काठमाडौं । पञ्चायतीकालमा नेपालीहरुले खाना र लाउनकै लागि विदेसिनुपर्ने अवस्था थिएन । किन कि पञ्चायतकालमा अधिकांश उद्योगधन्दा र संघ, संस्थाहरु सञ्चालनमा थिए । जब २०४६ सालपछि नेपालमा प्रजातन्त्र पुनस्र्थापना भयो, तब दलका नेताहरुले सरकार सञ्चालन गर्न थाले त्यसपछि सुरु भएको भ्रष्टाचार, अनियमितता र कुसंस्कारले अधिकांश उद्योग धन्दाहरु बन्द हुँदै गए । प्रजातन्त्र हुँदै गणतन्त्र नेपालमा आइपुग्दा नेपाली जनताले सुशासनको सट्टा सास्ती खेप्नुपरेको छ ।
जनताले सास्ती मात्रै खेप्नुपरेको छैन, विदेसिने नेपालीको लर्को पनि दिनप्रतिदिन बढ्दै गएको छ । अधिकांश नेपालीले विदेशी भूमिमा रगत र पसिना बगाएका मात्रै छैनन् विदेशी जेलमा सड्नेदेखि ज्यानसम्म गुमाउन वाध्य हुनुपरेको छ । त्यसको दरिलो उदाहरण भरखरै इजराइलमाथि हमासले गरेको आक्रमणको घटनाले पुष्टि गरेको छ । अध्ययनको लागि इजराइल गएका नेपाली विद्यार्थीहरुले उक्त घटनामा ज्याउन गुमाउन वाध्य हुनुपरेको थियो । आउँदा दिनमा यस्ता घटनाहरु अझ बढेर नजाला भन्न सकिँदैन ।
यस्ता अकल्पनीय घटनाको सिकार हुँदा पनि अधिकांश नेपालीहरु विदेसिन वाध्य छन् । रोजगारीको लागि मात्रै होइन उच्च शिक्षा अध्ययनको लागिसमेत हजारौं विद्यार्थीहरु कक्षा १२ पास गर्नासाथ विदेसिने गरेका छन् । हालसालै एक अध्ययनले देखाएअनुसार महिनाको १० हजारदेखि १५ हजारसम्म विद्यार्थी एनओसी लिएर विदेश जाने गरेका छन् । त्यस्तै भारतको बाटो हुँदै विभिन्न नाकाबाट भिजिट भिसामा विदेश जानेको संख्या पनि त्यत्तिकै छ ।
यस्ता सम्वेदनशील विषयमा सरकार र राजनीतिक दलहरुले हेलचेक्र्याइँ गर्दै आएका छन् । श्रम तथा रोजगारमन्त्री जुनसुकै पार्टीको बनेपनि यस्ता विषयमा चासो राख्ने गरेका छैनन् । हालका श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारी त झन् नेपाली युवाहरुलाई विभिन्न मुलुकमा पठाउने बाटो खोज्दै विदेश घुम्नमै व्यस्त छन् । नेपाली युवायुवतीहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर देशमा उत्पादन बढाउनुपर्नेमा उल्टै नयाँ–नयाँ मुलुकमा कामदार पठाउनको लागि सम्झौता गर्दै हिँडेका छन् । सम्झौता मात्रै गरेर हिँडेका छैनन्, ती मुलुकमा कामदार पठाएबापत मेनपावरबाट आउने कमिसन र वैदेशिक रोजगार बोर्डको पैसामा रमाउने गरेका छन् ।
मन्त्री सदरसिंह भण्डारी गत असोज १६ गतेबाट रोमानियासँगै युरोप भ्रमण गरेर फर्किएका छन् । सो भ्रमणमा मन्त्री भण्डारी मात्रै गएका थिएनन्, श्रमसचिव केवल भण्डारीसहितको टोली सहभागी थियो । श्रम तथा रोजगार मन्त्रालयभित्रका अधिकांश सहसचिवहरु एक महिनामा कम्तिमा ५ पटक त विदेश भ्रमणमै रमाउने गरेका छन् । विदेश भ्रमणमा मात्र रमाउने गरेका छैनन् सेमिनार, गोष्ठी, तालीमलगायत विभिन्न कार्यक्रममा सहभागी हुने नाममा राज्यको ढुकुटी दोहन गर्ने गरेका छन् ।
श्रमका सहसचिव रामचन्द्र ढकालको त नालीबेली छुट्टै छ । ढकाल मन्त्रालयभित्र लोभी र चल्तापुर्ता व्यक्ति हुन् भन्ने गरिन्छ । ढकाल कहाँबाट कसरी दाम आउँछ, कुन कर्मचारीलाई कुन ठाउँमा पठाउँदा कमिसन आउँछ भन्दै असुलउपरमा व्यस्त छन् । मन्त्री भण्डारी, सचिव र सहसचिव ढकालको मिलेमतोमा ताहचल शाखामा कमाउ धन्दा नै सुरु गरेका छन् ।
वैदेशिक रोजगार विभाग अन्तर्गत ताहचल शाखामा पूर्वस्वीकृति, अन्तिम स्वीकृति, रिइन्ट्री जस्ता विषयमा असुलउपर धन्दा चलाउनको लागि तत्कालीन राजश्व अनुसन्धान विभागका डिजी राजन दाहाललाई पठाएको छ । अहिले दाहालकै आडमा मन्त्री भण्डारी कर्मचारी सरुवादेखि विभिन्न नयाँ मुलुकमा कामदार पठाउने सम्झौतामा समेत ठूलो धनराशी असुल्ने गरेको स्रोतको भनाइ छ । (तामाकोशीसन्देशबाट)