रामचन्द्र बस्नेत
नेपालका वामपन्थी दलहरु कहिले वामएकताको नाममा नाटक गर्दछन् कहिले त्यो एकताको सुरुवात नै नहुँदै टुटफुटमा परिणत हुन्छन् । वामपन्थीहरुमा यो खेलोफड्को विगत कालखण्डदेखि हुँदै आएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता पनि जुटेको केही समयमै फुट्न पुग्यो । त्यतिबेला नेकपा एमाले माआवादी मात्रै फुटेन नेकपा एमाले पनि फुट्यो ।
त्यसको असर अहिले एमालेलाई परिरेहको छ । एमालेबाट फुटेको एकीकृत समाजवादी र माओवादी केन्द्रलगायत अन्य वामपन्थीहरु मिलेर बनेको समाजवादी मोर्चा पनि जन्मिँदै गुमनाम जस्तै भएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, डा. बाबुराम भट्टराईले सम्हालेको अर्को खेमा र वामदेव गौतमको खेमा मिलेर बनेको समाजवादी मोर्चा अहिले कु चरीको नाम जस्तै भएको छ । त्यो समाजवादी मोर्चा न त कुनै संरचनागत संगठन नै गरेको छ न त एकआपसमा छलफल गरेर चलायमान नै बनाउन सकेका छन् । समाजवादी मोर्चाका नेताहरु कहाँ र कसरी बसेका छन् त्यो पनि एकिन छैन ।
ती वामपन्थी खेमाहरुले गठन गरेको समाजवादी मोर्चाले पनि सत्ताकै भ¥याङ चड्ने खेलोमेलो व्यस्त छन् । जुन उद्देश्यले समाजवादी मोर्चा गठन गरिएको थियो । त्यो काम अहिले सेलाउँदै गएको छ । केन्द्र, प्रदेश र स्थानीयलगायत विभिन्न तहतप्ताकामा मोर्चाको संगठन विस्तार गर्नुपर्नेमा त्यो पनि गर्न सकेको छैन । समाजवादी मोर्चा गठन भएको पनि करिव ६ महिना पुग्न लागेको छ । तर, मोर्चाले गर्नुपर्ने कामहरु गर्न सकेको छैन । एकतिर त्यसलाई समाजवादी मोर्चा भनिएको छ तर व्यवहारमा त्यो समाजवादी मोर्चा कस्तो अवस्थामा छ अधिकांश सर्वसाधारण जनतालाई थाहा छैन । समाजवादी मोर्चाले कस्तो काम गर्ने हो पनि त्यो जानकारी छैन ।
त्यस्तै हालत अहिले वामपन्थी दलहरुभित्र हुँदै आएको छ । उता, नेकपा एमालेले संगठनलाई चुस्तदुरुस्त बनाउने भनिरहँदा देश भरि भएको अधिवेशनले संगठनभन्दा गुट झँगिएर गएको छ । माओवादी केन्द्रले देशैभरि संगठन बलियो बनाउने भनेर हल्ला गरे तापनि त्यो नारामै सीमित भएको छ । यतिबेला नेपालका वामपन्थी शक्तिहरु छिन्नभिन्न हुँदै गएका छन् । आगामी दिनमा पनि वापन्थी शक्तिहरु एकजुट भएर अगाडि बढ्ने देखिँदैन । उता, वामपन्थी दलहरुको रोग आफूलाई प्रजातन्त्र र लोकतन्त्रको हिमायती भन्ने नेपाली कांग्रेसमा पनि सल्किएको छ ।
यतिबेला नेपाली कांग्रेसभित्र पार्टी एउटै भए तापनि कोशी प्रदेशको परिणामले दुई फ्याकजस्तै देखिएको छ । कोशी प्रदेशको निर्वाचनमा संस्थापनपक्ष र इतरपक्षबीच स्पष्ट दुई धार देखिएको थियो । खासगरी नेपाली कांग्रेसभित्र नेतैपिच्छेको गुटले गर्दा पार्टी छियाछिया हुँदै गएको छ । नेपाली कांग्रेसभित्र केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका र वडासम्म नै दुई धार देखिन्छ ।
एकातिर स्वतन्त्रहरुले दलहरुको नकारात्मक सन्देश जनतासम्म पु¥याइरहेका छन् । त्यसको प्रभावले सर्वसाधारण जनतामा दलप्रति नकारात्मक धारणा पैदा भइरहेको छ । अर्कोतिर राजनीतिक पार्टीहरु आन्तरिक कलहमा रुमलिएका छन् । नेपाली कांग्रेस जस्तो प्रजातन्त्र र लोकतन्त्रको हिमायती पार्टी पनि एकढिक्का भएर संगठनमा जुट्नुको साटो गुटगत राजनीतिमा व्यस्त हुनुले नेपालको लोकतन्त्र नै धरापमा पर्ने देखिन्छ । नेताहरु देश र जनताको चासो र चिन्ता भन्दा पनि आफू कसरी स्थापित हुने र सत्तामा पुग्ने खेलोमा व्यस्त छन् ।