काण्डमा मुछिएका कर्मचारी कोही खोरमा, कोहीको मस्ती

राजनीति समाचार

काठमाडौं । कुनै समय निजामती सेवाको छुट्टै सान र सम्मान थियो । अहिले कर्मचारी र भ्रष्टाचार एक अर्काको पर्याय बन्न पुगेको छ । हुँदाहुँदै कार्यालयमै यौनजन्य गतिविधि गर्ने कर्मचारीको संख्या समेत बढ्न थालेको छ ।

यस्तै बदमासीमा डामिएका चार कर्मचारीमध्ये एक जेलमा,अर्काे हिरासतमा र दुई जना सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा थन्काइएको छ । पछिल्लो एक महिनामै चार कर्मचारीमाथि यौनकाण्ड लागेको छ । घरमा काम सघाउने युवतीमाथि यौन शोषण गरेको प्रमाण भेटिएपछि इञ्जिनियर हरिकुमार पोखरेल अहिले प्रहरीको चिसो सिढिमा पुगेका छन् । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

यस्तै अघिल्लो सातामात्र चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिम यज्ञमूर्ति भण्डारीले कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।उनले ३५ बर्षीया कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेका र गर्भ बसे पछि गर्भ पतनका लागि दबाब दिँदा अहिले प्रहरी हिरासतमा पुगेका हुन ।

यस्तै यौनकाण्डमा जोडिएका दुई हाकिम र भ्रष्टाचार काण्डमा तानिएका दुई हाकिम गरी चार जना कर्मचारी अहिले सामान्यको बरण्डा (अतिरिक्त)मा थन्काइएको छ । दुई सहसचिव,एक उपसचिव र एक जना अधिकृत । सेटिङ कलामा पारंगत र बदनामी कमाएका कर्मचारीका रुपमा चिनिन्छन्,अधिकारी जो प्रधानमन्त्री प्रचण्डका जिल्लाबासी । राजश्व सेवा समूहबाट नउठेका उनी यस्ता बदनाम कर्मचारी हुन्, कहाँ कसरी मनग्य राजश्व मार्न पाइन्छ खोजेर र रोजेरै ती अड्डामा पुग्ने । आरजु राणा फस्र्ट लेडीको भूमिकामा हुँदा कुस्त रकम बुझाएर त्यहाँ पुगेका थिए अधिकारी । उनको सरुवालाई त्यतिखेर सुपारी तस्करी प्रकरणसँग समेत जोडिएर हेर्ने गरिएको थियो ।

अधिकारी यसअघि सहकारी विभागको रजिष्टार रहँदा बदनामी कमाएका पात्र हुन् । साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोही मातहतको राजश्व अनुसन्धान विभागको नेतृत्वको जिम्मेवारी पाएका त्यहाँका हाकिम झलकराम अधिकारीलाई साढे चार महिनामै सिंहदरबारमा तानेर अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग गहिरो कनेक्सन भेटिएपछि अध्यागमन विभागका महानिर्देशकबाट तानेर गृहले अहिले सामान्य प्रशासनको अतिरिक्त समूहमा पठाएको छ । अधिकारीलाई निजामती क्षेत्रमा शक्तिशाली सहसचिवको रूपमा चिनिने गरिन्छ ।

सत्तानिकट विभिन्न शक्तिकेन्द्रसँग उनको नियमित उठबस हुने गरेको स्रोतको दाबी छ । अधिकारी अध्यागमन विभागको महानिर्देशक हुनुअघि राजस्व अनुसन्धान विभागमा पाँच महिना महानिर्देशकको रूपमा कार्यरत रहेका थिए । राजस्व अनुसन्धान विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएका उनको एकै पटक गृहमन्त्रालयमा सरुवा भएको थियो । गृहमा सरुवा भएलगत्तै उनले गृहअन्तर्गत रहेको र अत्यन्तै संवेदनशील मानिएको अध्यागमन विभागको महानिर्देशक बन्न सफल भएका थिए ।

अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडौं, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । तस्करीका नाइके छिरिङ र अध्यागमनका महानिर्देशक अधिकारीबीचको सुन तस्करीबारे भएको कुराकानीको प्रमाणसमेत सार्वजनिक भएसँगै उनी अहिले सामान्य प्रशासनमा पुगेका छन्,जगेडामा । निजामतीभित्रका शक्तिशाली सहसचिव हुन, झलकराम अधिकारी जो सदैव मालदार कार्यालयमा मात्र बस्दै आए ।

पोखरा स्थायी घर भएका अधिकारी झण्डै एक दशकअघि आफ्नै गृहनगर तत्कालिन पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । तत्कालिन समय उनी बतास समूहसँग लिनदेन गर्दैगर्दा अख्तियारको फन्दामा परेका थिए । तर, अख्तियारमा मुद्दा चलिरहेकै बखत बढुवा भएर उनी तत्कालिन समय जिल्ला विकास समिति, धनुषाको प्रमुख चलाए । मुद्दा चलिरहेकै बखत सुदूरपश्चिम प्रदेश सरकारको अर्थसचिव, सहकारी विभागको रजिष्ट्रार, वातावरण विभागको महानिर्देशक, ठूला करदाता कार्यालयको प्रमुख हुँदै अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशकसमेत बन्न पुगेका थिए ।

झण्डै सात महिना राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेका अधिकारी राजस्वमा छँदा पनि निकै बदनामित बनेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छोटो अवधिमै गृहमन्त्रालय रित्त रहेको बखत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मनाएर अधिकारी अध्यागमन प्रमुखको रुपमा भित्रिएका थिए ।

यस्तै सामान्यकै बरण्डामा अहिले सहसचिव सुशील वैद्य,उपसचिव डमरु पौडेल र अधिकृत अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सहसचिवद्धय झलकराम अधिकारी, सुशील वैद्यका अलवा उपसचिव डमरु निरौला र अधिकृत काजिमान राई थपिएका छन् । सुशील वैद्य दाङको प्रमुख जिल्ला अधिकारी हुँदाहुँदै ललिता निवास जग्गा काण्डमा मुछिएका कारण सामान्यको बरण्डामा तानिएका हुन ।

यस्तै त्यहाँ झापास्थित दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डमरु निरौलाले नगरपालिकाको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएसँगै २४ साउनदेखि बरण्डामा पुगेका छन् । यता लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई समेत सामान्य प्रशासन मन्त्रालयमै तानिँदै छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *