कर्मचारी नेताहरुले राजनीतिक आडमा मुलुक डुवाउँदै

राजनीति समाचार

काठमाडौं । राजनीतिक पार्टी निकट कर्मचारी युनियनको भवन हेर्ने हो भने कहाली लाग्दो छ । कर्मचारी युनियनको भवन खडा गर्दा अबौं रुपैयाँ लगानी गरेको देखिन्छ । यो भवन निर्माण गर्दा जनताले तिरेको कर खर्च गरिएको छ । जब कि जनताले तिरेको कर राज्यले उत्पादनमुलक ठाउँमा लगानी गर्नुपर्नेमा त्यो नगरी कर्मचारीहरुलाई राजनीति गर्ने थलोको रुपमा आलीसान भवन बनाइएको छ ।

यो भवन बनाउन जति खर्च गरिएको छ त्यत्तिकै खर्च मर्मत संहार र डेकुरेसनमा गरिएको छ । सोही भवनमा बसेर कर्मचारी युनियनका नेताहरु राजनीति गर्ने र आफू कार्यरत अफिसबाट तलब सुविधा लिने गर्दछन् । कर्मचारीहरुले जनताको पसिनाबाट जम्मा भएको पैसाले भवन मात्रै बनाएका छैनन् त्यसलाई भाडामा लगाएर व्यापार गर्ने कामसमेत गरेका छन् । कर्मचारी युनियनका भवन पनि एउटा मात्रै होइन दलैपिच्छेका छुट्टैछुट्टै छन् । नेपाली कांग्रेस निकट कर्मचारी युनियनको भवन बबरमहलको वन विभाग नजिक रहेको छ । सोही भवनमा बसेर कर्मचारी नेताहरुले मोजमस्ती गरिरहेका छन् । उक्त भवन निर्माण गर्दा एक करोड रुपैयाँ खर्च गरेको भनाइ छ । त्यस्तै नेकपा एमाले निकट कर्मचारी युनियनको भव्य भवन बबरमहलको सहरी विकास विभाग नजिक रहेको छ ।

सो भवन निर्माण गर्दा पनि करिव एक करोडमाथि खर्च गरेको बताइन्छ । सोही भवनमा बसेर कर्मचारी नेताहरुले मोजमस्ती गरिरहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनको भवन बबरमहलस्थित सडक विभाग निजक रहेको छ । सो भवनको भुइतला रेष्टुरेन्टलाई भाडामा दिइएको छ । माथिका कोठाहरुमा कर्मचारी नेताहरुको अफिस छ भने अन्य कोठा सम्पर्क कार्यालयलाई भाडामा दिइएको छ । त्यसैगरी नेपाल मधेसी निजामती कर्मचारी मञ्चको भवन बिजुली बजारमा रहेको छ । सो भवन मधेसवादी दललाई भाडामा दिइएको छ ।

कर्मचारी युनियनका नेताहरुले एकातिर अफिसमा कामै नगरी तलब, सुविधा लिने, राजनीति गर्ने, नेता, मन्त्रीको ओरीपरी घुम्ने, विदेश भ्रमण गर्ने, कर्मचारी सरुवा, बढुवामा घुस खाने संठनको नाममा स्वदेश तथा विदेशबाट सहयोग माग्ने र कर्मचारी युनियनको भवन भाडामा लगाएर खाने काम गर्दै आएका छन् । कर्मचारी युनियनका नेताहरुले गरेका भ्रष्टाचार, अनियमितताका समाचार पटक–पटक सञ्चारमाध्यममा आए तापनि सम्बन्धित निकाय मुकदर्शक बनेर बस्ने गरेको छ ।

यसरी कर्मचारी युनियनको नाममा मोजमस्ती गर्ने कर्मचारी नेताहरु यस प्रकार रहेका छन् । नेपाली कांग्रेस निकट कर्मचारी युनियनका गोपाल पोखरेल, नेकपा एमाले निकट कर्मचारी युनियनका अध्यक्ष लेखनाथ कोइराला, नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष अमरदत्त भट्ट र नेपाल मधेसी निजामती कर्मचारी युनियनका अध्यक्ष भुवनेश्वर यादव रहेका छन् । कर्मचारी नेताहरुको कारण देश दिनप्रतिदिन जर्जर अवस्थातिर गइरहेको छ ।

तर, उनीहरु भने देश र जनताको सेवा गर्नुभन्दा पनि खाली सुविधा भोगी हुने र अकुत सम्पत्ति जोड्नमै व्यस्त छन् । राजनीतिक पार्टीको आडमा कर्मचारी नेताहरुले गर्ने गरेको अनियमितताको छानविन कसले गर्ने ? यसतर्फ सम्बन्धित निकायले ध्यान दिने कि नदिने ? (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *