सामान्य प्रशासनको रोग महालेखा नियन्त्रणमा सर्दै

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा, बढुवामा मनलाग्दी गरेको आरोप लागिरहेको छ । यतिबेला कर्मचारी प्रशासन भित्र विकृति र विसंगतिको चाङ लागिरहेको छ । त्यसको सिको सिक्दै महालेखा नियन्त्रणको कार्यालयले पनि अधिकांश लेखा समूहका कर्मचारीहरु सरुवा गर्नुपर्नेमा त्यो गर्न सकेको छैन । महालेखा नियन्त्रण कार्यालयले दुई÷दुई वर्षमा लेखा समूहका कर्मचारी सरुवा गर्नुपर्ने हुन्छ । दुई÷दुई वर्षमा गर्नुपर्ने सरुवा गर्न नसक्दा लेखा समूहका कर्मचारीबीच मनमुटाव सुरु भएको छ । कर्मचारीबीच मनमुटाव सुरु भएपछि काम पनि गर्न छाडिसकेका छन् ।

उता कर्मचारी सरुवा गर्नको लागि ठूलो मात्रामा रकम चलखेल हुने गरेको छ । लेखा समूहका कर्मचारीहरु पनि मालदार आयोजना र विभागमा जानको लागि विभिन्न शक्तिकेन्द्र धाउने गर्दछन् । त्यस्तै गत असोज महिनामा कर्मचारी सरुवा गर्नुपर्ने महालेखा नियन्त्रणको कार्यालयले पनि सरुवा गर्न सकेको छैन । अहिले सरुवाको विषयलाई लिएर कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् । सामान्य सेवा समुहका कर्मचारीमा विकृति फैलिएजस्तै महालेखा नियन्त्रणको कार्यालयमा पनि विकृतिहरु फैलिन थालेका छन् । अधिकांश कर्मचारीहरु मालदार ठाउँमा सरुवा हुनको लागि न्वारनदेखिको बल निकालेर मन्त्री, नेता र मुख्य सचिवको चाकडी गर्न थालेका छन् ।

तर, महालेखा नियन्त्रण कार्यालयले कर्मचारी कहिले सरुवा गर्ने हो त्यो पनि एकिन छैन । अधिकांश कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सरकारी निकायका गत साउनदेखि असोज १५ गते सम्ममा सबै निकायको कर्मचारी सरुवा गरेको थियो । तर, महालेखा नियन्त्रण कार्यालय लेखा समूहका कर्मचारीहरु सरुवा गर्न सकेको छैन । त्यो सरुवा गर्न नसक्नु भनेको भाग बन्डा र लेनदेनमै कुरा नमिलेको एक कर्मचारीले नाम नबताउने शर्तमा तामाकोशी संवाददातासँग गुनासो पोखेका थिए । उता, लेखा समूहका कर्मचारी पनि राजनीतिक आस्थाको आधारमा महत्वपूर्ण ठाउँमा जानको लागिपर्ने गरेका छन् ।

महत्वपूर्ण ठाउँ भनेको सडक विभाग, राजश्व विभाग, ठूला करदाता, सिंचाईं विभाग, जलस्रोत विभाग, अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न राजश्व कार्यालयहरु, गृह मन्त्रालय र स्वास्थ्य सेवा विभागहरु पर्दछन् । त्योसँगै स्थानीय र प्रदेशस्तरीय मालदार लेखा अड्डामा जानको लागि पनि मरिहत्ते गर्ने गर्दछन् । त्यस्तै विभिन्न योजना, आयोजनाहरु पनि कर्मचारीहरुको आकर्षणमा पर्दछन् । यी ठाउँहरुमा जानको लागि खेला अधिकृतहरुबीच होडवाजी नै चल्ने गर्दछ । अस्ति र हिजो महालेखा नियन्त्रणको कार्यालयले कर्मचारी सरुवा गर्ने भनिए तापनि त्यो हल्लामै सीमित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *