तीन दलका नेताको दम्भका कारण पार्टीभित्र भाडभैलो कहिलेसम्म ?

राजनीति समाचार

राजनीतिक दलमा विकृति र विसंगति फैलिँदै गएपछि ठूला भनिएका दलहरु आन्तरिक द्वन्द्वमा फस्दै गएका छन् । खासगरी ठूला तीन दलमा अहिले आन्तरिक द्वन्द्व बड्दै गएको छ । त्यसमा सत्तागठबन्धनको ठूलो दल नेपाली कांग्रेसभित्र यतिबेला संस्थापन पक्ष र इतरपक्षबीचको लडाइँ झागिँदै गएको छ । आन्तरिक लडाईँका कारण पार्टीभित्र असन्तुष्टि बढ्ने भीड लागेको छ । लोकतन्त्रको हिमायती भनेर चिनिने कांग्रेसभित्र आन्तरिक ध्रुव्रीकरण बढ्दै गएपछि कार्यकर्तामा निराशा बढ्दै गएको छ ।

पछिल्लो समय कांग्रेसभित्र संस्थापन पक्षभन्दा इतरपक्षको दबदबा बढेको देखिन्छ । उता प्रतिपक्षी दल नेकपा एमाले पार्टीभित्रको आन्तरिक द्वन्द्व झन् चुलिएको छ । अहिले लुम्बिनी प्रदेशको अध्यक्ष बन्नको लागि नेता विष्णु पौडेल र शंकर पोखरेलको भिडन्त चलिरहेको छ । पौडेल र पोखरेल दुवै पार्टी नेता अध्यक्ष केपी ओली निकट भनिए तापनि प्रदेश अध्यक्ष बन्नको लागि सहमति जुट्न सकेको छैन । दुवै नेता भावी पार्टी अध्यक्ष बन्न हैसियत राख्ने व्यक्ति हुन् ।

तर, प्रदेश अध्यक्ष बन्ने होडवाजीले दुई नेताबीच पानी बाराबारको स्थिति निम्त्याउने भएको छ । प्रदेश अध्यक्ष बन्ने होडवाजी चलिरहेको छ । शंकर पोखरेल अध्यक्ष ओली निकट देखिएका छन् भने विष्णु पौडेल असन्तुष्ट पक्षमा उभिएका छन् । अध्यक्ष ओलीले सहमतिमा मिलाएर अध्यक्ष बनाउनु भने तापनि दुवै नेताबीचको टक्करले चुनावमा होमिन पुगेका छन् । कार्यकर्ताहरुले भन्ने गरेका छन् ओलीले भनेको नमान्दा निर्वाचन हुने स्थिति सिर्जना भएको हो । लुम्बिनीको चुनावपछि अन्य प्रदेशको पनि त्यस्तै हविगत हुने देखिन्छ । प्रदेश अध्यक्ष छनोटकै विषयलाई लिएर नेकपा एमालेभित्र ठुलै लफडा सुरु हुने देखिन्छ ।

लुम्बिनीको निर्वाचनलाई हेर्दा नेकपा एमालेभित्र असन्तुष्टि झन् बढेर जाने देखिन्छ । भोलिका दिनमा यही स्थिति रहिरहने हो भने एमाले पार्टी कतातिर जाने हो निश्चित छैन । नेकपा माओवादी केन्द्रभित्र पनि असन्तुष्टि बढ्दै गएको छ । एकातिर सुनकाण्डले पार्टीका उपाध्यक्षसमेत रहेका कृष्णबहादुर महरालाई गाँजिरहेको छ भने अर्कोतिर सरकार सञ्चालनमा भागबन्डा नमिल्दा असन्तुष्टि बढिरहेको छ । सरकारमा रहेका मन्त्रीहरुले पार्टीका खाँटी कार्यकर्ताभन्दा आफ्ना आसेपासे र नातागोतालाई मात्र अवसर दिएको भनेर आरोप लाग्दै आएको छ । ठूला भनिएका पार्टीहरु पनि आन्तरिक द्वन्द्वका कारण विस्तारै ओरालो लाग्ने देखिन्छ ।

यी तीन पार्टीका कार्यकर्तादेखि सर्वासाधारण भोटरहरु विस्तारै आ–आफ्नो पार्टीबाट विलय हुँदै जाने निश्चित छ । त्यसकारण पार्टीका खाँटी कार्यकर्ता र भोटरहरु जोगाउनको लागि एमाले, कांग्रेस, माओवादी केन्द्रका शीर्ष नेताहरु सचेत हुनुपर्ने देखिन्छ । अहिलेसम्म खासगरी तीन ठूला दलका शीर्ष नेताकै कारण पार्टीभित्र द्वन्द्व चर्किएको नेता, कार्यकर्ता र भोटरहरुको आरोप छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *