दुर्लभ वन्यजन्तु तस्करीको शिकार कसले रोक्ने ?

राजनीति समाचार

नेपाललाई भौगोलिक विविधता र प्राकृतिक स्रोतको दृष्टिकोणले धनी मुलुक मानिन्छ । यस्तै भौगोलिक विविधता र प्राकृतिक स्रोतको प्रशस्तताकै कारण नेपालमा विभिन्न दुर्लभ वन्यजन्तु, पशुपन्छीहरु रमाउने गरेका छन् । यसले एकातर्फ पयर्टनलाई आकर्षण गरेको छ भने अर्काेतर्फ नेपालको पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न मद्दत गरेको छ । यस्तै पारिस्थितिक प्रणालीमा खलल पु¥याउँदै गरिने वन्यजन्तु तथा अमूल्य बोटविरुवाको चोरी तस्करी नियन्त्रणमा भने सरकार चुकेको छ ।

दुर्लभ वन्यजस्तु तथा पशुपन्छी नेपालको सान पनि हो । लोपोन्मुख वन्यजन्तुको संरक्षण र सुरक्षा सरकारको दायित्व पनि हो । सरकारले यसरी दुर्लभ वन्यजन्तु चोरी तथा निकासीको नियन्त्रणमा विभिन्न प्रयासहरु गरेपनि तस्करहरुले चोरी निकासी गरिरहेकै छन् । हालै केही दिन पहिले दुईवटा गैंडा मारेर गैडाको खाग चोरी गर्न तस्करहरु सफल भएका छन् । सरकारले यस्तो चोरी निकासीलाई प्रतिबन्धित गरेको छ । दुर्लभ वन्यजन्तु र तिनका उपजहरु महंगोमा विक्री गर्न पाइने हुँदा तस्करहरु चल्मलाएका हुन्छन् ।

यसको नियन्त्रण गर्नका लागि कडाभन्दा कडा कानून कार्यान्वयन गर्ने र वन्यजस्तुको सुरक्षाका लागि जनशक्ति बढाउनु उपयुक्त हुन्छ ।
विगत वर्षदेखि नै सरकारले वन्यजन्तु चोरी निकासीलाई शून्यमा झार्ने भनेतापनि रोक्न सकेको छैन । नेपालमा पाइने विश्वकै दुर्लभ वन्यजन्तुहरु एकसिंगे गैडा र तिनको खाग, रेड पाण्डालगायतका विभिन्न वन्यजन्तुहरु चोरी, सिकारी भइरहँदा पनि सुरक्षा निकाय र राज्यका सम्बन्धित निकायले ध्यान पु¥याउन सकेको छैन ।

अझ भन्नुपर्दा सरकारले वन्यजन्तु सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जलाधारहरु नै तोकेर संरक्षणको संरचना बनाएको छ । त्यसमा मुलुकको प्रमुख सुरक्षा निकाय सेना, सशस्त्र र नेपाल प्रहरीहरुसमेत तैनाथ रहेका हुन्छन् । यतिसम्म हुँदा पनि वन्यजन्तुहरु शिकार हुने र चोरी हुन रोकिएको छैन ।

सरकारले वन्यजन्तुको सुरक्षा र संरक्षणका लागि जनशक्ति थप गर्दै कानूनलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ । मुलुकको तिनवटै सुरक्षा निकाय संलग्न हुँदा पनि चोरी निकासी रोक्न नसक्नुले निरीहता देखाउँछ । सीमित वन्यजन्तुहरुमा ट्रयाकिङ प्रणाली लगाउने, सुरक्षा निकायको संलग्नता बढाउने, चोरी निकासीमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नेजस्ता विविध सुरक्षाका उपायहरु अपनाएर वन्यजन्तुको चोरी, निकासी र शिकार नियन्त्रण गर्न सरकारले कदम चाल्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *