काठमाडौं । सरकारमा सामेल राजनीतिक दलहरु यतिबेला सबैतिर गुमनाम जस्तै बनेका छन् । देशमा भ्रष्टाचार त्यत्तिकै मौलाएको छ अर्कोतिर बेथिति र मूल्यवृद्धिले सर्वसाधारण जनताको ढाड सेकिरहेको छ । सरकारले भ्रष्टाचारका जुनसकै फाइल खोलेर दोषीलाई कारबाहीको दायरामा ल्याउँछु भने तापनि त्यो बोलिमै सीमित भएको छ । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको फाइल खोलेर जुनसुकै पार्टीको नेता परेपनि दोषी उपर कारबाही गर्छु भनिरहँदा प्रधानमन्त्री सबैतिरबाट घेराबन्दी पर्दै आएका थिए ।
त्यसको उदाहरण बनेको छ, बालुवाटार जग्गा काण्ड र सुनकाण्ड । बरु सुनकाण्डमा आफ्नै पार्टीका ठरिष्ठ नेताका छोराहरु मुछिएको पाइन्छ । तर, नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका नेतामध्येमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड र एमाले नेता टोपबहादुर रायमाझीभन्दा अन्य व्यक्ति र राजनीतिक दलका नेताहरु अहिलेसम्म पक्राउ परेका छैनन् । नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउपर्नुपर्ने अन्य नेता र व्यक्तिहरु यसप्रकार रहेका छन् ।
नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका व्यक्ति बेतन झालाई अहिलेसम्म पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन । त्यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनाकला थापा, गृहसचिव महेश्वर न्यौपाने, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, अर्का व्यक्ति अजयक्रान्ति शाक्य, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा र एमाले समर्थक राजेश्वर स्थापित रहेका छन् । यी व्यक्तिहरु लामो समयदेखि फरारको सुचीमा रहेका छन् । तर, सरकारले यस्ता फरारको सुचीमा रहेका व्यक्तिहरुलाई अहिलेसम्म पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन ।
उल्टै कांग्रेस नेता बालकृष्ण खाँडलाई छुटाउने प्रपञ्च रचिरहेको छ । उता एमाले नेता टोपबहादुर रायमाझीलाई पनि भित्री रुपमा चोख्याउने प्रपञ्च रचिँदै छ । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएकी कांगे्रस नेतृ मञ्जु खाँड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु देउवा राणालाई पनि सत्तागठबन्धनभित्रैबाट जोगाउने खेल भइरहेको छ । उता प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई जोगाउने खेलपनि अध्यक्ष ओलीले गरेपछि सो काण्ड झिसमिस बनाइँदै छ ।
यदि सत्तागठबन्धन भित्रका नेता र प्रतिपक्षी दलभित्रका नेताहरु नक्कली भुटानी सरणार्थी काण्डमा पक्राउ गरेको भए प्रचण्ड सरकार उहिल्यै ढलिसक्ने थियो । तिनै दोषीहरुलाई पक्राउ नगरेको कारण नै प्रचण्ड सरकार अहिलेसम्म जोगिएको छ । प्रचण्ड सरकारले ओम्नी र यती काण्डको फाइल खोल्छु भने तापनि आफ्नो स्वार्थपूर्तिको लागि उक्त फाइल खोल्न सकेका छैनन् । यी र यस्ता काण्डहरुले गर्दा प्रचण्ड सरकार दिनप्रतिदिन बदनाम हुँदै गएको छ । (तामाकोशीसन्देशबाट)