काठमाडौं । नेकपा एमाले पार्टीभित्र गत अधिवेशनमा खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष चयन हुनुपर्ने माग उठेपछि केपी ओली र भीम रावलको अध्यक्षमा उम्मेदवारी परेको थियो । भीम रावलको उम्मेदवारी फिर्ता गराएर केपी ओलीलाई सर्वसम्म अध्यक्ष बनाउन लभिङ हुँदा पनि रावलले आफ्नो उम्मेदवारी कायम राखी डेरा सर्दै हिँडेका थिए । आखिरीमा केपी ओली नै अध्यक्ष निर्वाचित भए । भीम रावल ठूलो मतान्तरले पराजित भएपछि एमाले पार्टीबाट टाढा जस्तै बने ।
त्यसको असरले सुदूरपश्चिममा एमाले पत्तासाफ जस्तै भयो । अहिले एमालेले सातवटै प्रदेशमा अधिवेशन गर्दै छ । प्रदेश अधिवेशनमा एमालेभित्र दुईवटा गुट गतिलो ढंगले देखा परेको छ । लुम्बिनी प्रदेश अधिवेशनबाट सुरु भएको गुटगत धारले बागमती प्रदेश पनि अछुतो रहेन । बागमती प्रदेशमा सर्वसम्मत अध्यक्ष चयन गर्ने प्रयास गरिए तापनि अन्तिममा निर्वाचन नै हुन पुग्यो ।
त्यसको असर कर्णाली, कोशी, गण्डकी, मधेसहुँदै सुदूरपश्चिमसम्म पर्ने देखिन्छ । अधिकांश एमाले कार्यकर्ताले निष्पक्ष र भयरहित अधिवेशन सम्पन्न गर्नुपर्ने भनिरहँदा नेतृत्वकै कारण एमाले पार्टीभित्र यतिबेला दुई धार देखिएको छ । एउटा विष्णु पौडेलको धार छ भने अर्को शंकर पोखरेलको धार देखा परेको छ । एकातिर एमालेभित्र दुई धार देखिनु अर्कोतिर एमाले पार्टी फुटेर एकीकृति समाजवादी पार्टी बन्नुले आगामी दिनमा एमालेको भविष्य कतातिर जाने हो त्यसको एकिन छैन । गाउँकमिटीदेखि नगर, जिल्ला, प्रदेश र केन्द्रसम्म आइपुग्दा अधिकांश एमाले नेता, कार्यकर्ताहरुले प्रतिस्पर्धाको आधारमा नेतृत्व छनोट गर्नुपर्ने आवाज उठाइरहेका छन् । तर, नेतृत्वले भने सर्वसम्मतिको नाममा गुटको राजनीति गरिरहेको छ ।
एमाले पार्टीभित्र पहिलाको जस्तो कटिबद्ध कार्यकर्ता पनि छैनन् । भएका कार्यकर्ता पनि स्वार्थलिप्त र नेता भजाएर आफ्नो दुनो सोझ्याउने खालका मात्रै छन् । पार्टी संगठन बलियो बनाउने, पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने कार्यकर्ता एमालेमा कम हुँदै गएका छन् ।
एमाले सरकारको पालामा त्यागी, निष्ठावान र इमानदार कार्यकर्तालाई कुनै पनि स्थान नदिने, कमिटीमा पनि नराख्ने, नेताका वरिपरि घुम्नेलाई काखी च्याप्ने, पार्टीभित्र विकृति र विसंगतिको आवाज उठाउने कार्यकर्तालाई बाइपास गर्ने गरेका कारण कार्यकर्तामा नैराश्यता छाएको थियो । गत स्थानीय र आमनिर्वाचनमा पनि गुटको प्रभावमा परेर टिकट वितरण गर्दा अधिकांश कार्यकर्तामा निराशा छाएको थियो । त्यसकै कारण स्थानीय तह र आमनिर्वाचनमा एमालेले अधिकांश ठाउँ गुमाउनुप¥यो । यस्तै अवस्था रहिरहने हो भने आगामी दिनमा एमाले पार्टी जनमोर्चा नबन्ला भन्न सकिँदैन । (तामाकोशीसन्देशबाट)