जाडो मौसम सुरु, जनताको बेहाल

राजनीति समाचार

चिसो मौसम सुरु भइसकेको छ । हरेक वर्ष ठण्डी र चिसोको कारण नेपालीहरुको मृत्यु भएको तथ्यांक आइरहेको हुन्छ । सरकारले तथ्यांक सार्वजनिक गर्छ, तर त्यसरी चिसो र ठण्डीले मृत्यु हुनबाट बचाउनका लागि केही पहल गर्दैन, केही काम गरेको छैन । जाडो मौसममा आगो ताप्ने क्रममा ठूलो संख्यामा आगलागी भएको घटना पनि सार्वजनिक भइरहेको छ ।

सर्वसाधारणले सरकार छ, मुलुक छ भन्ने महसुस गर्न पाएका छैनन् । हरेक वर्ष चिसोले धेरै नेपालीहरुको मृत्यु हुने गरेको छ । न्यानो कपडाको अभाव, बासस्थानको अभाव, जाडोमा कसरी बच्ने भन्ने चेतनाको कमी र विशेष गरी सरकारको लापरवाहीकै कारण चिसोले मानिसले ज्यान गुमाउन पुगेका छन् ।

हालै नेपालको सुदूरपश्चिम भेगमा भुकम्पले क्षति पु¥याउँदा ठूलो संख्यामा नेपालीको मृत्यु भयो । घाइते र अन्यको उद्दार भइरहेको छ र उपचार पनि चलिरहेको छ । तर भुकम्पले घर भत्काएर पालमा बस्न बाध्य भुकम्पपीडितहरु चिसो र ठण्डीकै कारण ज्यान गुमाउन पुगेका छन् । सरकारले भूकम्पको क्षति कम गर्नका लागि केही गर्न त सकेन नै, बाँचेकाहरुको पनि व्यवस्थापन गर्न नसक्दा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भयो । सरकारले नीति र नियमको पासो देखाएर जनताको बाँच्ने अधिकार खोस्ने काम गरेको छ । चिसो मौसम सुरु भइसकेको छ, यस्तो अवस्थामा सरकारले व्यवस्थापनका लागि आकस्मिक पहल गर्नुपर्ने थियो । तर सरकार भुकम्पपीडितको सवालमा चुक्न पुग्यो ।

त्यसैगरी, तराईका क्षेत्रहरुमा जाडो मौसममा शितलहर चल्ने र आगलागि हुने गर्दछ । जाडो मौसममा शितलहरका कारण नेपालीहरुले ज्यान गुमाउने गरेका छन् । सरकारले यसबाट बच्नका लागि उनीहरुलाई शितलहरको प्रभाव बारे जानकारी दिने र आवश्यक परेकालाई लत्ताकपडा उपलब्ध गराउने, उपचारको व्यवस्था गर्ने काम गनुपर्ने हुन्छ । त्यसैगरी, जाडो मौसममा जथाभावी आगो ताप्ने हुँदा मानिसको मृत्यु हुने र आगलागीका कारण ठूलो धनजनको क्षति हुने गर्दछ । सरकारले ठण्डी र चिसोबाट बच्नका लागि उचित राहत कार्यक्रम अगाडि सार्ने र सर्वसाधारण जनतालाई शितलहर र आगलागीबाट सूचित गराई उचित व्यवस्थापन गर्नु जरुरी देखिन्छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *