वित्तीय र कृषि क्षेत्रमा कृषि विकास बैंकको भूमिका र सुधार गर्नुपर्ने क्षेत्र

अर्थ/वाणिज्य समाचार

नेपालको अर्थ मन्त्रालयको मातहत रहेको वित्तीय संस्था कृषि विकास बैंकको स्थापना २०२४ सालमा भएको हो । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उघेश्यले संस्थागत ऋण उपलब्ध गराउन स्थापित यो बैंकले २०३० सालदेखि सेवा प्रदान गर्दै आएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहेको छ । बैंकको भूमिका, प्रभावकारिता र यसको वित्तीय विवरणसम्बन्धी महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदनमा बैंक सम्बन्धी उल्लेख अंश ः

वित्तीय स्थिति र सञ्चालन नतिजा : बैंकको २०७९ आषाढ मसान्तमा शेयर पुँजी रु.१८ अर्व ६२ करोड ६ लाख, जगेडा कोष तथा सचित नाफा रू. १४ अर्व ७३ करोड ६४ लाख र दायित्व रू.२ खर्व १२ अर्व ८२ करोड ७२ लाख रहेको छ। स्थिर सम्पत्ति रु.२ अर्थ २२ करोड ५० लाख, शेयर लगानी रू.४५ अर्ब ९२ करोड २१ लाख, कर्जा लगानी रु. १ खर्व ७७ अर्थ ४३ करोड ८६ लाख र अन्य सम्पत्ति (चालु सम्पत्ति तथा अन्य माथि उल्लेखित बाहेकका सम्पत्ति सहित) रू.२० अर्ब ५९ करोड ८५ लाख समेत रू.२ खर्व ४६ अर्ब १८ करोड ४२ लाख सम्पत्ति रहेको देखिन्छ । गत वर्ष रु. ३ अर्ब ५२ करोड ७५ लाख नाफा रहेकोमा यस वर्ष रू. २ अर्व २२ करोड ५७ लाख मात्र खुद नाफा रहेको छ। यो वर्ष रु.१९ अर्व ५८ करोड ६० लाख सञ्चालन आय तथा रू. ११ अर्ब २२ करोड ६६ लाख सञ्चालन खर्च गरेको छ ।

आय तथा खर्च : संस्थानले २०७८÷७९ मा रू.२० अर्ब ३६ करोड ५२ लाख सञ्चालन आम्दानी र रू. ९ अर्ब ३२ करोड ४० लाख सञ्चालन खर्च प्रक्षेपण गरेकोमा रू. १९ अर्ब ५८ करोड २६ लाख सञ्चालन आम्दानी तथा रु.११ अर्व २२ करोड ६६ लाख सञ्चालन खर्च गरेको छ । प्रक्षेपणको तुलनामा आम्दानी ३.८४ प्रतिशत घटी र खर्च २०.४१ प्रतिशत बढी भएको देखिन्छ ।

शाखा हिसाब मिलान : बैंकले तोकिएको समयमा अन्तर शाखा हिसाब मिलान गरेर वित्तीय विवरण तयार गर्नुपर्नेमा यस वर्षको अन्त्यमा अन्तर शाखा हिसाब रू.३८ करोड ४ लाख ४२ हजार मिलान गर्न बाँकी रहेको पाईयो । यस बाहेक अन्तर शाखा बैंक खातामा रू.७६ लाख ६० हजार भिन्नता रहेको पाइयो । फरक रकम मिलान गर्नुपर्दछ ।

सफ्टवेयर : बैंकले हाल सञ्चालनमा ल्याएको बैंकिङ्ग सफ्टवेयर टी–२४ बैंकका सबै शाखामा सञ्चालनमा रहेको अवस्थामा पनि उक्त सफ्टवेयरले सबै शाखा कार्यालयको कारोबारलाई समेटी वित्तीय विवरण तयार गर्न सकेको छैन । बैंकले उक्त सफ्टवेयरमा भएका सबै विशेषता उपयोग गरी एकीकृत वित्तीय विवरण तयार गर्नुपर्दछबैंकले २०७६ मा जडान गरेको सि.बि.एस. सफ्टवेयरको खरिद मूल्य अमेरिकी डलर १८ लाख १८ हजार र सोको वार्षिक मर्मत खर्च यो वर्ष अमेरिकी डलर ४ लाख ९७ हजार ४६० भुक्तानी गरेको छ । बैंकको सेवा प्रवाहलाई व्यवस्थित गर्न विभिन्न २१ सफ्टवेयर प्रयोग गरेकोमा ति सम्फ्टवेयर एकीकृत गर्ने काम भएको छैन ।

सहुलियतपूर्ण कर्जा : बैंकले उपलब्ध गराएको सहुलियतपूर्ण कर्जाहरू तोकिएको क्षेत्रमा प्रयोग हुनुपर्दछ । यो वर्ष व्यवसायिक कृषि, विपन्न व्यवसायी, महिला उद्यमी लगायत ९ क्षेत्रमा रू.२२ अ २ करोड ९९ लाख ऋण प्रवाह गरेको देखियो नमूना परीक्षणबाट रू.५० लाख भन्दा बढी ऋण लिने ५९८ ऋणीको रू.५ अर्व ५६ करोड १८ लाख ऋणमा रू.३६ करोड १७ लाख ३५ हजार ब्याज अनुदान दिएको देखियो । ऋण रकमको प्रभावकारी अनुगमन गरी सहुलियतपूर्ण कर्जा तोकिएको क्षेत्रमा प्रयोग भएको सुनिश्चित गर्नुपर्दछ ।

ब्याज प्रिमियम : नेपाल नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका २०७८७९ को बुँदा नं १५ (३) (८) मा ब्याजको प्रिमियम दरमा वृद्धि गरी ऋण प्रवाह गर्न नमिल्ने उल्लेख छ । बैंकले प्रवाह गरेका कर्जामा आधार प्रिमियममा गणना गरेको हो नखुल्ने गरी एकमुष्ट रूपमा गणना गर्दै आएको छ । आधार र प्रिमियम नछुट्याएकाले आधार दरमा आएको परिवर्तनले नै कर्जाको दर परिवर्तन गरेको उल्लेख छ । अन्य वाणिज्य बैंकहरूको हकमा यस वर्ष व्याजको गणना गर्दा प्रिमियम व्याज दर नै बढाएकोले यो बैंकले पनि नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार आम्दानीबाट रू.१० करोड व्याज घटाई तिर्नुपर्ने दायित्व हिसाबमा व्यवस्था गरेको छ । निर्देशिका विपत्ति प्रिमियम दरमा वृद्धि गरी बढी व्याज आम्दानी गरेको रकम यकिन गरी सम्बन्धित ऋणीलाई नै फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्दछ ।

कर्जा असुली : बैंकले कर्जा असुली कार्यविधि, २०७७ मा व्यवस्था भए बमोजिम कर्जा भुक्तानी गर्ने – बारेको स्मरण पत्रहरू पठाउने, कर्जा भुक्तानी गर्न ताकेता पत्र पठाउने, कर्जा भुक्तानी तथा लिलामीको सूचना प्रकाशित गर्ने, कालोसूचीमा नाम समावेश गर्ने र ऋण असुली न्यायाधिकरणमा उजुरी दर्ता लगायतका कार्य गर्नुपर्नेमा सोको कार्यान्वयन प्रभावकारी रूपमा भएको छैन। बैंकबाट प्राप्त विवरण अनुसार भाखा नाघेका २ हजार ४४८ ऋणीको रू. १ अर्ब ६४ करोड २७ लाख साँवा र रू. १ अर्ब ६१ करोड ४८ लाख ब्याज समेत रू. ३ अर्ब २५ करोड ७५ लाख असुल भएको छैन । गत वर्षको अन्त्यमा खराब कर्जा रू. १ अर्ब ८८ करोड ४४ लाख रहेको थियो । कार्य योजना बनाई खराब ऋण असुल गर्ने कार्यमा प्रभावकारिता ल्याउनुपर्दछ ।

कर्जा अपलेखन : अपलेखन गरेको साँवा तथा व्याजको छुट्टै अभिलेख राखी असुली गर्ने व्यवस्था मिलाउनु पर्नेमा यो वर्षसम्म अपलेखन गरेको ६०४ ऋणीको रु.३७ करोड ५९ लाख ३१ हजार ऋण र रू. १ अर्ब ६४ करोड ७२ लाख असुल भएको छैन। सोको कार्य योजना बनाई असुल गर्नुपर्दछ ।
नेपाल सरकारसँगको हिसाब : यस बैंकले साधारण शेयरमा २ प्रतिशतका दरले रु २६ करोड ३७ लाख ५८ हजार बोनस शेयर र नगद लाभांश ११ प्रतिशतका दरले रू. १ अर्ब ४५ करोड ६ लाख ७० हजार प्रस्ताव गरेको छ। नेपाल सरकारको अग्राधिकार लगानी शेयरमा ६ प्रतिशतले हुने रु.३२ करोड ५९ लाख ६२ हजार नगद लाभांश प्रस्ताव गरेको छ । सो लाभांश कानूनी व्यवस्था पालना गरी वितरण गर्न २०७९÷९÷२६ नेपाल राष्ट्र बैंकले सहमति दिएको छ । यस बमोजिम नेपाल सरकारले साधारण शेयरमा प्रस्तावित लाभांशको ५१ प्रतिशत तथा अग्राधिकार शेयरमा ६ प्रतिशतले हुने रकम लाभांशको रूपमा प्राप्त गर्नुपर्दछ ।

सेवा प्रवाह : बैंकले कर्जा लगानी तथा निक्षेप सङ्कलनका साथै अन्य बैंकिङ्ग सेवाहरू द्रुत पार्न तथा जनतालाई सहज सेवा दिन ए.टी.एम. र विद्युतीय बैंकिङ्ग सेवा पनि दिँदै आएको छ। निक्षेप तर्फ रु.१६ लाख ४४ हजार ७६० निक्षेपकर्ता र कर्जातर्फ रु. २ लाख ४ हजार ७९० कर्जाग्राहीलाई सेवा प्रदान गरेको देखिन्छ ।

समग्र बैंकिङ्ग व्यवसायमा चालू प्रकृतिका कर्जाको अनुपात २० देखि २५ प्रतिशत रहेकोमा यस बैंकले कर्जाको ४८, ६६ प्रतिशत चालु प्रकृतिका तथा साना कर्जामा लगानी गरेको कारणले प्रशासनिक खर्च बढ्न गएको देखिन्छ । साना कर्जाहरू धेरै भएकाले कर्जा अनुगमन कार्यको प्रभावकारिता न्यून रहेको छ । कर्जा तर्फको प्रशासनिक खर्च घटाई अनुगमन कार्यको प्रभावकारीता बढाउनु पर्दछ ।
गैरव्यवसायिक सम्पत्ति : बैंकबाट प्राप्त विवरण अनुसार यो वर्षसम्म रु.२५ करोड २५ लाख ९२ हजारल मुल्य बरारबरको ८२ गैर बैंकिङ्ग सम्पत्ती मूल्य रहेको छ । सोको व्याज ८२ करोड ३ लाख ७२ हजार उठ्न बाँकी रहेकोले गैरव्यवसायिक सम्पत्तिको समयमानै व्यवस्थापन गरी आय आर्जन हुने कार्यमा ल्याउने व्यवस्था गर्नुपर्दछ ।

धितो मूल्याङ्कन : बैंकले असल धितोको आधारमा साँवाको किस्ता र ब्याज समेत समयानुसार असुल हुने गरी ऋण लगानी गर्नुपर्दछ । नमूना छनोटमा परेका ८ ऋणीलाई रू. ३ करोड ९१ लाख ५४ हजारको धितो मूल्याङ्कन गरी रू.१ करोड ६२ लाख १० हजार ऋण प्रवाह गरेको देखियो । उक्त ऋणमध्ये रू. १ करोड ५० लाख ५७ हजार साँवा र रू. ९ लाख ४७ हजार ब्याज असुल भएको छैन । कमसल धितोको आधारमा ऋण प्रवाह गरेकोले ९२.६० प्रतिशत साँवा नै असुल नभएको अवस्था देखिएकोले धितो मूल्याङ्कन एवं ऋण प्रवाह गर्नेलाई जबाफदेही बनाई उक्त रकम असुल गर्नुपर्दछ ।

इनर्जी बण्डमा लगानी : बैंकले आफ्नो स्रोतको अधिकतम उपयोग हुने क्षेत्रमा लगानी गर्नुपर्दछ । यो वर्षको निक्षेप रु.१ खर्व ६६ अर्थमा रु. ११ अर्व २३ करोड व्याज भुक्तानी गर्दा औसतमा व्याजदर ६.७६ प्रतिशत रहेको छ । त्यस्तै ऋण लगानी रू. १ खर्व ७७ अर्बमा ब्याज आय १९ अर्व ५८ करोडले औसत व्याज ११.०७ प्रतिशत रहेको छ । बैंक व्यवस्थापनले वोर्डबाट निर्णय नगराई एक वाणिज्य बैंकको इनर्जी बण्डमा ४ प्रतिशतले १५ वर्षको लागि रु.२ अर्ब ५० करोड लगानी गरेको छ । औसत व्याज आयको हिसाबले वार्षिक रू.१७ करोड ६७ लाखले नोक्सानी परेको देखियो । बैंकलाई नोक्सानी हुने गरी लगानीको निर्णय गर्ने पदाधिकारीलाई जवाफदेही बनाई उक्त वण्डको रकम फिर्ता लिने व्यवस्था गर्नु पर्दछ ।

सुधार गर्नुपर्ने कार्य : लेखापरीक्षणबाट बैंकले कर्जा सदुपयोगको नियमित रूपमा निरीक्षण गर्नुपर्ने, कर्जा प्रवाह गर्दा नेपाल राष्ट्र बैंकको निर्देशनको पालना गनुपर्ने आवधिक कर्जामा लगानी बढाउनुपर्ने, अन्तर शाखा हिसाब खाताहरू यथाशिघ्र मिलान गर्नुपर्ने, केन्द्रीय बैंकद्वारा जारी निर्देशनअनुसार पुनर्कर्जा ब्याजदर कट्टी गर्नुपर्ने, व्याज प्रिमियम हरेक त्रैमासिकमा प्रकाशित व्याजदरसँग मिलान गरेर निरन्तरता दिनुपर्ने, स्थिर सम्पत्तिको अभिलेख अद्यावधिक गर्नुपर्ने र शाखा कार्यालयहरूमा रहेका सञ्चालन जोखिम नियन्त्रण गर्न राखिएका खाताहरू अद्यावधिक गर्नुपर्ने लगायतका विषयहरू औल्याउदै आए पनि सुधार भएको छैन । व्यवसायिक तवरले बैंकलाई सञ्चालन गर्न यस्ता विषयमा सुधार गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *