तीजको नाममा विकृति फैलिँदै

विविध समाचार

शावित्री खत्री
हिन्दू महिलाहरुको महान पर्व भनेर हरितालिका तीजलाई मानिँदै आएको छ । तर, नेपाल बहुदलीय प्रजातन्त्रहुँदै गणतन्त्रसम्म आइपुग्दा मुलुक धर्मरनिरपेक्ष बनाइएको छ । २०७२ सालमा लागु भएको नेपालको संविधानले धर्म निरपेक्ष मुलुक घोषणा गरिसकेपछि धर्म, संस्कार, संस्कृतिमाथि विभिन्न प्रहार हुँदै आएका छन् । दशैं, तिहार, तीज, साउने सक्रान्ति, जनैपूर्णिमा, कुशे औंसी, मागे संक्रन्ति, चैतेदशैंजस्ता सनातन हिन्दुहरुको महत्वपूर्ण चाड पर्व यतिखेर विस्तारै लोप हुने अवस्था देखिँदैछ । हिन्दू महिलाहरुले मनाउने गरेको महत्वपूर्ण चाड हरितालिका तीजलाई भँजाएर विकृति र विसंगतिहरु फैलाउन थालिएको छ ।

अहिले धार्मिक र सांस्कृतिक रुपमा मनाइने चाड तीजलाई फेसनको रुपमा भड्किलो बनाइँदै लगिएको छ । तीनको दर खाने नाममा महिनादिन अगाडिदेखि विभिन्न होटेल, रेष्टुरेन्ट र पार्टी प्यालेसहरुमा मासु, वाइन, बियर र ह्वीस्की खाएर नेपाली महिलाहरु रमाउने गरेका छन् । तर, कतिपय महिलाहरुले तीजलाई महादेवको पूजा आरधना गरी घरमै बसी फलफूल र पानी मात्रै खाएर ब्रत बसी चनागान गरेर मनाउने गरेका छन् । त्यस्ता महिलाहरुले तीजको पर्सीपल्ट पञ्चमी नुहाएर श्रीमानको पाउ ढोगी खाना खाने चलन छ ।

तर, एक्काइसौं शताब्दीमा आएर अहिले पश्चिमाको प्रभावमा परी नेपालको धर्म, संस्कृति र चाडपर्वलाई मास्ने काम महिलाहरुबाटै हुँदै आएको छ । अधिकांश महिलाहरुले जागिर खाने संघ, संस्थादेखि सरकारी कार्यालयमा समेत तीजको दर खाने नाममा ठूलो रकम फजुल खर्च गर्ने गरेका छन् । त्यति मात्रै होइन, त्यस्ता कार्यक्रममा धार्मिक परम्परागत गीत गाएर नाचगान गर्नुपर्ने ठाउँमा त्यो नगरी विभिन्न भड्किला र उत्ताउला गीतसँगै अस्लिल नाच देखाउने गरेका छन् ।

खास गरी तीज धार्मिक चाड भएकाले ब्रत बस्ने अघिल्लो दिन साकाहारी भोजन गर्नुपर्ने हुन्छ । तर, अहिले नेपाली महिलाहरु साकाहारी भोजनको सट्टा मासु र मदिरामा रमाउने गरेका छन् । त्यसको असर मध्यम र न्यून वर्गमा पर्ने गरेको छ । अहिले अधिकांश नेपालीहरुले हिन्दू धर्म र परम्परालाई तोड्दै विभिन्न पश्चिमा देशको नक्कल गरेर रमाउने गरेका छन् । कतिपय महिलाले टिकटक बनाउने नाममा तीजजस्तो धार्मिक पर्वलाई मजाकमा उडाएका छन् । यस्तो सस्कारले भोलिका पिढीमा कस्तो असर पर्ने हो भन्ने ख्याल गरिएको पाइँदैन ।

कतिपय सरकारी, गैरसरकारी संघ, संस्थाहरुमा कार्यरत महिला दिदीबहिनीहरले तीजको दर खाने नाममा मदिरा पिएर उच्छृङ्खल नाच गान गरेका दृश्यहरु पनि नदेखिएका होइनन् । कतिपय महिला दिदीबहिनीहरुले भएभरको महंगा गरगहना पहिरिएर हिड्ने गरेका छन् । त्यसो गर्दा चोरी हुने डर पनि त्यत्तिकै छ । त्यसरकाण परम्परागत चाडपर्व, धर्म, संस्कार, संस्कृतिकलाई जोगाउनको लागि सम्बन्धित निकायले ध्यान दिने हो कि ? (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *