सहकारी सञ्चालकहरुलाई राज्यले नियन्त्रण गर्न सक्ला ?

राजनीति समाचार

काठमाडौं । अधिकांश सहकारी सञ्चालकहरुले सहकारी ऐनअनुसार एउटा सहकारीमा सञ्चालक बसेपछि अर्कोमा सञ्चालक बस्न नपाइने व्यवस्था छ । संस्थागत सेयर पनि हाल्न पाउने छैनन् । तर, नेपालमा ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै अधिकांश सहकारी सञ्चालकहरुले मनलाग्दी हिसाबले विभिन्न सहकारीमा सेयर हाल्ने, सेयर सञ्चालक बस्ने कारणले पनि अधिकांश सहकारी संस्थाहरु धरासायी बनाउँदै सर्वसाधारणको पैसा हिनामिना गर्ने काम गर्दै आएका छन् ।

सर्वसाधारणको पैसामा सहकारीका सञ्चालकहरुले घरघडेरी किन्न, छोराछोरी विदेशमा पढ्न पठाउने, विवाह भोजभतेर, साधारणसभा, पिकनिकजस्ता काममा खर्च गरेर हिनामिना गर्दै आएका छन् । तर, राज्यले यस्ता फजुल खर्च गर्ने सहकारीलाई नियन्त्रण गर्न सकेको छैन । विगत केही महिना अगाडि सहकारीले ठगी गरेको नाममा माइतीघर मण्डलामा पीडितहरुले करिव ६५ दिने आन्दोलन चर्काएका थिए । सो आन्दोलन सरकार र पीडिपक्षबीचको समझदारीपछि स्थगित भएको थियो ।

आन्दोलन स्थगित भए तापनि सहकारीहरुको ठगीधन्दा रोकिएको छैन । अधिकांश सहकारी एमाले निकट व्यक्तिहरुको रहेको भनाइ छ । त्यसको मुख्य नाइके भनेकै अमृतकुमार बोहोरा हुन् भनिन्छ । एमालेसँगै अन्य पार्टीका नेताहरु पनि सहकारी सञ्चालक बन्ने गरेका छन् । सहकारीको नाममा राजनीतिक दलहरुले ठगी खाने भाँडो पनि बनाएकै छन् । ठगी धन्दा पनि सहकारीमार्फत् नै फस्टाउँदै आएको छ । अधिकांश प्रदेश र स्थानीय तहमा पनि सर्वसाधारण जनताको पैसा हिनामिना गर्नेको झर्को लागि नै रहेको छ ।

यदाहरणको लागि कास्की जिल्लामा रहेको सूर्यदर्शन सहकारी संस्थाले ११ अर्ब, १२ करोड रुपैयाँ हिनामिना गरेको छ । त्यस्तै काठमाडौं उपत्यकाभित्र रहेको ललितपुरस्थित देउराली बचत तथा ऋण सहकारीले ७ अर्बभन्दा बढी हिनामिना गरी सञ्चालक फरार रहेको अवस्थामा सर्वसाधारणको उजुरी परेपछि सञ्चालकलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । अधिकांश सहकारीहरुमा यस्ता ठगीका धन्दा त कति छन् कति । सरकारले यसको निगरानी गरी सजगता नगराएमा भोलिका दिनमा सहकारी पीडितहरुले आन्दोलनको आँधीबेहेरी नल्याउलान् भन्न सकिँदैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *