दल र कर्मचारीले ध्वस्त पारेको अर्थतन्त्र

राजनीति समाचार

अर्थतन्त्र एकदमै जोखिमपूर्ण अवस्थामा छ । बजार महंगीले थला परेको छ । सर्वसाधारण जनताले किनेर खान नसक्ने अवस्था पुगेको छ । बजार चलायमान हुन सकेको छैन । सर्वसाधारणहरु रेमिट्यान्सबाट भित्रिएको पैसाले छाक टार्न बाध्य छन् । लगानीको वातावरण छैन । सरकार र कर्मचारीतन्त्र भ्रष्टाचारले थलिएको छ । अहिलेको अवस्थामा सरकारले कर्मचारीलाई समेत तलब खुवाउन नसक्ने अवस्था सिर्जना भइसकेको छ । मुलुकको आफ्नो आम्दानी छैन, जनप्रतिनिधि, कर्मचारी, नेता सबैले बजेटमा हालीमुहाली गरिरहेका छन् । बजार सुनसान छ, व्यापारी भाग्नुपर्ने अवस्थामा छन् । सीमित ठूला व्यापारी÷व्यवसायीहरुले कालोबजारी चलाएका छन् । मुलुक वास्तविकतामा आर्थिक रुपमा टाट पल्टिएको अवस्था छ ।

तर किन अर्थतन्त्र यसरी धरासायी बन्न पुग्यो, यो सर्वसाधारण जनताको प्रमुख र अपरिहार्य प्रश्न पनि हो । मुलुकको अर्थतन्त्र धरासायी पार्नुमा संघीयता, संघीयतालाई लुट्ने साधन बनाएका जनप्रतिनिधि र मुलुकको भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा ध्यान दिएका केही नेताहरु जिम्मेवार छन् । मुलुकमा उत्पादनलाई कुनै ध्यान दिइएको छैन ।

जब मुलुकको आफ्नो उत्पादन हुन्छ, तब मात्रै मुलुकले आम्दानी गर्न सक्छ । मुलुकको आफ्नो उत्पादन भएको अवस्थामा मात्रै सर्वसाधारण जनताले उपभोग्य वस्तुहरु सहज र सुलभ मूल्यमा पाउन सक्छन् । सबैकुरा आयात गर्ने र आयातलाई छुट दिने खराब प्रवृत्ति राजनीतिक दलहरुले बढाएका छन् । अर्काेतर्फ, यसरी आयात गर्ने बिचौलियाहरु तिनै ठूला व्यापारी, सांसद र नेताका छोराछोरीहरु छन् । आफ्नो स्वार्थबाहेक जनताप्रति कुनै ध्यान नदिने लाचार र लज्जा नभएका राजनीतिक दलका नेताका कारण मुलुक धरासायी बनेको हो ।

नेपालका उद्योग, कलकारखानाहरु बन्द गराएर आयातमा रमाउने काम राजनीतिक दलका नेताहरुले नै गरेका हुन् । मुलुकको आन्तरिक उत्पादन नहुने, बजेट र आम्दानीमाथि भ्रष्टाचार गर्ने र लुट मच्चाउने काम राजनीतिक दल र कर्मचारीहरुले गर्दै आएका हुन् । यसैकारण पनि मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको छ । अब पनि यसको अन्त्य भएन भने जनता सडकमा उर्लिएर राजनीतिक दलका नेता र कर्मचारीलाई लखेट्न बाध्य हुनेछन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *