चाडपर्वमा अराजक गतिविधिको नियन्त्रणमा निगरानी गरिरहेका छौं

अन्तरवार्ता राजनीति

राजेन्द्र खड्का, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तथा प्रबक्ता सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी बलले चाडपर्व विशेष सुरक्षा योजना तयार गरी कार्यान्वयन गरेको छ । सशस्त्र प्रहरी बलले नाकामा हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध पहिचान गर्न सक्ने तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ । सुरक्षा योजनाअनुसार २९ हजार एक सय ५४ जना सशस्त्र प्रहरी परिचालित हुनेछन्। दुई हजार नौ सय २९ जना तयारी हालतमा राखिएको छ ।

चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना तयार पारिएको छ । सशस्त्रले चीन र भारतका सीमाक्षेत्रमा एक सय २५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) स्थापना गरिएको छ । कतिपय नाकामा विशेष चेकजाँच गर्न थालिएको छ । झापाको काँकडभिट्टालगायत नाकामा हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध पहिचान गर्न सक्ने तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।

आपराधिक क्रियाकलापको रोकथाम एवं नियन्त्रण गर्न गस्ती, पेट्रोल, चेक प्वाइन्ट ड्युटी खटिनुको साथै मुख्य राजमार्गमा हुन सक्ने घटना सुरक्षा योजनाअन्तर्गत पाँच सय ६३ स्थानमा पैदल गस्ती, तीन सय ६६ स्थानमा मोबाइल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दूरीको गस्ती) गर्ने भएको छ । त्यस्तै, दुई सय नौ स्थानमा क्युआरटी र तीन सय ७३ स्थानमा चेकप्वाइन्ट तथा पिकेट ड्युटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ हुने भएका छन् । त्यस्तै, उपत्यकामा पाँचवटा अनुगमन टोलीसमेत परिचालित गरिएको छ । चाडपर्वमा भारतबाट धेरै नेपाली आउने भएकाले उनीहरूलाई सहयोग गर्न विभिन्न नाकामा हेल्प डेस्कमा राखिएको र यसलाई स्थायी रूपमै सञ्चालन गरिने सशस्त्र प्रहरीको तयारी छ ।

तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवागमनको व्यवस्था मिलाउन तथा आपत्मा परेका नागरिकको उद्धारमा सहयोग पु¥याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्व लक्षित सहायता कक्ष सुनसरीको पकलीस्थित बराह बाहिनी मुख्यालयअन्तर्गत २५, सप्तरीको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी ५३, गढीमाई बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत दुई, मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत दुई, विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीअन्तर्गत १९, महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत एउटा र वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।

महोत्तरी, रुपन्देही, सुनसरी, सप्तरी, कैलालीलगायत भारतसँगको सीमानाकामा स्वास्थ्य सहायता कक्ष पनि स्थापना भएका छन् । सहायता कक्ष र स्वास्थ्य सेवा कक्ष अन्य स्थानमा पनि स्थापना गर्न आवश्यक देखिए तदनुरुप हुने छ । चाडपर्वको बेला सीमानाकाबाट आवतजावत गर्ने नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाटजस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न सहायता कक्ष स्थापना गरिएका हुन् । सीमानाकाबाट आवतजावत गर्ने क्रममा कुनै पनि नागरिकमा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *