भाग्यमानी सहसचिव राजेश्वर ज्ञवाली

राजनीति समाचार

काठमाडौं । निजामती क्षेत्रमा सबैभन्दा बढी लाभको पद र अवसर पाउने कर्मचारीमध्ये पर्दछन् सहसचिव राजेश्वर ज्ञवाली । जस्को उदाहरण छात्रवृत्तिलाई नै लिन सकिन्छ । पावर र पहुँच पुर्याउन नसक्ने कर्मचारीहरुले एउटै वैदेशिक छात्रवृत्तिको अवसर पाएका छैनन् तर शक्तिकेन्द्र रिसाउने खुबी भएका ज्ञवालीले अहिलेसम्म तीन पटक अवसर पाइसकेका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रहेका ज्ञवालीलाई तानेर अर्थ मन्त्रालयमा चार महिना जगेडामा राखिएको थियो ।

उनै ज्ञवालीलाई अर्थमन्त्री प्रकाशशरण महतले मालदार निकायको जिम्मेवारी दिएर पठाएका छन् । मन्त्री महतले प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यलाई दिएका छन् भने सहसचिव अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहल,पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक,महेश बरालले कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा पठाउँदा सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ । त्यहाँबाट शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयले भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरमा खटाइएको छ ।

ज्ञवाली यस अघि केही समय काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरे । ज्ञवालीले अहिलेसम्म तीनपटकसम्म छात्रवृत्ति पाइसकेका छन् । निजामतीमा उनीमात्र त्यस्ता अपवाद पात्र होलान । जो २०५८ सालमै छात्रवृत्ति पाए र इटालीबाट बौद्धिक सम्पत्ति कानुनमा एलएलएम गरेर फर्किए । सात बर्ष पछि फेरि अन्तर्राष्ट्रिय व्यापारमा दक्षिण कोरियाबाट स्नातकोत्तर गर्न गए । यस्का अलवा इरायलको अलुम्नी युनिभर्सिटीबाट चारमहिने कोर्स गर्ने अवसर पनि ज्ञवालीले नै पाए । यति धेरै वैदेशिक छात्रवृत्तिमा अध्ययनको अवसर पाएका ज्ञवाली जहाँ जहाँ बसे ती कार्यालयमा अनियमितताको एक पछाडि अर्का बान्कीहरु छरपष्ट भएका छन् ।

जस्तो जतिखेर उनी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए,त्यही समयमा बोलपत्रको मापदण्ड पूरा नगर्ने समानान्तर निर्माण कम्पनीलाई महानगरको साढे ७० करोडको भवन निर्माणको ठेक्का दिए । काठमाडौं महानगरपालिकाको टेकुस्थित साढे ७० करोड रुपैयाँ लागतको भवनको ठेक्काको ‘प्राविधिक मूल्यांकन प्रक्रियामा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको’ अभियोगमा यो प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली मुछिए । अख्तियारले समेत यो प्रकरणमा हात हाल्यो । तर अख्तियारले प्रमुख प्रशासकीय अधिकृत र मेयरलाई उन्मुक्ति दिएर पाँच कर्मचारीविरुद्ध मात्र मुद्दा चलायो ।

उनै ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत हुँदा काठमाडौं महानगरपालिकाले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एक तह वा स्तर बढुवा गर्यो । लोकसेवा आयोगको समेत स्वीकृत नलिइ एक हजार ८ सय कर्मचारीको एकैपटक बढुवा गर्दा बढुवा गरिएका कर्मचारीबाट प्रमुख प्रशासकीय अधिकृतले अतिरिक्त लाभ लिएको चर्चा महानगरकै कर्मचारीहरुले गर्ने गर्दछन् ।

केही समय सामान्यको जगेडामा तानिएका उनी गृहमा पुगे र झापाको प्रमुख जिल्ला अधिकारी हुने जोडबलमा लागे । सफल भएनन् । तत्कालीन मुख्य सचिव शंकरदास बैरागीका अत्यन्त प्याारा भएकै कारण उनी अर्थ हुँदै ठूला करदाता कार्यालयमा बसे । ज्ञवाली प्रशासन समुहका कर्मचारी हुन् । जानकारका अनुसार ज्ञवालीलाई करको क र राजश्वको र पनि आउँदैन । तर, जुनसुकै सरकार फेरबदल भए पनि मालदार ठाउँका जिम्मेवारी पाउन सफल कर्मचारीभित्र पर्दछन् । ज्ञवालीको सबैभन्दा ठूलो खुबी भनेको जुनसुकै पार्टी होस् वा व्यक्ति–सबैलाई रिझाएर आफ्ना लागि कुस्त लाभ लिन सक्नु हो ।

ज्ञवालीले खरिदार र सुब्बा तहका कर्मचारीलाई अगाडि सारेर लाभ लिँदै आएका छन् । उनी ठूला करदाता कार्यालयमा रहँदा कम्युटर अपरेटर ध्रव भण्डारीलाई आफैंले च्यापे । सरुवा भएका एक जना कम्युटर अपरेटरलाई रमाना नदिइ आफ्नै सचिवालयमा रोकेर आफ्नै सचिवालयमा राखेर उठ्ती पुठ्ती धन्दामा अग्रसर गराउँदै आएका थिए । हेर्न बाँकी छ तिनै कम्युटर अपरेटर महालेखा नियन्त्रक कार्यालयमा ल्याउछन वा अरु नै खरिदार÷सुब्बालाई प्रयोग गर्दछन् ।
(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *