लौ पढ्नुहोस् विद्युत्का कुलमानको भित्री रहस्य

राजनीति समाचार

काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण सम्हालेपछि नेपालमा लोडसेडिङको अन्त्य भयो भनेर नेपाली जनताले हाईहाई गर्दै आएका छन । तर, घिसिङको वास्तविकता नेपाली जनतालाई के थाहा । नेपालीलाई लोडसेडिङ नभइदिए हुन्थ्यो भन्ने थियो । हुनपनि विगत लामो समयदेखि लोडसेडिङको मार खेप्दै आएका नेपालीहरुले त्यसबाट छुट पाएपछि अन्य विषयतिर ध्यान दिने कुरै भएन । निर्देशक कुलमानको भने देखाउने दाँत र चपाउने दाँच छुट्टाछुट्टै भएको नेपाली जनतालाई के थाहा ।

कुलमानले विद्युत प्राधिकरण सम्हालेको दुई कार्यकाल भएको छ । घिसिङलाई तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए । घिसिङ कार्यकारी निर्देशक भएपछि मन्त्री, सचिव र कार्यकारी मिलेर छुट्टै कमिटी बनाएर लामो समयदेखि हुँदै आएको लोडसेडिङलाई अन्त्य गर्ने नीति बनाएका थिए । त्यो नीति टेकेर छोटो बाटोबाट काम गरेपछि लोडसेडिङले पीडित भएका नेपालीहरुलाई राहत मिलेको थियो । लामो समय लोडसेडिङबाट वाक्कदिक्क भएका नेपालीलाई थोरै भएपनि लोडसेडिङमा राहत मिलेपछि घिसिङको हाइहाइ गर्न थाले । त्यसैमा रमाएर उनले पहिलो कार्यकाल पुरा गरेर विद्युत प्राधिकरणबाट बाहिरिए ।

कुलमान बाहिरिएपछि रिक्त भएको कार्यकारी निर्देशक पदमा विद्युतकै कर्मचारी र बाहिरबाट केही व्यक्तिले कार्यकारी निर्देशक बन्ने इच्छा प्रकट गरेका थिए । तर, भाग्यमा भएपछि कसको के लाग्छ र । एकातिर नेपालीहरुले कूलमान नै पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनुपर्ने माग गरिरहेका थिए भने अर्कोतिर राजनीतिक दलका शीर्ष नेताहरुलाई रिझाएर आफू दोस्रो पटक कार्यकारी निर्देशक बन्ने प्रयास घिसिङले गरिरहेका थिए । केही राजनीतिक दलका नेताहरुले उनलाई नरुचाएपनि जनताको चाहना र पैसाको बलमा दोस्रो कार्यकालको लागि कार्यकारी निर्देशक बनेर छाडे घिसिङ ।

घिसिङलाई दोस्रो कार्यकालको कार्यकारी निर्देशक बन्नबाट एमालेले रोक्न खोजे तापनि कांग्रेस र माओवादीले भने काँध हालेका थिए । एकातिर दुई ठूला दलको काँध अर्कोतिर जनताले रुचाएको हवाला अनि किन नबनुन घिसिङ कार्यकारी निर्देशक । घिसिङले त पहिलो कार्यकालमै नजानिँदो हिसावले अकुत सम्पत्ति कमाएकै थिए । अहिले दोस्रो कार्यकाल सम्हालिरहँदा विद्युत प्राधिकरणका अधिकांश ठेक्काहरु आफ्नै दाजु गणेश घिसिङलाई दिएर मालामाल भएका छन् ।

गणेश घिसिङ पनि ठेक्कापट्टाका माहिर हुन् । कुलमानका दाइ गणेश घिसिङले बिनाप्रतिस्पर्धा अबौंको ठेक्का हात पार्दै आएका छन् । गणेशले हार्डवेयर पसल सञ्चालन गर्नेदेखि विभिन्न विद्युतीय निर्माण सामग्रीको सप्लाईको समेत ठेक्कापट्टा हात पार्दै आएका छन् । उता कुलमानलाई बाहिर जनताले जतिसुकै हाइहाइ गरेपनि घिसिङले अधिकांश सिमेन्ट र रड कम्पनीहरुको विद्युत् महसुल २० अर्बभन्दा माथि रहेको बक्यौता उठाउन सकेका छैनन् ।

त्यस्तै अन्य ठूलाठूला कलकारखानाबाट विद्युत् महसुल उठाउन पनि असफल भएका छन् । त्यसैगरी अधिकांश हाइड्रोपावर कम्पनीबाट पनि कमिसन बटुलिरहेका छन् । त्यस्तै विद्युत प्राधिकरणभित्र हुने भ्रष्टाचार र अनियमितताको समाचार बाहिर नआओस भनेर केही टिलिभिजन, दैनिक पत्रिका र केही आफूलाई ठूला ठान्ने अनलाइन मिडियालाई खामबन्दी टक्र्याउने गरेको स्रोतको भनाइ छ । देश आर्थिक मन्दीले जर्जर भइरहेको बेलामा विद्युत प्राधिकरण नाफामा गएको देखाएर कर्मचारीहरु बोनस खान व्यस्त छन् ।

त्यसैगरी विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा कार्यरत अधिकांश कर्मचारीहरुले महिनामा झन्डै ७०, ८० घण्टाको ओभरटाइम सुविधा लिने गरेका छन् । ओभरटाइम लिने कर्मचारीहरुले बिहान ६ बजे अफिस जाने हाजिर गर्ने अनि फर्केर घर आउने खाना खाने फेरि १० बजेपछि रेगुलर डिउटी गर्ने गर्दछन् । कतिपय कर्मचारीहरुले बेलुका ५ बजेपछि पनि काम गरेको देखाएर ओभरटाइम खाने गरेका छन् । धेरैजसोले चाहीं बिहान ६ बजेदेखि ९ बजेसम्मको दैनिक ३ घण्टाको दरले झन्डै महिनामा बिदा कटाएर ७०, ८० घण्टाको ओभरटाइम सुविधा लिने गरेको स्रोतको भनाइ छ । उता खाजा भत्ता, ड्रेस भत्ता, बिजुली सुविधा पनि पाउने गर्दछन् ।

त्यस्तै विद्युत प्राधिकरणका गाडीहरु पनि व्यापक रुपमा दुरुपयोग भइरहेका छन् । घरमा मिटर जडान गर्नेदेखि ट्रान्समिटर जडानसम्मा कमिसन खाने गर्दछन् । विभिन्न हाइड्रोपावर कम्पनीहरुबाट अनुगमन, निरीक्षण र सुझाव भ्रमणको नाममा विभिन्न सुविधाहरु लिने गर्दछन् । ठूला विद्युत् आयोजनाहरुले पनि वार्षिक रुपमा नजराना बुझाउने गरेका छन् ।

अहिले विद्युत् प्राधिकरणका निर्देशकदेखि विभिन्न शाखा प्रमुखहरुको त कुरै छाडौं सामान्य कर्मचारीहरुको पनि सम्पत्ति छानविन गर्ने हो भने काहालिलाग्दो अवस्था देखिन्छ । उता हाजिर गरेर अफिसमा कामै नगरी शेयर कारोबार, घरजग्गा कारोबार र अन्य विभिन्न व्यापार व्यवसाय गर्ने कर्मचारीहरु पनि विद्युत् प्राधिकरणभित्र त्यत्तिकै छन् । त्यसैगरी विभिन्न पार्टी निकट भएर संगठन खोल्ने र नेता बन्नेहरुको पनि त्यत्तिकै भीड छ ।

उनीहरु त झन् हाजिर गर्ने, तलब बुझ्ने र राजनीतिक पार्टीको झन्डा बोकेर हिड्नमै व्यस्त छन् । प्राधिकरणभित्र भइरहेका यस्ता विकृति, विसंगतीप्रति भने घिसिङ बेखबर छन् । प्राधिकरणभित्रका कार्यकारी निर्देशक र विभिन्न जिम्मेवार शाखामा बस्ने कर्मचारीहरुको यस्तै लापरबाही चलिरहने हो भने भोलिका दिनमा प्राधिकरण तहसनहस नहोला भन्न सकिन्न । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *