सम्पत्ति छानबिनको कुरा उठेपछि कर्मचारी भागाभाग

राजनीति समाचार

काठमाडौं । भनिन्छ, ब्युरोक्रेसीहरु यो देशको पहरेदार भनेर । तर, ब्युरोक्रेसीभित्र भ्रष्टाचार झाँगिँदै गएको छ । भ्रष्टाचारकै कारण कर्मचारी तन्त्र बद्नाम हुँदै गएको छ । कर्मचारीकै कारणले गर्दा अधिकांश विकास निर्माणका कामहरुसमेत अलपत्र पर्ने गरेका छन् । कतिपय मालदार ठाउँमा कर्मचारी बस्ने गरेका र कमाउधन्दामा लाग्ने गरेको कारण निजामती क्षेत्र दिनप्रतिदिन बद्नाम हुँदै गएको छ । कर्मचारीहरु आम्दानीको स्रोत भएको मन्त्रालय र सो मन्त्रालयअन्तर्गत पर्ने आयोजना र विभागहरुमा जान रुचाउने गर्दछन् ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मालपोत कार्यालयमा ५–७ वर्ष बसेका ४० जनाभन्दा बढी नासु र खरिदारहरुलाई मालपोत कार्यालयबाट अन्यत्र सरुवा गरेका थिए । मोदी मन्त्रीबाट हटेपछि ती नासु र खरिदार फेरि घुमिफिरी रुम्जाटार भनेजस्तै मालपोत कार्यालयमा पुग्न सफल भएका छन् । यो त साधारण उदाहरण मात्रै हो । अधिकांश कर्मचारीहरु कमाउ अड्डामा मात्रै धाउने प्रवृत्तिले गर्दा भ्रष्टाचार बढेर गएको छ । कर्मचारी नेताहरुले त कर्मचारीको नाममा विकृति नै मच्चाएका छन् । त्यसको उदाहरण बनेका छन्, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, वरिष्ठ उपाध्यक्ष उत्तम कटवाल, महासचिव जनक रावललगायतको हालीमुहाली छ ।

यो संघमा पदाधिकारीसहित एक सय एक जना केन्द्रीय समिति रहेको छ । त्यस्तै एमाले निकट कर्मचारी नेताहरु र माओवादी कर्मचारी संगठनका नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने माग कर्मचारी वर्गबाटै उठ्न थालेको छ । सम्पत्ति छानविन गर्नुपर्ने नेताहरुमा गोपाल पोखरेल, भोला पोखरेल, लेखानाथ कोइराला, रेवन्त गौतम, जीवन काफ्ले, मोहन घिमिरे, तत्कालीन कर्मचारी ट्रेडयुनियनका अध्यक्ष पुण्य ढकाल, माओवादी निकट कर्मचारी संगठनका अध्यक्षलगायतका कर्मचारीहरुको सम्पत्ति छानविन गरेर सार्वजनिक गर्नुपर्ने आवाज कर्मचारी भित्रैबाट उठ्न थालेपछि कर्मचारीभित्र खैलाबैला मच्चिएको छ ।

कर्मचारी नेतामा मात्रै होइन पूर्व सचिवदेखि हालका सचिवहरुको समेत सम्पत्ति छानविन गर्नुपर्ने पीडित कर्मचारीहरुबाटै आवाज उठ्न थालेको छ । कर्मचारीहरुले नगदबाट मात्रै घुस लिने गरेका छैनन् । जिन्सीबाट पनि घुस लिने गरेका छन् । कतिपय सहसचिव र सचिवहरुले त अधिकांश ठाउँमा बस्ने कर्मचारीलाई जिन्सीमार्फत सामान किन्न लगाएर त्यसरी किनिएको सामान अन्यत्र बिक्रीवितरण गरी आर्थिक लाभ लिनुका साथै घर सजावट गर्न र आवश्यक सामग्री किन्न लगाउनेसमेत गर्दछन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *