गुणस्तरहीन बजारको नियन्त्रणमा मौन सरकार

राजनीति समाचार

नेपालको राजनीतिमा जस्तो अस्थिरता छ, नेपालको बजारको अवस्था पनि त्यस्तै छ । सकेसम्म आफुलाई फाइदा हुने काममा व्यापारी÷व्यवसायीले गुणस्तरमा भने कुनै ध्यान दिएको पाइँदैन । जनतालाई ठगी गर्ने र गुणस्तरहीन वस्तु विक्री गर्ने व्यापारी व्यवसायीलाई न त सरकारले कारबाही गर्न सकेको छ, न त यसलाई नियन्त्रण नै गर्न सकेको छ ।

बजारमा यतिखेर व्यापारीले अखाद्य वस्तु मिसाएर विक्री वितरण गरेको पाइन्छ । खासगरी अनुगमन गर्नुपर्ने निकाय विभिन्न ठाउँमा खोलिएका मासुपसल, निजी कम्पनीबाट उत्पादित दुध, दही, जारको पानी, खानेतेल घ्यूजस्ता चिजमा सरकारले अनुगमन गर्नुपर्ने हो । त्यो गरिएको छैन । साथै वाणिज्य विभाग, खाद्य तथा गुण नियन्त्रण विभाग कानमा तेल हालेर बसेको अवस्था छ । बजारको अनुगमन गरेको सरकारले देखाउँछ, तर नेपालीका भान्सामा अधिकांश गुणस्तरहीन उपभोग्य वस्तुहरु आउने गरेको छ ।

अर्काेतर्फ, गुणस्तर नियमन गर्ने निकायका कर्मचारीहरुका कारण पनि जनता मारमा परेका छन् । गुणस्तरहीन र अखाद्य विक्री गर्नेहरुसँग नियमनका नाममा घुस असुली गर्ने र यस्तो प्रवृत्तिलाई खुलमखुला छाडिदिने काम कर्मचारीहरुबाटै हुँदै आएको छ । कर्मचारी नियमनका नाममा एक दुई व्यापारीलाई कारबाहीमा ल्याउने र मिडियामा प्रचारबाजी गर्ने गर्छन । त्योबाहेक अरुसँग घुस असुलेर अपराध ढाकछोप गर्दै आएको पाइन्छ । यस्तै प्रवृत्तिकै कारण नेपाली सर्वसाधारणको स्वास्थ्यमा पनि असर पर्दै आएको छ । बजारमा अधिकांश व्यापारी÷व्यवसायीले गुणस्तरहीन अखाद्य वस्तुहरु विक्री गरेर उपभोक्ताको ज्यान नै जोखिममा हालिरहेका छन् ।

अनुगमन कार्यालका कर्मचारीहरु भने कार्यालयमा रमाउने र मिडियाबाजीका लागि मात्र कहिलेकाहीं अनुगमनमा मात्र निस्किने गर्दछन् । बजारमा भइरहेको यस्तो प्रवृत्तिप्रति अनुगमन निकायहरुलाई अवगत नै हुन्छ । तर यी निकायहरुका कर्मचारीहरु आफ्नो फाइदाभन्दा अरु हेर्ने गर्दैनन् । व्यापारी व्यवसायीहरुले पनि उपभोक्ताको स्वास्थ्यको कुनै ख्याल गरको पाइँदैन । यस्तो प्रवृत्ति नरोकिएसम्म र भ्रष्ट कर्मचारीहरुलाई कानूनी दायरामा नल्याएसम्म नेपाली जनताको स्वास्थ्यप्रतिको खेलवाड रोकिनेछैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *