चाडपर्व नजिकिँदै गर्दा न्यूरोड र महाबौद्ध सुनसान

विविध समाचार

काठमाडौं । सरकारले देशमा आर्थिक अवस्था सुध्रिँदै आएको भनिरहँदा अहिले अधिकांश व्यापार व्यवसायहरु चौपट भएको गुनोसो सबैतिरबाट आइरहेको छ । काठमाडौंको न्यूरोड र महाबौद्धजस्तो व्यस्त ठाउँमा दिनमै अबौंको व्यापार व्यवसाय हुने गर्दथ्यो । त्यो व्यापार व्यवसायबाट अर्बौंको पैसा पनि त्यही जम्मा हुन्थ्यो । अहिले आएर न्यूरोड, महाबौद्ध, असन, इन्द्रचोक, भोटाहिटी, ठमेलजस्ता व्यापारिक क्षेत्रमा व्यापार व्यवसाय ठप्प हुँदै गएपछि मानिसको भीड पनि कम हुँदै गएको पाइन्छ ।

पहिला असन, इन्द्रचोकदेखि भोटाहिटीसम्म मानिसहरुको भुइँचो छिचोल्न निकै गाह्रो हुने गरेको थियो । अहिले दिनप्रतिदिन यी ठाउँहरु व्यापारीले भाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । उता काठमाडौं महानगरपालिकाले कतिपय असन, इन्चोकतिरका पसलहरु हटाइदिएको छ । फुटपाथ व्यापारीहरुलाई पनि हटाएको कारणले अधिकांश पसलहरु अहिले खाली अवस्थामा रहेका छन् । असनका एक व्यापारीका अनुसार अब व्यापार गरेर खाने दिन गयो, एक त महानगरपालिकाले सताएको छ ।

अर्कोतिर व्यापार नभएर भाडा तिर्नसमेत मुस्किल परिरहेको छ । त्यति मात्रै होइन कतिपय असन, इन्द्रचोकतिरका घरधनीहरु घरै बेचेर खुला ठाउँतिर जानको लागि आकर्षित भएको बताइन्छ । एकातिर व्यापारीहरुको यस्तो अवस्था छ भने अर्कोतिर नेपाली उद्योगहरुले उत्पादन गरेका अधिकांश वस्तु तथा सेवा बजारमा खपत नहुँदा उद्योग नै धरासायी बन्ने गरेको गुनासो पनि त्यत्तिकै छ । यसो हुनुमा सरकारको गतिविधि र राष्ट्र बैंकको लापरवाहीको नै प्रमुख कारण हो भनिन्छ ।

अधिकांश व्यापार व्यवसाय गर्नेहरुले बैंकबाट ऋण लिन झन्झटिलो र समस्यायुक्त भएको बताइन्छ । बल्लतल्ल बैंकबाट ऋण लिए तापनि व्यापार, व्यवसाय नहुँदा ब्याजसमेत तिर्न नसेको गुनासो पनि ती व्यापारीहरुले गर्न थालेका छन् । सबैतिरबाट समस्याले गाँज्ने तर नगरपालिकाले भने सबैतिरबाट खेद्ने र कर असुल्ने गरेका कारण पनि व्यापार व्यवसाय गर्नेहरु पलायन हुन थालेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *