख्ने कारणले श्रीमान–श्रीमतीबीच खटपट हुने गरेको देखिन्छ ।

त्यस्तै कतिपयका श्रीमान् विदेशमा हुने यता श्रीमतीले अन्य परपुरुषसँग सम्बन्ध गाँस्ने कारणले झगडा हुँदै आएको छ । कतिपयका श्रीमतीले विदेशमा राम्रो काम गरिरहँदा पनि श्रीमानले शंका गर्ने कारणले खटपट हुने गरेको पाइन्छ । यसरी विभिन्न कारणले श्रीमान–श्रीमतीबीच मनमुटाब बड्दै गएपछि त्यसले समाजमा नकारात्मक असर पार्नुका साथै सम्वन्ध विच्छेदसमेत हुने गरेका थुप्रै उदाहरणहरु छन् । त्योसँगै कतिपय नेपालमै रहेरका व्यक्तिहरुका पनि श्रीमान विभिन्न कुतलमा फस्ने र घरव्यवहार चलाउन नसकेर श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दिने गरेका छन् ।

कतिपयका श्रीमतीले परपुरुषसँग सम्बन्ध राख्ने र मदिरा, धुम्रपान जस्ता कुलतमा फस्ने गरेका कारण श्रीमान–श्रीमतीबीच विवाद हुने र त्यसले सम्बन्ध विच्छेदको रुप लिने गरेका छन् । कतिपय अनमेल र अन्तरजातीय विवाह गरेका जोडीहरुको पनि विभिन्न बहानामा सम्बन्ध विच्छेदका मुद्दा आउने गरेका छन् । यसरी श्रीमान–श्रीमतीबीच सम्बन्ध विच्छेद हुँदा तिनीहरुबाट जन्मिएका बालबच्चाको विचल्ली हुने गरेका थुप्रै उदाहरणहरु छन् ।

किन भने सम्बन्ध विच्छेद गरेपछि आमाले पनि अर्कोसँग विवाह गर्ने र बाबुले पनि अर्की श्रीमती ल्याउने गर्दछन् । त्यसबाट पहिलापट्टीका बच्चा आमासँग बसेपनि बाबुसँग बसेपनि मारमा पर्ने गरेका छन् । उता जेठी श्रीमती र छोराछोरी हुँदाहुँदै सम्बन्ध विच्छेद नगरी कान्छी श्रीमती विवाह गर्ने पुरुष पनि अलपत्र पर्ने गरेका छन् । अहिले सम्बन्ध विच्छेदको संख्या बढ्नुमा अधिकांश युवायुवतीहरुले युरोपियन मुलुक जानको लागि सिधैं अदालतबाट कोर्ट म्यारिज गर्ने र कतिपयले विधिपूर्वक नक्कली विवाह गर्ने गरेका छन् ।

रोजगारी र अध्ययनका लागि त्यसरी विदेश जाने युवायुवतीहरु नेपाल फर्किएर अन्य व्यक्तिसँग विवाह गर्नको लागि पहिला गरिएको पेपर म्यारिज बदर गर्नुपर्ने हुन्छ । विदेश जान नक्कली विवाह गर्नेहरुको सम्बन्ध विच्छेद गर्ने भीड लाग्ने गरेको छ । त्यसले पनि नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्या ह्वात्तै बढेको हो । यसले गर्दा नेपालमा सामाजिक विकृति, विसंगति बढ्नुका साथै पारिवारिक सद्भाव खलबलिँदै गएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *