वैदेशिक रोजगार बोर्डमा मन्त्री भण्डारी र कार्यकारी निर्देशक उप्रेतीको गिद्देनजर

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । गठबन्धन सरकारका श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीले मन्त्रालय सम्हालेको पनि वर्षदिन पुग्नै लागेको छ । मन्त्री भण्डारीले श्रममन्त्रालय सम्हाले तापनि नेपालबाट दिनप्रतिदिन युवायुवती विदेसिने क्रम जारी नै छ । मन्त्री भण्डारीले विदेश जाने युवाशक्तिलाई रोकेर नेपालमै रोजगारी सिर्जना गर्न सकेका छैनन् । भण्डारीले पटक–पटक मन्त्री भएको अनुभवले पनि राम्रो काम गर्न सक्नुपर्ने हो ।

तर, मन्त्री भण्डारीले वेरोजार युवायुवतीलाई स्वदेशमै रोजगारी उपलब्ध गराउनुको सट्टा उल्टै वैदेशिक रोजगार बोर्डमा श्रमिकले जम्मा गरेको पैसा खर्च गरेर विभिन्न मुलुक घुम्ने काम गरिरहेका छन् । उनी विदेश मात्रै घुमेका छैनन्, वैदेशिक रोजगार कल्याणकारी कोषको पैसामा सफ्वेयर खरिददेखि विभिन्न सामग्री खरिद गर्ने नाममा कमिसन खान व्यस्त रहेका छन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीको हालीमुहाली छुट्टै छ ।

उप्रेती पनि बोर्डको पैसामा विभिन्न देश भ्रमण गरिसकेका छन् । विदेशमा रहेका नेपाली श्रमिकहरु अङ्गभङ्ग भमाए, अलपत्र परेमा अथवा मृत्यु भएमा क्षतिपूर्ति दिने, उद्दार गर्ने र नेपाल आइसकेपछि उनका परिवारलाई सहयोग गर्ने भनेर वैदेशिक रोजगार बोर्ड गठन गरिएको ऐनमा उल्लेख गरिएको छ । तर, सो बोर्डले यस्ता काम भन्दा पनि अवैध धन्दा सञ्चालन गरी पार्टीका कार्यकर्ता, आसेपासे र आफन्तलाई जागिर खुवाउने थलो बनाएको छ । वैदेशिक रोजगार बोर्डको कार्यालयमा बगैँचा छैन ।

तर, बगैंचा रेखदेख गर्ने नाममा फूलमाया तामाङलाई कार्यकारी निर्देशक उप्रेतीले जागिर दिएका छन् । त्यसैगरी बोर्डको कार्यालयमा पुस्तकालय पनि छैन । तर, पुस्तकालय रेखदेख गर्ने भनेर सन्तोष बुर्लाकोटी र श्यामलाल श्रेष्ठलाई जागिर खुवाएका छन् । सरकारी कार्यालयमा नियम अनुसार १८ वर्ष उमेर पुरा नभएकालाई जागिर खुवाउन पाइँदैन । तर, बोर्डका कार्यकारी निर्देशक उप्रेतीले सरकारी नियमको धज्जी उडाउँदै नेकपा समाजवादीका अध्यक्ष माधव नेपालको आदेश भन्दै रौतहटका एकजना बच्चुलाल चौधरीलाई बाल कर्मचारी भर्ना गरेको आरोप छ ।

त्यतिमात्रै होइन, सवारी इन्धनको दूरुपयोग व्यापक गरेको भनेर कार्यकारी निर्देशक उप्रतीविरुद्ध अख्तियारमा उजुरीसमेत परेको छ । उप्रेतीविरुद्ध परेको उजुरी अख्तियारमा दर्ता नम्बर ८०÷८१ ऋ ह् ०२१६९० रहेको छ । उता, वैदेशिक रोजगार बोर्डको सूचना पाटीमा बजेट अभावका कारण “विज्ञापन, चन्दा, आर्थिक सहयोग नमाग्न अनुरोध गरिन्छ” भनेर लेखिएको छ । तर, एकीकृत समाजवादीका विभिन्न भातृ संगठनका कार्यकर्ताहरुलाई लाखौं आर्थिक सहयोग तथा विभिन्न शीर्षकमा चन्दा उपलब्ध गराउँदै आएका छन् ।

त्यहीं विषयलाई लिएर कार्यकारी निर्देशक उप्रेतीविरुद्ध अख्तियारमा उजुरी परेको छ । अख्तियारमा परेको उजुरी झिसमिस पार्नको लागि बोर्डकी तत्कालीन कर्मचारी रमा भट्टराईकी श्रीमान कोषहरि निरौला अख्तियारमा रहेको कारणले पनि उप्रतीविरुद्ध परेको उजुरी झिसमिस बनाउने काम भइरहेको छ । तर, रमा भट्टराई भने बोर्डबाट अनेत्र सरुवा भइसकेकी छिन् । कार्यकारी निर्देशक द्वारिका उप्रेती र मन्त्री शरदसिंह भण्डारीबीचको मिलेमतोमा बोर्डलाई दुहुनो गाई बनाइँदै छ ।

उता, भिजिट भिसामा विदेश पठाउने गिरोहहरुलाई गत मंसिर २८ गते अध्यागमन कार्यालय एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको छ । ती गिरोहहरुले युद्धग्रस्त युक्रेन, रुसदेखि खाडीका विभिन्न मुलुकमा नेपाली युवायुवतीहरुलाई भिजिट भिसामा पठाउने गरेका थिए । तर, मानवतस्करी गर्ने वास्तविक गिरोह पक्राउ नगरेर तिनका सहयोगी भूमिका खेल्नेहरुलाई मात्रै पक्राउ गरिएको स्रोतको दावी छ । मानव तस्करलाई सहयोग गर्ने कर्मचारीहरुमा सरोज निरौला, शैलेन्द्र ढकाल, दिवश डंगोल, विकास रिजाल, रमेशप्रसाद यादव र गणेश तामाङ रहेका छन् ।

भिजिट भिसामा विदेश पठाउनलाई मानव तस्करहरुलाई सहयोग गर्ने कर्मचारीलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । उता श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी भने मानव तस्करहरुले दिएको कमिसनको लोभमा रमिते बनेर बसिरहेका छन् । कतिपय नेपाली कामदारहरु मलेसिया, कतार, दुबई, साउदी, बहराइन, साइप्रसा, कुवेत जस्ता देशहरुमा अलपत्र परिरहँदा पनि मन्त्री भण्डारी मुकदर्शक बनेर बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *