विदेश भ्रमणमै सकियो राज्यको ३२ अर्ब

राजनीति समाचार

काठमाडौं । बजेट बक्तव्यमै सार्वजनिक खर्च कटौती गर्न सबै किसिमका भत्ता खारेज गर्ने भनियो । आर्थिक मितव्ययिता अपनाउन भन्दै कर्मचारीले खाइपाई आएको प्रोत्साहन भत्ता कटाउनेदेखि विदेश भ्रमणमा रोक लगाउनेसम्मका कुरा बजेटमा समेटिए । तर, भनिने एउटा व्यवहारमा अर्कैथरी देखिदैंछ । अहिले पनि लावालस्कर लगाएर मन्त्री,कर्मचारीहरु विदेश शयरमा निस्किएका छन् । कतिसम्म भने दातृ राष्ट्र तथा निकायले वैदेशिक सहायताका दिएको रकम समेत मन्त्री र कर्मचारीहरुको भ्रमणमा खर्च गर्ने गरिएको विरह लाग्दो स्थिति देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डदेखि सभामुख देवराज घिमिरेसम्म अहिले विदेशमा छन् । झण्डै आधा दर्जन मन्त्री तथा राज्यमन्त्री पनि विदेश भ्रमणको तयारीमा रहेको विवरण तामाकोशी सन्देशले प्राप्त गरेको छ । अमेरिका भ्रमण सक्ने वित्तिकै प्रचण्ड उत्तरी छिमेकी मुलुक चीनसम्मको चीन उड्दैछन् । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद पनि अहिले अमेरिकामै छन् । उनी पनि चीन हुँदै प्रधानमन्त्रीसँगै नेपाल फर्कनेछन् ।यस्तै देवराज घिमिरे सचिव पद्मप्रसाद पाण्डे र स्वकीय सचिव तेजप्रसाद भट्टराईलाई बोकेर आयरल्यान्डको डब्लिनमा रमाइरहेका छन् । आजै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विदेश शयरमा निस्कदैछन् ।

यस्तै शहरी मन्त्री सीता गुरुङ मलेसियाको क्वालालाम्पुरमा भ्रमणमा निस्कदैछिन्, दशैकै छेको पारेर कात्तिक ७ देखि ९ गतेसम्म । अर्थमन्त्री डा प्रकाशशरण महत पनि मोरोक्कोतिर निस्कदैछन् । यस्तै प्राप्त विवरण अनुसार खेलकुदमन्त्री डिगबहादुर लिम्वु पनि चीन जाने तयारीमा छन् । राज्यमन्त्री प्रमिला कुमारी सहभागी हुन कोलोम्बो र नन्दा चपाई वेइजिङतिर उड्ने कार्यक्रम तय भइसकेको छ । सामान्य कर्मचारीलाई पठाएर पनि हुने ठाउँमा दोब्बर खर्च बढ्ने गरी मन्त्री आफैँ दलबलसहित जाने विगतको अभ्यासकै निरन्तरताका रुपमा आशंका गरिएको छ ।

कर्मचारीलाई तलब–भत्ता खुवाउनसमेत दातासंग हात पसार्नुपर्ने स्थितिमा देश पुग्दैछ भनेर गरिएका खर्च कटौतीका निर्णय सरकारकै अनिच्छाका कारण कार्यान्वयन नहुँदा आर्थिक अराजकता मात्र बढेको छैन राज्य प्रणालीको कमजोरी पनि छताछुल्ल भैरहेको छ ।
अर्थ मन्त्रालयबाट प्राप्त एक विवरण अनुसार,पछिल्लो १० वर्षमा वैदेशिक भ्रमणका नाममा मात्र ३२ अर्ब ९६ करोड ६२ लाख २६ हजार ४६८ रुपैयाँको खोलो बगाइएको छ । कतिसम्म लाजलाग्दो कुरा छ भने,सहायताका नाममा आएको रकममध्ये ३ अर्ब १५ करोड ६२ लाख १४ हजार रकम भ्रमणका नाममा उडाइएको छ ।

भ्रमण खर्च नियमावली, २०६४ मा विदेश भ्रमण गर्दा दैनिक अति विशिष्ट व्यक्तिले २५० अमेरिकी डलर, विशिष्टले २२५ अमेरिकी डलर, प्रथम तहले १७५ अमेरिकी डलर, द्वितीय तहकाले १५० अमेरिकी डलर, तृतीय तहकाले १२५ अमेरिकी डलर र चौथो तहकाले ९० अमेरिकी डलर भत्ता पाउने व्यवस्था छ । यही डलरका लोभमा पनि कतिपय मन्त्री तथा उच्च प्रशासकहरु तल्ला तहका कर्मचारी गए चल्ने वैदेशिक भ्रमणमा आफैं ¥याल चुहाएर उड्ने गरेको भेटिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *