चाडवाडको समयमा यात्रा सहजीकरणको काम गरिरहेका छौं

अन्तरवार्ता राजनीति

नेपालीहरुको महान चाड बडा दशैं नजिकिएसँगै काठमाडौंबाट गाउँ जानेहरुको लर्को पनि बढिरहेको छ । तर दसैँमा घर जानेहरुले महँगो भाडा, सिट नपाउने र जोखिम यात्रा गर्नुपर्ने जस्तो समस्या भोग्नु परेको छ। त्योसँगै यातायात क्षेत्रमा कालो बजारीको पनि बिगबिगी छ। तर यसबारे यातायात व्यवस्था विभागले के–कस्तो काम गरिरहेको छ त? सोही सन्दर्भमा यातयात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० नेपालीहरुको महान पर्व दसैँ नजिकिदै छ । घर जानका लागि जनताहरुलाई टिकट लिन सास्ती खेप्नु पर्ने अवस्था छ यसलाई कसरी हेर्नु भएको छ ?
दसैँको समयमा काठमाडौं छाडेर गाँउ घर जाने मानिसहरु धेरै हुनुहुन्छ। त्यसैले हामी यातायात क्षेत्रको यातायात व्यवसायीसँग समन्वय गरेर अगाडि बढेका छौं । यदी जनताहरुलाई टिकट लिन ग्राहो र कालो बजारी भएको कुरा कसैले थाहा पाउनुहुन्छ भने हामीलाई सिधै सम्पर्क वा हेल्प डेस्कमा गएर गुनासो दिन सक्नुहुनेछ । यातायात व्यवस्था विभागले कर्मचारी खटेका हुन्छन्। जनताहरुले गुनासो दिने बित्तिकै कारवाही हुन्छ । कालो बजारी हामीले नियन्त्रण गर्ने त होइन तर गुनासो आएको खण्डमा कानुनी कारवाही अगाडि सार्छौँ । हाम्रो विशेष काम भनेको समन्वय गर्नु र जनताहरुलाई मारमा नपरुन भन्ने हो ।

० दसैंको समय सिट भन्दा बढी यात्रु हाल्न बढी भाडा लिने कालो बजारी दसैँको समयमा नै बढ्छ यसलाई कसरी नियन्त्रण गर्नु हुन्छ ?
यात्रुले बढी भाडा लिएको गुनासो फाट्टफुट्ट रूपमा आए पनि कारबाही नै गर्नुपर्ने भनेर आएका छैनन् । यात्रुको भीड हुने ठाउँमा गुनासा सुन्ने गरी उपत्यकाको १६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । त्यहाँ गएर प्रहरीलाई बढी भाडा लिएको बारे यात्रुले जानकारी गराउन सक्नेछन् । तोकिएको भन्दा बढी भाडा लिएको पाइए कानुनअनुसार कारबाही हुने छ । यात्रुहरूलाई यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी भाडा नतिर्न आग्रह गर्दै आएको छ । बढी भाडा लिएको गुनासो कतैबाट आएको छैन, यस्ता कुरामा यात्रु आफैं सचेत र चनाखो हुनुपर्छ । विभागले अनधिकृत काउन्टर, परिचयपत्र र पोसाक नभएका व्यक्तिबाट टिकट नलिन भनेको छ । यात्रुलाई आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीहरूलाई मिलाउन विभागले सूचनामार्फत ध्यानाकर्षण गराइसकेको छ । विभागले गत असोज २६ बाट पूर्णिमासम्म लागू हुने गरी सबै गाडीलाई देशभर चल्न मिल्ने गरी रुट परमिट खुला गरिदिएको छ ।

० ठाँउ–ठाँउका नाका कटेपछि यात्रुलाई मुडा वा झुण्डाएर यात्रा गराउने पनि यहि समयमा हुन्छ यस्तोलाई के कस्तो कारबाही हुन्छ ?
दसैं सुरु भएसँगै बसपार्क र काउन्टरहरूमा घर जाने यात्रुको भीड बढ्न थालेको छ । विद्यालय र कलेज बन्द हुन थालेको र कतिपय अफिसले छिट्टै बिदा दिन थालेपछि बसपार्कमा घर जानेको चाप बढेको छ । यति बेला गोंगबुस्थित नयाँ बसपार्कमा बढी चहलपहल छ, जहाँ बिहान र साँझमा घर जाने यात्रुको भीड बढ्ने गरेको छ । विगतका दिनहरुमा जनताहरु यसरी पनि गाँउघर गएका छन् । तर, जस्तै कलंकीसम्म जाँदा सिटमा मात्र मान्छे हाल्ने त्यसपछि मुडा वा झुण्डाएर यात्रा गराउने यातायातलाई कारवाही गछौँ । हामीले ट्राफिक प्रहरी, स्थानीय तह, जिल्ला प्रशासन कार्यलयमा पनि समन्वय गरेका छौं । त्यसले गर्दा यात्रुहरुले आफैँले पाएको दुःख तुरुन्तै हामीलाई भन्नुपर्छ । हामीसँग त्यस्तो गुनासो आए, हामीले तुरुन्तै कारवाही गर्छौँ । फिल्ड जरिवाना, चिट काट्ने, र अर्को गाडी पठाइदिने छौँ । जनताहरु पाएको गुनासो ढुक्कसँग भन्नुपर्छ । यातायात व्यवस्था विभागले सञ्चालनमा ल्याएको हेल्प डेस्कमा जतिपनि गुनासो आउँछ, त्यसलाई समाधान गरेर जनताहरुलाई सहजीकरणमा मद्दत पु¥याउने छौँ ।

० दसैंमा घर फर्किनेहरू अहिले कति पुगे ?
असोज २२ बाट अग्रिम टिकट बुकिङ खुला भएको हो । त्यसयता मात्र आजको दिन सम्म १ लाख ५० हजार ३०९ यात्रु बसपार्कबाट बाहिरिएको छन् । असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ र आज बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन् । यो माइक्रो र यात्रुवाहक बसमा टिकट काटेर जाने यात्रुको संख्या हो । अहिले बसपार्कमा दैनिक दसैंका लागि घर जाने यात्रुको चाप छ । फूलपाती र अष्टमीका लागि टिकट बुकिङ गर्न आउने यात्रुको खचाखच उस्तै छ । अहिले दसैंका लागि यात्रुहरू घर जान थाले पनि फूलपाती, अष्टमी र नवमीका दिन सबैभन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेका छन् । यो पटकको दसैंमा १६ लाख यात्रु बाहिरिने अनुमान छ ।

० यात्रुको लागि सडकको अवस्था कस्तो छ ?
सडक पूर्वाधारमा अझै समस्या रहेको गुनासो छ । सडक मर्मतमा धेरै सुधार नभए पनि सामान्य सुधार भएको छ फेरि वर्षात् भए समस्या हुने देखिन्छ । अहिले मुख्य समस्या नागढुंगा–मुग्लिङ, मुग्लिङ–पोखरा, नारायणगढ–मुग्लिङ, कमला–कञ्चनपुर सडक खण्डमा छ । अहिले यी सडकमा मर्मतसम्भार गरेर चाडबाडका लागि केही सहज बनाइएको छ ।

० मुलुकमा दसैं, तिहार, छठजस्ता चाडपर्वको समय सुरु भएको छ । नेपाली समाजलाई दसैंको हर्षोल्लास र खुसियालीले छोइसकेको छ । चाडपर्व सुरुसँगै एउटा त्रास पनि सुरु भएको छ । त्यो त्रास हो सडक दुर्घटना । चाडपर्वका वेलामा सडक दुर्घटनाको बढी हुन्छ किन ? यसबारे विभागको तयारी कस्तो छ ?
असोज, कात्तिकलाई दसैं, तिहार र छठका लागि आवतजावत बढी हुने महिनाका रूपमा लिइन्छ। दसैंको बहार असोजबाटै सुरू हुन्छ । दसैं सकिएपछि तिहार आउँछ । छठ पर्वको रौनक लाग्छ। यसैकारण यी दुई महिनामा चाडपर्व मनाउन आवत–जावत बढी चल्छ । यही आवतजावतका क्रममा अक्सर ठूला दुर्घटना हुने गरेका छन्। ससाना दुर्घटना पनि यही समयमा बढी भएका छन् । सवारी दुर्घटनाको कारण वर्षेनी हजारौँ मानिसको मृत्यु हुने गरेको छ । सडकको कमजोर अवस्था, चालकको लापरवाही, तीब्र गतिलगायतका कारण उपत्यकाभित्र तथा बाहिर दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । एक सवारीसाधनले अर्काे सवारीसाधनलाई ओभरटेक गर्ने क्रममा हुने दुर्घटनामा परी वर्षेनी सयौँ मानिसको निधन हुने गरेको छ ।

यसका अलवा, पैदलयात्रुको लापरबाही, कमजोर सडकको अवस्था, तोडफोड, पशु चौपायलगायतका विविध कारण हुने भएको दुर्घटनामा वर्षेनि हजारौँ मानिसको निधन हुने गरेको छ । विभागले नजिकिँदै गरेको महान् चाड विजयादशमी तथा दिपावलीलाई लक्षित गर्दै सार्वजनिक सवारी साधनको व्यवस्थापनमा विषेश ध्यान दिने छ । चाडपर्वका समयमा अत्याधिक यात्रु सङ्ख्यासँगै तिव्र गति तथा मापसेका कारण दुर्घटना निम्तिने सम्भावनालाई न्यूनीकरण गर्ने तयारीसहित सुरक्षा व्यवस्था कडा पार्न लागिएको छ । यातायात क्षेत्र व्यवस्थापनका लागि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ कार्यान्वयनमा छ। जसलाई २०७५ मा संशोधन गरी थप व्यवस्थित पार्ने प्रयास गरिएको थियो। यही ऐनको दफा १०४ मा लामो दुरीमा चल्ने सवारीसाधनले अनिवार्य दुई चालक राख्नुपर्ने व्यवस्था छ। यो व्यवस्थाअनुसार दुई चालकले ६÷६ घण्टामा फेरिएर चलाउनुपर्छ। यसबाहेक दुर्घटना न्यूनीकरण गर्न भन्दै सरकारले चाडपर्वमा ‘टाइम कार्ड’ पनि लागु गर्छ। यसबाहेक सवारी रुटमा आवश्यक सतर्कताका लागि सुरक्षा संयन्त्रलाई पनि परिचालन गरिन्छ।

० करिब नौ लाख मानिस सवारी चालक अनुमतिपत्रको प्रतिक्षामा छन् । सवारी चालक अनुमतिपत्रको नवीकरणका लागि उस्तै समस्या छ । यसतर्फ के गृहकार्य भएका छन् त ?
यातायात क्षेत्रमा रहेको समस्या समाधानका लागि हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यदल नै बनाएर काम सुरु गर्नुभएको थियो । पूर्वाधार, सुशासन र यातायात व्यवस्थाका सम्बन्धमा कार्यदल बनाएर काम सुरु भएको छ । त्यसमध्ये केहीको सुझाव पनि आइसकेको छ । यातायात क्षेत्र धेरै अस्तव्यस्त थियो । यस क्षेत्रमा सुधार र सुशासन कायम गर्नु आवश्यक छ । त्यसभित्रको मूल विषय भनेको स्मार्ट लाइसेन्स हो । त्यसमा ढिलाइ भएको छ । पछिल्लो समय एक प्रिन्टरका लागि ठेक्का भएको छ । रहेको प्रिन्टरलाई नियमितरुपमा सञ्चालन गरेर छिटोभन्दा छिटो स्मार्ट लाइसेन्स दिने तयारीमा छौँ ।

सङ्घीय र प्रदेश सरकार मिलेर एकीकृत रुपमा लाइसेन्सको समस्या छिट्टै समाधान गर्छौं । केही महिनाभित्रै यो समस्या समाधान हुन्छ । सवारी चालक अनुमतिपत्रको नवीकरणको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष बनाएका छौँ । त्यसबाट चालकहरुले ठूलो राहतको महसुस गरेका छन् ।त्यस्तै अब राजस्व अनलाइनबाटै बुझाउन सकिने हुँदा विचौलियाले दुःख दिने अवस्थाको अन्त्य भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट त्यो कामको सुरुआत भइसकेको छ । सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने काम पनि सुरु भएको छ । कार्यालय समयमा सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ असोज १ गतेदेखि ¥यापिड बस सर्भिस सुरु गरेका छौंैँ । स्वदेशमा उत्पादित सवारीसाधन नेपालमा नै दर्ताको प्रक्रिया अगाडि बढेको छ । यातायात क्षेत्रमा सहज सेवासुविधा पाउने, हिंसा र समस्याबाट जोगिने र सुशासन कायम गर्ने अभियान जारी छ ।

० अहिले पनि लाइसेन्स लिनको लागि वा यातायात सम्बन्धी कुनै काम गर्नुपर्दा विचौलिया हाबी हुन्छन् । सेवाग्राहीको भीड हुने स्थानमा विचौलियाको दबदबा बन्द गर्ने केही योजना छैनन् ? वा कार्यान्वयन हुँदैनन् ?
जुनसुनै सरकारी कार्यालयमा विचौलियाको उपस्थिति छ त्यहाँ केही झन्झटिला प्रकियाहरू छन् भन्ने मानिन्छ । मुख्य कुरा भन्ने हो भने विश्वास आर्जन गर्न नसक्नु हो । त्यस्तै सार्वजनिक सेवा प्रवाहको लागि सरकारी कर्मचारीहरूको उपस्थिति सेवाग्राहीको मागअनुसार पर्याप्त मात्रामा नहुनु हो । यसको समाधानको उपाय भनेको सेवालाई हामीले सबै काम आजको प्रविधि अनलाइनमार्फत गर्नुप¥यो । कि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा पर्याप्त जनशक्ति बढाउनुप¥यो । आजको समयमा जनशक्ति बढाउनुभन्दा पनि अनलाइन प्रविधिको विकास गर्नु राम्रो हुन्छ । यो कार्यले जुनसुकै स्थान, जुनसुकै समयमा काम गर्न सकिन्छ कार्यालय नै आउनु पर्दैन । हामीले सवारी चालक अनुमति–पत्रको लागि आवेदन गर्छौँ, त्यसको लागि कार्यालयमा जानु नपर्ने भएको छ ।

त्यस्तै लाइसन्सको लागि राजस्व तिर्नुपर्ने छ, त्यो पनि अनलाइनमार्फत गरिरहेका छौँ । त्यस्तै सवारी दर्ता, नवीकरण, जाँचपासलगायतका कामहरू पनि अनलाइनबाट गर्न लागिरहेका छौँ । बिचौलियाहरूले प्रविधिको प्रयोग नगर्नको लागि वातावरण बनाउने, प्रविधिको नकारात्मक विषयमा कुरा गर्ने, कर्मचारीहरूलाई पनि प्रविधिको प्रयोग नगर्न उत्साउने तथा दबाब प्रभाव प्रयोग गर्ने कुरा हामीले पाइरहेका छौँ । हामीले कार्यालयमा कर्मचारीहरूलाई प्रविधि प्रयोग गर्न सक्षम बनाउने र त्यो प्रविधि प्रयोगमा आनाकानी गर्ने कर्माचारीलाई आवश्यक प¥यो भने कारबाहीसमेत गर्ने योजना बनाएका छौँ ।
(तामाकोशीन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *