एयरपोर्ट अध्यागमन कार्यालयमा कर्मचारीको भाडभैलो

राजनीति समाचार

काठमाडौं । कर्मचारी ब्युरोक्रेसीभित्र मालदार अड्डामा जानको लागि तँछाडमछाड हुने परम्परा पहिलेदेखि चल्दै आएको थियो । विगत लामो समयदेखि मालदार र सुविधासम्पन्न ठाउँमा जानको लागि शक्तिकेन्द्र धाउने र मोटो रकम खर्च गर्ने चलन चल्दै आएको छ । त्यस्तै अधिकांश कर्मचारीहरु गृहमन्त्रालय अन्तर्गत पर्ने अध्यागमन कार्यालय एयरपोर्ट पठाउनको लागि मापदण्ड नै बनाएर लागु गर्न खोजिएको थियो । जसमा अन्य मन्त्रालयबाट गृहमन्त्रालयमा सरुवा भएर आएको एक वर्ष नपुगी एयरपोर्टको अध्यागमन कार्यालयमा नपठाउने मापदण्ड बनाइएको थियो ।

त्यो मापदण्डलाई लत्याउँदै अन्यत्रबाट गृहमा सरुवा भएर आएका तर एक वर्षे मापदण्ड नपुगेका २९ जना कर्मचारीहरु एयरपोर्ट अध्यागमनमा जान खोजिरहेका छन् । मापदण्ड तोडेर एयरपोर्ट अध्यागमन कार्यालयमा जान खोजेपछि मन्त्रीको अडानका कारण उनीहरु जान सफल भएका छैनन् । अहिले गृहमन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र पिएहरुको हालीमुहाली चलिरहेको छ ।

गृहमा रजाइँ गर्नेमा गृहमन्त्रीका स्वकीय सचिव विजय गौतम, सचिवालयका रमेश मल्ल, शैलेन्द्रवीर सिंह धामी रहेका छन् । त्यस्तै माओवादी राष्ट्रिय कर्मचारी संगठनका पूर्वअध्यक्षल रावलको पनि हालीमुहाली गृहमा चल्ने गरेको छ । कर्मचारीहरुले गृहबाट अध्यागमन कार्यालय एयरपोर्ट पुगेपछि मानवतस्करीदेखि विभिन्न अवैध धन्दामा सञ्चालन गर्नेहरुसँग मिलेमतो गरी अकुत पैसा कमाउने गरेका छन्।

उदाहरणका लागि गत मंसिर २२ गते अध्यागमन कार्यालय एयरपोर्टका नासु सरोज निरौलाको विवाह भोजलाई लिन सकिन्छ । निरौलाको विवाह भोजमा सरिक हुन मानवतस्करीका विचौलियादेखि अध्यागन कार्यालयका कर्मचारीहरुको ठूलो भीड जम्मा भएको थियो । सो भीडमा अध्यागमन एयरपोर्टका शाखा अधिकृत शैलेन्द्र ढकाल, विकास रिजाल, दिवस डंगोल, राष्ट्रिय कर्मचारी संगठनका पूर्वअध्यक्ष हरि रावल, हालका अध्यक्ष अम्मरदत्त भट्ट, महासचिव डिलाराम खरेल, उपाध्यक्ष रमेशप्रसाद यादव र गृहमन्त्रालयका शाखा अधिकृत गणेश तामाङसमेत रहेका थिए । अवैध फाइदाको लागि कर्मचारीहरु कतिसम्म गिर्छन् भन्ने यो त एउटा उदाहरण मात्रै हो ।

उता, अन्तर्राष्ट्रिय विमानस्थलभित्र कार्यरत कर्मचारी, एयरपोर्ट भन्सार कार्यालयका कर्मचारी, अध्यागमन विभागका कर्मचारी र राजश्व अनुसन्धान विभागका कर्मचारीलाई पनि निरौलाको भोजमा निम्त्याइएको बताइन्छ । निरौलाको विवाह भोजमा कर्मचारी मात्रै नभएर वैदेशिक रोजगार विभाग अन्तर्गत पर्ने ताहचल शाखाका कर्मचारीहरु र मेनपावर कम्पनीका मालिकहरुको समेत उपस्थित रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *