कर्मचारी नेताले कहाँ कहाँ जोडे सम्पत्ति ?

राजनीति समाचार

काठमाडौं । वामपन्थी नेताहरुले मुलुकमा संवृद्धि र विकासका लागि गठबन्धन बनाएको भन्दै चुनाव जितेर आएका छन् । के अब उनीहरुले भने झैं मुलुकमा संवृद्धि र विकासको मूल नै फु्टला त ? पार्टीका प्रभावशाली भातृ संस्थामध्येको एमालेका पार्टीसदस्यले भरिएको नेपाल निजामती कर्मचारी संगठनसम्बद्ध नेताहरुको कार्यशैली, जीवनशैली र घुस्याहा प्रवृत्ति थाहा पाउने हो भने संवृद्धि होइन पाँचवर्षपछि मुलुक चरम् भ्रष्टाचारको दलदलमा फस्ने र वाममोर्चाको बिचल्ली हुनेमा शंका रहनेछैन ।

हाल सरकारी कर्मचारीका आवरणमा रहेका तर कर्मचारीको सरुवा, बढुवा र पदस्थापनामा जस्ता काम मात्र गर्ने, आफूलाई लाभ हुने कामहरु नभएमा मन्त्रालयका सचिव–सहसचिव तथा कार्यालय प्रमुखलाई हातपात र गालिगलौजमा उत्रने यिनीहरुमध्ये कति त एमालेको कोटामा समानुपातिक संसदमा सिफारिश समेत भएका छन् । कार्यालयको काम नगर्ने र भ्रष्टाचार गर्न सकिने अड्डाहरुमा कर्मचारीको सरुवा र पदस्थापना गरी घुसको रकम नियमित भागबण्डमा लिइरहने यिनीहरु राजनीति गर्दछन् । त्यसैले यिनीहरु एमालेका पार्टी जिल्ला कमिटिमा रहेका छन् । कर्मचारीको आवरणमा नेतागिरी गरिरहनेमा एक नम्बरमा भोला पोखरेल पर्छन् ।

यी अहिले एमाले उपत्यका विशेष जिल्ला कमिटी उपाध्यक्ष छन् । पार्टी कमिटीले यिनलाई एमालेको समानुपातिक संसदमा समेत सिफारिश गरेको थियो । पद सहायकस्तरको भएपनि जीवनशैली मन्त्रीकोजस्तो भएका यिनका काठमाडौमा ३ भन्दा बढी घडेरी,शैक्षिक र वित्तीय संस्थाहरुमा करोडौंको लगानी र आफ्नै गाडी पनि छ । उपसचिवले निवास नपाएपनि सहायकस्तरका कर्मचारी पोखरेल सहकारी तालिमकेन्द्रको सरकारी निवासमा बस्ने गर्छन् । यिनी अहिले तीनकुनेस्थित कान्तिपुरभवन पछाडि करोडौं लगानीमा घर बनाइरहेछन् । पोखरेललाई रिझाएर यातायात कार्यालय कार्यालय जनकपुरबाट स्थानीय विकासमा र लगत्तै वैदेशिक रोजगार कार्यालय ताहाचल गएका गोविन्द शिवाकोटीले अहिले बालकोट पानीटैंकी नजिकै ७२ लाखमा घडेरी जोडेका छन् ।

केही वर्षअघिसम्म यिनी सिन्धुली हुलाक कार्यालयमा कार्यालय सहयोगी थिए । जागिर राम्रोसँग फापेका यिनको सिन्धुली सदरमुकाममै ३ वटा घडेरी पनि छन् । वैरोमा गएपछि नै यिनले करोडभन्दा बढी कमाइ गरेका छन् । गीत समेत लेख्ने यिनले भर्खरै ५ लाख खर्चिएर एल्बम निकालेका छन् । एमाले संबद्ध कर्मचारी नेताहरु भोला पोखरेल र मोहन घिमिरेलाई नियमित लाभ पुर्याएर कमाउ कार्यालयमा बस्दै आएका शिवाकोटीले साथीहरुसँग वैरोमा गएपछि मात्र पोखरेल र घिमिरेलाई ३ लाख रुपैयाँ दिइसकेको खुलेआम बताउने गरेका छन् ।

संगठनकै केन्द्रीय सचिव रामचन्द्र अधिकारीले वैरोमै बसेर हालै लोकन्थलीमा ९६ लाखमा ४ आना घडेरी जोडे । पोखरेल र घिमिरेकै जोडबलमा वैरोमा लगिएका उनको इमाडोलमा पनि करोडौं पर्ने तीनतले बंगला छ । अधिकारी पनि यातायात, स्थानीय विकासमा समेत बसी सोचे झैं कमाइ गरेका कर्मचारी हुन् । घिमिरेका खास मानिस मानिएका गिरिजा रिजालले पनि वैरो ताहाचलमा गएको दुई वर्ष नपुग्दै लोकन्थलीमै ८६ लाखमा हालै घडेरी जोडेका छन् । यी सबै वाम समर्थक कर्मचारी पोखरेल र घिमिरेको जोडबलमै रोजीरोजी पालैपालो घुस्याहा अड्डाहरुमा सरुवा हुने र उनीहरुलाई नियमित लाभ पुर्याएर सरकारलाई नै असफल सावित गर्ने काममा सक्रिय छन् । संगठनका अध्यक्ष केदार देवकोटा र पूर्व अध्यक्ष मोहन घिमिरेले पनि लोकन्थलीमै घर बनाइरहेका छन् ।

संगठनले गर्ने सबै कार्यक्रममा यिनै घुस्याहा कर्मचारीले खर्च व्यहोर्ने गरेका छन् । त्यसैले यिनीहरु नै संगठनका हर्ताकर्ता बन्छन् र सधैं कमाउ कार्यालयमा पनि गइरहन्छन् । विकास आयोजनाका रकमबाट नेताहरुको आडमा मिलाएर रकम खानु, वैरो, यातायात, स्थानीय विकासजस्ता जनसम्पर्क हुने कार्यालयमा गई सेवाग्राहीलाई दुख दिएर मासिक लाखौं खल्तिमा हाल्नु र यही रकम गुटगत रुपले पार्टीका नेतालाइृ पुर्याएर आफू पनि नेता बनिरहनु यिनीहरुको दिनचर्या हो । यस्ता कर्मचारीको कमाइको श्रोत अख्तियार वा पार्टी नेताहरुले नखोज्ने र निरुत्साहित नगर्ने हो भने सुशासन र सम्बृद्धिको गीतमात्र गाएर मुलुकले कहिले प्रगति गर्ला ?
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *