राज्यको ढुकुटीमा मन्त्रीहरुको मस्ती

राजनीति समाचार

भौतिक मन्त्रालयदेखि सडक विभागसम्म सुनसान
काठमाडौं । एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका प्रकाश ज्वालाले कामभन्दा बढी विदेश सयर गरेर दिन काटिरहेका छन् । उनले विदेश भ्रमण मात्रै गरिरहेका छैनन् । कर्मचारी सरुवा, बढुवादेखि विभिन्न योजना, आयोजनाहरुबाट असुलउपर पनि त्यत्तिकै गर्दै आएका छन् । यस्तो असुल उपरको काम मन्त्री ज्वालाले मात्रै गरेका छैनन् । उनका स्वकीय सचिवदेखि नजिकका कर्मचारीहरुले पनि ब्रम्हलूट मच्चाएका छन् । दशैं, तिहार, छठ जस्ता महत्वपूर्ण चाडपर्वले छोपेको छ ।

कालाबजारी र महंगीले सर्वसाधारणको ढाड सेकेको छ । विकास निर्माणका कामहरु लथालिङ्ग छन् । भूकम्प, बाढीपहिरो र दैवैप्रकोपले अधिकांश सर्वसाधारण जनता प्रताडित छन् । तर, मन्त्री ज्वाला भने २९ गते सोमबार दलबलसहित भारत भ्रमणमा निस्किएका छन् । ज्वाला मन्त्री भएदेखि नै भौतिक पूर्वाधारको काममा सिन्कोसमेत नभाँचेर विदेश भ्रमणमा रमाउने र काउनेमा व्यस्त छन् । ज्वालाको दशैं पनि भारत भ्रमणमै हुने छ । अहिले भौतिक मन्त्रालय र सडक विभाग सुनसान अवस्था छ ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल र अर्का रामहरि पोखरेल कमाउधन्दाकै लागि चीन भ्रमणमा निस्किएका छन् । एकातिर भौतिक मन्त्रीले भारत भ्रमण गर्नु अर्कोतिर महानिर्देशक चीन भ्रमणमा जानुले भौतिकको काम अलपत्र पर्दै गएको छ । राजनीतिक दलका शीर्ष नेताहरु भने आफ्नो स्वार्थको लागि आन्तरिक कलहमा व्यस्त छन् । गठबन्धनकाबाट बनेका मन्त्रीहरु पनि आफ्नो मन्त्रालयको कामभन्दा कसरी विदेश भ्रमण गर्ने र कमाउने भन्ने ध्याउन्नामा व्यस्त छन् ।

सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउने भनिरहँदा मन्त्री र नेपाल सरकारका कर्मचारीहरु विदेश भ्रमणमै रमाउने र राज्यको ढुकुटी सिध्याउने कामभन्दा अन्य काम गरेको पाइँदैन । प्रधानमन्त्री प्रचण्ड युरोप भ्रमणसँगै चीन भ्रमणमा पुगेका बेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि चीन भ्रमणमा पुगेका थिए । चीन भ्रमणबाट नेपाल फर्किएको केही साता नबित्दै फेरि भारत भ्रमणमा जानुले भौतिक पूर्वाधार तथा यातायातको विकास हुन्छ भन्नु कल्पना मात्रै हो ।

मन्त्री र कर्मचारीले गर्ने अनियमितताको यी त साधारण उदाहरण मात्र हुन् । अन्य मन्त्रालयका मन्त्री र सचिवहरुको विदेश भ्रमण र फजुल खर्चको त कुरै नगरौं । अधिकांश मन्त्रालयमा फजुल खर्च भएको छ नै मन्त्री र कर्मचारीको विदेश भ्रमणले देश ढुकुटी नै रित्तिँदै गएको छ । एकातिर विदेश भ्रमणको खर्च बढेको छ भने अर्कोतिर प्रदेश सरकार फेरबदल गर्दा फजुल खर्च त्यत्तिकै बढेको छ । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *